काठमाडौं। आइडिया स्टुडियो नेपालले ‘सोचदेखि उद्योगसम्म’को नारासहित 'सिजन ६’ को प्रसारण सुरू गरेको छ। शो ‘स्पेस ४ के’ टेलिभिजनबाट पुस ७ गतेदेखि हरेक बिहीबार र शुक्रबार राति ८.३० देखि ९ बजेसम्म प्रसारण हुनेछ।
आइडिया स्टुडियो नेपालले पाँचौं सिजनको प्रसारण सकेर छैटौं सिजनको प्रसारण सुरू गर्दै गर्दा स्टुडियोले सयौं आइडियालाई व्यावसायिक बाटो देखाइसकेको छ भने ६५ भन्दा धेरै आइडिया बोकेर आउने व्यवसायीलाई व्यावसायिक रूपमा समाजमा उतारिसकेको छ।
यो वर्ष पनि ४० जना प्रतिस्पर्धीलाई स्टुडियोले स्क्रिनिङ र लाइभ अडिसनको माध्यमबाट छनौट गरी चारवटा विधामा विभाजन गरिने स्टुडियोले जानकारी दिएको छ। जसमा ग्रिनोभेसन, मेड इन नेपाल, हाई फ्लाइङ र सोसियल इम्प्याक्ट नामक विधाहरू हुन्छन्।
सहभागीले यी विधासँग सम्बन्धित व्यावसायिक योजना निर्णायकसामु सुनाउँछन्। जसका लागि यसअघि नै सहभागी प्रतिस्पर्धीलाई आइडिया स्टुडियोले व्यावसायिक तालिम दिइसकेको छ।
यसरी तालिमपछि कार्यक्रममार्फत प्रतिस्पर्धामा उतार्दै हरेक विधाबाट विजेता छनौट गरिन्छ र उत्कृष्ट बनाउन सरसल्लाह, व्यावसायिक सञ्जाल, इन्क्युबेसन कार्यक्रम, मेन्टरसिप, रियालिटी टिभी शाेका साथ साथै वित्तीय पहुँचका लागि सहजीकरण गराउन मद्दत पुर्याउँदै आएको छ।
कार्यक्रमको निर्णायक मण्डलमा डब्लूडब्लूएफका नेपाल प्रतिनिधि डा. घनश्याम गुरूङ, आइडिया स्टुडियोका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा, गायिका तथा समाजसेवी, आनी छोइङ डोल्मा फाउन्डेसनका कार्यकारी अध्यक्ष/संस्थापक आनी छोइङ डोल्मा, सीएनआइवइइएफकी अध्यक्ष, के-कन्सेस्टकी कार्यकारी निर्देशक प्राची अग्रवाल, सजिलो सेवाका सह-संस्थापक/वित्त प्रमुख, सुजित रेग्मी, क्यापिटल नेपालका प्रबन्ध सम्पादक प्रकटकुमार शिशिर छन्।
यस्तै काजी स्टुडियो सिइओ कृति शाक्य, ठमेल डटकमका संस्थापक बाल के जोशी, महिला क्यानका संस्थापक अध्यक्ष सुषमा शर्मा, शिक्षा तथा आतिथ्य व्यावसायिका डा. राजेन्द्र केसी, कर्पोरेट ट्रेनर मानसी अग्रवाल, ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसनका सिइओ खेम लकाई, मेगा बैंककी एमएसएमई इन्चार्ज रुक्मणी महर्जन, आध्यान्ता फन्ड म्यानेजमेन्ट लिमिटेडका सहसंस्थापक मनोज पौडेल, किम्बु टेककी सिइओ, कार्भिका थापा निर्णायक मण्डलमा रहेको कम्पनीले जनाएको छ।
आइडियाले सन् २०१४ देखि सामाजिक सचेत व्यवसाय, उद्यमी र स्टार्टअपहरूका लागि प्रोत्साहन, स्रोतसाधन, ठाउँ, एक्सपोजर, सिकाइ, नेटवर्किङ र लगानीका अवसरहरू उपलब्ध गराउने काम गर्दै आएको छ।