काठमाडौं।नेपाल राष्ट्र बैंकले कोभिडकालमा दिएको पुनर्कर्जा नवीकरण नगर्ने भएपछि बैंकहरूले आफ्ना ऋणीलाई दिएको सुविधा खोस्न सुरु गरेका छन्।
नेपाल राष्ट्र बैंकले पुनर्कर्जा लिएका बैंकहरूलाई पुस मसान्तपछि फिर्ता गर्न निर्देशन दिएलगत्तै उनीहरुले आफ्ना ऋणीलाई ब्याज बढाएर समान्यतर्फ लगिरहेका छन्।
‘केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको ६० अर्ब रुपैयाँहाराहारी पुनर्कर्जावापत रकम फिर्ता पठाउन भनेको छ,’ एक बैंकरले भने, ‘अहिलेसम्म नवीकरणको कुनै छनक नदेखाएपछि ऋणीलाई बैंकको नर्मल ब्याजमा कन्भर्ट गर्न थालेका छौं।’
बैंकहरूले केन्द्रीय बैंकबाट पुनर्कर्जा सुविधा लिएर आफ्ना ऋणीलाई दिएका थिए। अब उनीहरूले उक्त रकम एकमुष्ट केन्द्रीय बैंकमा फिर्ता दिनुपर्छ। त्यही भएर बैंकहरूले पुनर्कर्जा दिएका ऋणीको ब्याज बढाएर साधारणतिर लगिरहेका छन्।
निजी क्षेत्रले बारम्बार अहिलै नै केन्द्रीय बैंकले पुनर्कर्जा सुविधा खोस्न नहुने बताएको थियो। आर्थिक गतिविधि शून्यमा झरेका बेला केन्द्रीय बैंकले बैंकहरूलाई उपलब्ध गराएको पुनर्कर्जा सुविधा केही समय निरन्तर गर्न आग्रह गरेका थिए। तर, केन्द्रीय बैंकले त्यसलाई निरन्तर नगर्ने छनक ल्याएको हो।
राष्ट्र बैंकले कोभिडबाट थलिएका व्यावसायिक क्षेत्रलाई माथि उकास्न पुनर्कर्जा सुविधा दिएको थियो। अहिले कोभिड असर सकिएको र व्यवसाय पनि सामान्य अवस्थामा फर्किसकेकाले पुनर्कर्जा नवीकरण नगर्ने भएको केन्द्रीय बैंकका अधिकारीहरूले बताएका छन्।
बैंकहरूलाई पनि पुनर्कर्जाबारे के गर्न सकिन्छ भनेर सल्लाह मागिएको छ। नियमानुसार नै बैंकहरुले केही समयका लागि पुनर्कर्जावापतको रकम केन्द्रीय बैंकलाई भुक्तानी गर्नुपर्छ। त्यसपछि केन्द्रीय बैंकले फेरि बैंकहरूलाई पुनर्कर्जा उपलब्ध गराउन सक्छ। तर, अहिलेसम्म केन्द्रीय बैंकले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छैन।
केन्द्रीय बैंकले बैंकहरूलाई पुसपछि पुनर्कर्जा नवीकरण नहुने प्रष्ट भनिसकेको छ। त्यही भएर बैंकबाट पुनर्कर्जा लिएका ऋणीलाई ब्याज बढेर सामान्यसरह हुने भनिएको छ भने कतिपय ऋणीको ब्याज बढिसकेको छ।
बैंकरका अनुसार अहिलेसम्म केन्द्रीय बैंकबाट थप निर्देशन नआएकाले पुनर्कर्जा फिर्ता गर्नुपर्छ। त्यसो हुँदा तरलता व्यवस्थापन र कर्जा निक्षेप अनुपातमा ठूलो असर पर्छ।
अहिले सहुलियत दरमा पुनर्कर्जा उपभोग गरिरहेका ऋणीहरू बढी ब्याजदर तिर्नुपर्दा समस्यामा पर्छन्। राष्ट्र बैंकले पुनर्कर्जा सुविधा नदिने बित्तिकै बैंकहरूले पुनर्कर्जावापत रकम क्षेत्रअनुसार साधारण ऋणमा परिणत गर्छन्। त्यो ऋणमा हालको प्रचलित ब्याजदर (आधारदरमा प्रिमियमदर जोडेर) लागू हुन्छ।
अहिले बैंकहरूका आधारदर त्यसै पनि उच्च छ। त्यसमाथि प्रिमियम दर पनि उच्च बिन्दुमा लिने गरेका छन्। त्यसकारण अहिले पुनर्कर्जा उपयोग गरेका ऋणीहरू कम्तिमा १२.५ देखि १६ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने अवस्था उत्पन्न भएको छ। त्यसले ऋणीलाई निकै सकस बनाउने देखिन्छ।
त्यसो त, बैंक तथा वित्तीय संस्थाले बढी ब्याज लिएर उद्यमी-व्यवसायीमाथि थिचोमिचो गरेको भन्दै निजी क्षेत्र आन्दोलनमा छ। मंसिर ४ को निर्वाचनका कारण केही सुस्ताएको निजी क्षेत्र चुनाव सकिएसँगै आन्दोलनमा उत्रिएका छन्। राष्ट्र बैंकले दिइरहेको ६० अर्ब रुपैयाँको पुनर्कर्जामा उच्च ब्याजदर लाग्दा व्यवसायी थप आक्रोशित हुनसक्छन्।
यति ठूलो रकम केन्द्रीय बैंकमा फर्किँदा कर्जा निक्षेप अनुपात थप बढेर तरलता अभावको अवस्था कायम रहने छ।