काठमाडौं। गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा व्यवसायी भवन भट्टले ‘धुलिखेल माउन्टेन रिसोर्ट’ बिक्री गर्ने भएका छन्।२०७१ सालमा ४० करोड रुपैयाँमा धुलिखेल माउन्टेन रिसोर्ट खरिद गरेका भट्टले अहिले ७० करोड रुपैयाँमा बिक्री गर्न लागेका हुन्।
पछिल्लो समय ‘आर्थिक संकट’ मा पर्दै गएका भट्टले काभ्रे धुलिखेल खावास्थित उक्त रिसोर्ट बिक्री गर्न लागेका हुन्। आठ वर्षअघि खरिद गरेको रिसोर्टमा सोचअनुसार व्यवस्थापन नभएको र निरन्तर घाटामा गएपछि भट्टले बिक्रीका लागि खुला गरेका हुन्।
भट्टले यसअघि पनि रिसोर्ट बेच्न खाेजेका थिए। बीचमा कोभिड संक्रमण सुरु भएपछि प्रक्रिया रोकिएको थियो। अहिले फेरि रिसोर्ट बिक्री गर्ने भट्टको तयारी थाहा पाएका केही व्यावसायिक समूहले खरिद गर्न भट्टसँग छलफल अगाडि बढाएका छन्।
अटो, उद्योग र होटल तथा रिसोर्टलगायत क्षेत्रमा लगानी विस्तार गर्दै आएका तीन व्यावसायिक समूहले भट्टको रिसोर्ट खरिदका लागि ‘डिल’ गरिरहेका छन्। तत्काल बैंकहरूले लगानी विस्तार नगरेका कारण खरिदमा समस्या भइरहेको छ।
‘हामी धुलिखेल माउन्टेन रिसोर्ट खरिद गर्न तयारीमा छौं। यसका लागि भट्टजीसँग एक चरण कुराकानी भइसकेको छ,’ तीमध्ये एक व्यावसायिक समूहका प्रतिनिधिले क्यापिटल नेपालसँग भने, ‘मूल्यमा अलिकति कुरा मिल्न बाँकी छ। मिल्नासाथ हामी खरिद गर्छौं।’
४१ वर्षअघि स्थापना भएकाे धुलिखेल माउन्टेन रिसोर्टले २ सय २० रोपनी क्षेत्रफल ओगटेको छ। रिसोर्टमा ४२ कोठा र तीन सुविधायुक्त हल छन्। ठूलो क्षेत्रफलमा फैलिएको र मनमोहक दृश्य देखिने भएकाले पनि धेरैको आँखा रिसोर्टमा परेको छ। तर, व्यावसायिक समूहले भने रिसोर्टको मूल्य धेरै महँगो भएको भन्दै भट्टसँग ‘बार्गेनिङ’ गरिरहेका छन्।
जापानमा रिसोर्टसहित विभिन्न मुलुकमा व्यवसाय गर्दै आएका भट्टको बेल्जियममा तीनवटा तारेस्तरका होटल सञ्चालनमा थिए। भट्टले बेल्जियममा साझेदारीमा हाेटल सञ्चालन गरे पनि पछि साझेदारसँग व्यवस्थापन समस्या उत्पन्र भएकाे थियाे। ती हाेटल खरिद-बिक्रीमा भट्टले आर्थिक अनुशासन कायम नगरेकाले साझेदारसँग फाटो आएको थियो। ती होटल अहिले भट्टको स्वामित्वमा छैनन्।
नेपालमा भने उनले टिबिआई ग्रुपमार्फत व्यवसाय विस्तार गरेका छन्। सुरुमा आक्रमक हिसाबमा लगानी विस्तार गरेका भट्टको कारोबार आर्थिक दैनिक, बिबी एयरवेज, बिबी ट्रस्ट, बिबी होल्डिङ्स, युनाइटेड ब्रुअरीलगायत कम्पनी छन्।
तीमध्ये युनाइटेड ब्रुअरी बिक्री गरिसकेका छन् भने बिबी एयरवेज लामो समयदेखि बन्द छ। बिबी होल्डिङ्सकै स्वामित्वमा दोलखामा तामाकोसी–३ आयोजनाको लाइसेन्ससमेत भट्टसँग छ। अहिलेसम्म उक्त आयोजना निर्माण हुने वा नहुने टुंगो लागिसकेको छैन।