काठमाडौं। वातावरण विभागको कडाइपछि प्रदूषण जाँच गर्ने सवारीसाधनको भीड लाग्न सुरु भएको छ। यातायात व्यवस्था कार्यालय सानाठूला (बागमती), एकान्तकुनामा रहेको प्रदूषण मापन केन्द्रमा अहिले दैनिक १ सयभन्दा बढी साना तथा ठूला सवारीसाधनको भीड लाग्ने गरेको छ।
वातावरण विभागले पुस १ बाट सवारीसाधनको प्रदुषण परीक्षण नगर्नेलाई १ लाख रुपैयाँ जरिवाना गराउने अभियान सुरु गरेको छ। विभागको कडाइपछि सार्वजनिक र निजी सवारीसाधनका प्रदुषण परीक्षण मापन गरी निलो स्टिकर लिनेको चाप बढेको यातायात व्यवस्था कार्यालय प्रमुख मदन पोखरेलले बताए।
‘दैनिक सयौं गाडीको भीड लाग्ने गरेकाले समयमै काम हुन सकेको छैन,’ पोखरेलले क्यापिटल नेपालसँग भने, ‘सवारी दर्तादेखि अन्य काम एउटै निकायमा गर्नुपर्दा ढिलाइ भएको छ।’
प्रदुषण मापन वातावरण विभागले गर्नुपर्ने हो। तर, विभागले यसअघि नगरेका कारण त्यसको जिम्मा पनि लामो समयदेखि यातायात कार्यालयले नै दिइएको छ।
नियमानुसार सार्वजनिक गाडीले हरेक ६ महिना र निजीले दुई वर्षमा प्रदुषण परीक्षण गर्नुपर्छ। प्रदुषण परीक्षण गरेर यातायात कार्यालयले हरियो स्टिकर दिन्छ।
विभागको निर्देशनपछि सवारी परीक्षण गर्न घन्टौं लाग्ने हुँदा समस्या भएको सवारी चालक रमेश अधिकारी गुनासो गर्छन्। काठमाडौंभित्र एक ठाउँमा मात्र परीक्षण हुने भएकाले पालो पाउनै मुस्किल हुने गरेको उनको भनाइ छ।
सरकारले नियम ल्याए पनि सेवाग्राहीको सुविधामा कुनै ध्यान नदिएको ट्याक्सी चालक मुकुन्द कार्की बताउँछन्। ‘आफ्नो सवारीबाट प्रदुषण नहोस् भन्ने चाहना सबैको हुन्छ,’ कार्कीले भने, ‘तर, परीक्षणका लागि सहज वातावरण त सरकारले निर्माण गर्नुपर्छ नि! परीक्षणका क्रममा प्रदुषण नियन्त्रण बाहिर देखिए पुनःसर्भिसिङ गराएर ल्याउनुपर्छ।’
वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले प्रदुषण मापन कडाई गरी कार्यान्वयनमा लागेको बताए। हरियो स्टिकर लिँदा पनि वातावरण विभागले परीक्षण गर्दा गल्ती भेटिएकाले अहिले अभियानकै रूपमा कडाइ गरिएको उनले बताए।
यातायात कार्यालयले नियमित गर्नुपर्ने काममा कडाइ गरेको नपाइएका कारण अहिले वातावरण विभागले विशेष अनुगमन गरेर अगाडि बढ्नुपर्ने बाध्यता भएको उनको भनाइ छ। अहिले पनि यातायातबाट प्रदुषण पास भएका सवारीमा समस्या देखिएको र तत्कालै कारबाही गरेर मर्मत गर्न लगाएको जानकारी दिए।
विभागले परीक्षणका लागि विशेष टोली गठन गरेर नियमित र छड्के जाँच सुरु गरिरहेको छ। वातावरण विभागले पछिल्लो समय गरिएको छड्के जाँचमा काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका सवारीसाधनका धुवाँ निष्कासनको अवस्था अत्यन्त दयनीय पाइएको जनाएको छ।
हाल सवारीसाधनमा धुँवा परिक्षण गर्दा तोकिएका मापदण्डभन्दा बढी प्रदूषण गरिरहेकालाई एकपटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिइएकोमा पुस १ पछि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने सवारीलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम १ लाख रुपैयाँसम्म जरिवाना हुने र सवारी मर्मत गरी तोकिएको मापदण्ड सीमासम्म मात्र प्रदुषण गर्ने बनाइ जाँच पास गराएरमात्र सार्वजनिक स्थानमा सञ्चालनमा ल्याउन पाउने प्रावधान ल्याएको छ। यातायात व्यवस्था विभागमा थिए महानिर्देशक घिमिरे
२०७९ असार १९ बाट यातायात व्यवस्था विभागबाट वातावरण विभागको महानिर्देशकको जिम्मेवारी पाएका नमराज घिमिरेले सवारीसाधनमा प्रदुषण मापनसम्बन्धमा असन्तुष्टि जनाउँदै आएका छन्। सवारीसाधनले हरियो स्टिकर लिएपछि हुन्छ भन्ने मान्यता चिर्न उनले पुस १ बाट कडाइ गर्न छड्के जाँच नै सुरु गरेका छन्। अहिले उनी आफैं पनि ‘फिल्ड’ मा उत्रिएका छन्।
घिमिरेले दैनिक काठमाडौं उपत्यकाभित्र विभिन्न ठाउँमा जाँच गरेर कारबाही गर्दै आएका छन्। ‘हाम्रो अभियान कारबाही गरेर जरिवाना तिराउनेभन्दा पनि प्रदूषणमुक्त सवारीसाधन होस् भन्ने कल्पना गरेर अगाडि बढेका हौं,’ महानिर्देशक घिमिरेले भने।