काठमाडौं । जेठ १९ गतेदेखि बिजुली निर्यात थालेको नेपाल विद्युत प्राधिकरणले फेरि भारतबाट महँगो दरमा बिजुली आयात गरेको छ । विद्युत प्राधिकरणले बुधबारका लागि प्रतियुनिट १९.२० रुपैयाँ (१२ भारु) सम्म तिरेर भारतबाट बिजुली आयात गरेको हो ।
यो मूल्य साँझको केही घण्टाको मात्र हो। प्राधिकरणले बुधबारका लागि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत २३९ मेगावाटसम्म बिजुली आयात गरेको जनाएको छ। प्राधिकरणका अनुसार अहिले बिजुलीको माग १ हजार ५८२ मेगावाट छ।
यो मूल्य एक दिनअघि मंगलबार नै भारतीय बजारमा आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धाबाट तय भएको मूल्य हो। भारतीय बजारमा एक दिनअघि बिजुलीको भाउ तय हुन्छ।
प्राधिकरणले इनर्जी एक्सचेन्जबाट अधिकतम १९.२० रुपैयाँ अर्थात १२ भारुसम्ममा बिजुली खरिद गरेको जनाएको छ। न्यूनतम मूल्य प्रतियुनिट ४.०७ रुपैयाँ (२.५४ भारु) तय भएको छ। न्यूनतम र अधिकतमलाई आधार मान्दा औसतमा प्रतियुनिट ५.४५ भारु अर्थात ८.७२ रुपैयाँमा भारतीय बजारबाट बिजुली खरिद गरेको प्राधिकरणले जनाएको छ।
यद्यपी बिजुलीको भाउ आकासिएपछि भारतीय नियामक निकाय केन्द्रीय विद्युत प्राधिकरणले गत वर्ष नै बिजुलीको मूल्य अधिकतम् १२ भारु तोकेको छ । गत वर्ष रुस युक्रेन युद्धले कोइला आपूर्ति ठप्प भएपछि भारतमै बिजुलीको मूल्य बढेर प्रतियुनिट २० भारु पुगेको थियो । त्यसबेला विद्युत प्राधिकरणले प्रतियुनिट ३८ रुपैयाँसम्म तिरेर भारतबाट आयात गरेको थियो ।
विद्युत उत्पादन कम भएपछि प्राधिकरणले पुस ३ गतेदेखि भारतमा निर्यात बन्द गरेर आयात सुरु गरेको हो । आइएक्समा विद्युत खरिदबिक्रीका लागि २४ घण्टालाई १५१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।
प्राधिकरणले भारतमा निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ८ रुपैयाँ २२ पैसा रहेको छ ।
चिसो बढ्दा काठमाडौं उपत्यकालगायतको विद्युत माग बढेको तर खोलानालामा पानीको बहाब घट्दा नदी प्रवाहमा आधारित (रन अफ दि रिभर) जलविद्युत केन्द्रहरुबाट उत्पादन कम भएसँगै विद्युत निर्यात बन्द भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
देशभित्रको उत्पादन घट्दा हिउँदयामको ४ महिनाको माग धान्न भारतबाट विद्युत आयात गर्नुपर्ने वाध्यात्मक अवस्था रहेको उनले बताएका छन । घिसिङले वैशाख अन्तिम वा जेठको पहिलो हप्ताबाट फेरि विद्यत निर्यात सुरु हुने जानकारी दिए ।
विगतका वर्षहरुमा विद्युत निर्यात परिमाण आयात भन्दा कम हुने गरेकोमा यस वर्षबाट निर्यात बढी र आयात कम हुने उनले जानकारी दिए ।
पुस ३ सम्म ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारतमा निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत प्राधिकरणले भारतमा निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ ।
प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत जेठ १९ गतेबाट आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । यस अवधिमा विद्युत बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ ।
सुरुमा दुईवटा जलविद्युत केन्द्रहरुबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री सुरु गरिएको थियो । त्यसपछि जेठ २७ बाट ६ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो ।
प्राधिकरणले गत १८ र ३० कात्तिकबाट थप दुई जलविद्युत केन्द्रबाट उत्पादित विद्युत निर्यात गर्न स्वीकृति पाएको थियो । योसँगै ८ जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता ४०८ मेगावाट रहेको छ ।