काठमाडौं। उद्घाटन चरणमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा निजी क्षेत्रको सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले परीक्षण उडान गर्ने भएको छ। पोखराबाट क्षेत्रीय उडान गर्दै आएको बुद्धले बिहीबार (पुस ७ गते) परीक्षण उडान गर्न लागेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बुद्धले परीक्षण उडान गर्न अनुमति मागेको छ।‘बुद्धले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्न अनुमति मागेको छ,’ उनले भने, ‘प्राधिकरणले भने कुनै निर्णय गरिसकेको छैन। सम्भवतः मंगलबारभित्र टुंगो लाग्न सक्छ।’
बुद्धले यसअघि नै पोखराबाट भारतका तीन सहरमा उडान गर्ने घोषणा गरिसकेको छ। अहिले भने त्यसैको तयारीस्वरूप परीक्षण उडान गर्न लागेको हो। बुद्धका एक अधिकारीका अनुसार परीक्षण उडानका लागि प्राधिकरणसँग अनुमति मागिएको छ। तर, अझै कुनै निर्णय भइसकेको । ‘हामी प्राधिकरणको जवाफको पर्खाइमा छौं। अनुमति पाए आगामी बिहीबार परीक्षण उडान गर्न तयारी अवस्थामा छौं।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ (पुस १७ गते) प्रधानमन्त्रीबाट उद्घाटन गर्ने तयारीमा प्राधिकरण लागिरहेको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको उक्त विमानस्थल उद्घाटन भने कुन प्रधानमन्त्रीबाट हुने निश्चित भइसकेको छैन।
राष्ट्रपति कार्यालयले आइतबार सूचना जारी गर्दै सात दिनभित्र नयाँ सरकारका गठनका लागि बहुमत जुटाउन आह्वान गरेसँगै नयाँ प्रधानमन्त्री को बन्ने भन्ने निश्चित छैन। प्राधिकरण पनि नयाँ प्रधानमन्त्रीको पर्खाइमा छ।
हेलिकोप्टर र अल्ट्रालाइट पुरानै विमानस्थलबाट
नयाँ विमानस्थल सञ्चालनमा आएपछि हेलिकोप्टर र अल्ट्रालाइट एयरक्राफ्ट उडान भने पुरानै आन्तरिक विमानस्थलबाट सञ्चालनमा आउने छ।अहिले पोखरा आधार गरेर प्रभु हेलिकोप्टरले उडान गर्दै आएको छ भने अल्ट्रालाइटमार्फत पोखराको दृश्यावलोकन गराउँदै आएको छ।
त्यसबाहेक अन्य हेलिकोप्टरका चाप पनि पोखरा विमानस्थलमा परिरहेको छ। नयाँ विमानस्थल सानो भएकाले पनि हेलिकोप्टर र अल्ट्रालाइटलाई पुरानैबाट उडान गर्ने निर्णयमा पुगेको प्राधिकरणका सूचना अधिकारी भुलले बताए। योसँगै प्याराग्लाइडिङको भने निर्णय अझै हुन सकेको छैन।
नयाँ विमानस्थल सञ्चालनमा आएपछि हालको ठाउँबाट प्याराग्लाइडिङ सञ्चालन गर्न नमिल्ने भएकाले त्यसको विकल्पबारे प्राधिकरणले छलफल अगाडि बढाइरहेको जनाएको छ। त्यहाँका व्यवसायीसँगको परामर्शपछि नयाँ ठाउँको टुंगो लगाउने गरी प्राधिकरण लागिरहेको छ। पोखराको आकर्षणमा प्याराग्लाइडिङ पनि पर्दै आएको छ।