काठमाडौं । नेपालमा टेलिफोन सेवा पहुँच कुल जनसंख्या भन्दा ४१ प्रतिशत बढी रहेको छ । जीएसएम, सीडीएमए मोवाइल र फिक्सलाइन गरी टेलिफोन सेवा संख्या ४ करोड १७ लाख १ हजार ४२० पुगेको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ । यो संख्या नेपालको समग्र जनसंख्याभन्दा ४०.८८ प्रतिशतले बढि हो ।
दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत साउन महिनाको एमआईएस प्रतिवेदनले सबैभन्दा बढी टेलिफोन सेवा प्रयोगकर्ता नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को छन । दोस्रोमा विदेशी लगानीमा सञ्चालित निजी दूरसञ्चार सेवा प्रदायक एनसेल प्राइभेट लिमिटेडको छ । तेस्रोमा स्मार्ट टेलिकमको छ ।
नेपाल टेलिकमको प्रयोगकर्ता २ करोड २९ लाख ४० हजार ५९३ रहेको प्राधिकरणले जनाएको छ । एनसेलको प्रयोगकर्ता १ करोड ६६ लाख ९० हजार ९८८ छ । स्मार्ट टेलिकमको २० लाख ६८ हजार ९७ र अन्यको १ हजार ७४२ रहेको प्राधिकरणले जनाएको छ ।
तर भारतीय लगानीको युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) र नेपाल स्याटेलाइट टेलिकम कम्पनीका प्रयोगकर्ता भने शून्य रहेको प्रतिवेदनले देखाएको छ । महशुल वक्यौता नतिरेपछि प्राधिकरणले नेपाल स्याटेलाइटको लाइसेन्स खारेज गरेको छ ।
नेपाल स्याटेलाइटको टेलिफोन सेवा अहिले बन्द छ । उसले लाइसेन्स ब्युँत्याउन सूचना प्रविधि तथा सञ्चार मन्त्रालयमा निवेदन दिएको छ । सर्वोच्च अदालतले समेत उसको लाइसेन्स खारेज गर्न फैसला गरेको छ ।
यस्तै यूटिलले जीएसएम मोवाइ सेवाका लागि युनिफाइड लाइसेन्स पाएपनि ल्याउन सकेको छैन । महशुल नतिरेर उसको लाइसेन्स पनि खारेजीको प्रक्रियामा छ । सर्वोच्चल अन्तरिम आदेश जारी गरेकाले दुरसञ्चार प्राधिकरणले उसको लाइसेन्स भने खारेज गरेको छैन ।
मोबाइल सेवा प्रयोगकर्ता अधिक रहेका छन् । मोबाइल टेलिफोन सेवा प्रयोगकर्तातर्फ ४ करोड ९ लाख ३ हजार १२६ छन । यस्तै फिक्स्ड लाइन तर्फ ७ लाख ९६ हजार ५५२ छन् ।
असार महिनामा समग्र टेलिफोन सेवा प्रयोगकर्ताको संख्या ४ करोड १३ लाख ९५ हजार ७१४ थियो । साउन महिनामा तीनै ओटा कम्पनीका प्रयोगकर्ता संख्यामा वृद्धि भएको छ ।
नेपाल टेलिकमको प्रयोगकर्ता संख्या १ महिनामा २ लाख ४४ हजार ३४५ ले वृद्धि भएको छ । एनसेलतर्फ ५३ हजार ९५० र स्मार्टका ७ हजार ४११ बढेको प्राधिकरणले जनाएको छ ।