काठमाडौं। यात्रुको सामानको तौल बढी देखाउन थालेपछि गुणस्तर तथा नापतौल विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तौल जोख्ने मेसिन अनुगमन गरेको छ। विभागले अन्तर्राष्ट्रिय टर्मिनलमा रहेका ३२ थान मेसिन जाँच गरेको हो।
यात्रुले बाहिरबाट जोखेर लगेको तौलभन्दा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा रहेका मेसिनमा जोख्दा १ देखि डेढ किलोसम्म बढी देखाएपछि विभागले अनुगमन गरेको हो। अनुगमन क्रममा सामान्य फरक देखिएको हो।
‘कतिपय मेसिनको तौलमा केही फरक परेको पाइयो,’ विभागका महानिर्देशक दिनानाथ मिश्रले भने 'वैदेशिक रोजगारीमा जाने यात्रुका सामानको तौल बढी देखिँदा समस्या परेपछि विभागले अनुगमन गरेको थियो। '
त्रिभुवन विमानस्थल प्रमुख प्रेमनाथ ठाकुर आफैंले पनि विमानस्थलमा भएका मेसिन जाँच गर्नुका साथै विभागलाई पनि बोलाएर थप परीक्षण गराएका थिए।
‘हामी यात्रुलाई सहज र सरल सेवा दिने उद्देश्यले यहाँ बसेका हौं,’ ठाकुरले भने, ‘बढी तौल देखाएर यात्रुसँग रकम लिन खोजियो भने विमानस्थल मौन बस्दैन।’
उनका अनुसार विमानस्थलमा भएका तौल मेसिन एकदमै संवेदनशील भएकाले मेसिनलाई सामान बाहेक अन्य कुराले छुने बित्तिकै तौल बढी देखाउने गर्छ। यात्रुले त्यस विषयमा ध्यान दिनुपर्छ।
‘विश्वस्तरीय तौल मेसिन भएको र बाहिरी वस्तुले हल्का छुँदा पनि तौल अस्वाभाविकरूपमा बढेको देखाउँछ,’ उनले भने, ‘यात्रुले सामान तौलने मेसिनसम्मै ट्रली लिएर जान्छन्, त्यसले मेसिन वरिपरि कतै छोएको रहेछ भने पनि तौल बढिहाल्छ।’ ट्रली लैजाँदा वा आफूहरू मेसिनबाट अलि परै बस्नुपर्ने विमानस्थलले जनाएको छ।
नापतौल विभागका महानिर्देशक मिश्रले ३२ वटै मेसिनको जाँच गरेको बताए। ‘अन्तर्राष्ट्रियतर्फ रहेका हरेक मेसिनको परीक्षण मंगलबार गरेका छौ,’ उनले भने, ‘सामान्य गडबडी देखिएकाले उनीहरूलाई सचेत गराएका छौं।’
अहिले अन्तर्राष्ट्रियतर्फका मेसिन परीक्षण गरेको र केही दिनमै आन्तरिकतर्फ राखिएका तौल मेसिन पनि परीक्षण गर्ने मिश्रले बताए।
विमानस्थलले पनि हरेक दिन बिहानै मेसिन निरीक्षण र रिपोर्ट लिने भएको छ। वैदेशिक रोजागारीमा हिँडेका यात्रुले विमानस्थलमा जोख्दा आफ्नो सामान दुईथरी तौल निस्किएको भन्दै गुनासो गरेका थिए।