काठमाडौं । सेयर लगानीकर्तालाई सहजताका साथ प्राविधिक विश्लेषणको सुविधा प्रदान गर्न स्मार्ट कारोबार मोबाइल एप सञ्चालनमा आएको छ ।
होम सर्भिस ट्रेड लिंक प्रालिले डेभलप गरेको एप यसअघि अनौपचारिक रूपमा सञ्चालनमा आए पनि अहिले ‘फुल भर्सन’ लञ्च भएको छ ।
एक वर्ष अगाडि नै स्मार्ट कारोबारको ‘बेटा भर्सन’ सार्वजनिक भए पनि तथ्यपरक तथ्यांक उपलब्ध गराउने प्रणालीको विकासमा समय लागेका कारण स्मार्ट कारोबारको अपडेटेड भर्सन लन्च हुन सकेको थिएन । सबै प्राविधिक कमी कमजोरीहरूलाई सुधार गरेपछि होम सर्भिसले स्मार्ट कारोबार एप गुगल प्लेस्टोरमा उपलब्ध गराएको बताइएको छ ।
एपमा प्राविधिक विश्लेषणका अतिरिक्त वाचलिस्ट, लाइभ डाटा, एभरेज प्राइस, कम्पनी स्टाटस, कोरिलेसन, अड लट, फिबोनाची, न्यारो रेन्ज जस्ता फिचरहरू छन् । यो एपले सेयर सम्बन्धी अनुभव भएका व्यक्तिहरूलाई मात्र नभई सेयर बजारको ज्ञान नभएका व्यक्तिहरूलाई पनि ज्ञान हासिल गर्न सहयोग गर्ने होम सर्भिस ट्रेडले जनाएको छ ।
यसमा अड लटको सेयर किनबेचका सम्बन्धमा जानकारी आदानप्रदान गर्न अडलट फोरम पनि उपलब्ध गराइएको छ । एप प्रयोगकर्ताहरूले १५ दिनसम्म परीक्षणका लागि सबै फिचरहरू निशुल्क प्रयोग गर्न पाउने छन् भने त्यस पछिको बेसिक प्याकेज मासिक १९९ र प्रिमियम प्याकेज मासिक ३९९ रुपैयाँमा लिन सक्नेछन् ।
यस्ता प्याकेजको वार्षिक भुक्तानीमा ३५ प्रतिशत छुट उपलब्ध गराउने श्रेष्ठले जानकारी दिए । यी प्याकेजको रकम भुक्तानी इसेवाबाट गर्न सकिनेछ । यसका साथै ३ जनालाई रिफरल पठाएर १ महिनाको प्रिमियम प्याकेज निःशुल्क प्रयोग गर्न सकिन्छ ।
लञ्च भएको केही दिनमा नै एपका प्रयोगकर्ताहरूको सङ्ख्या ४ हजारभन्दा धेरै पुगेको बताइएको छ । एप तथा एप भित्रको फिचर सजिलै बुझ्न र चलाउन सकिने भएकोले डाउनलोड गर्नेको संख्या दिनहुँ बढिरहेको कम्पनीले जानकारी दियो ।
यसैगरी कम्पनीले हरेक साँझ ६ बजे स्मार्ट कारोबारको टिमले जुम मार्फत एपभित्रका सम्पूृर्ण फिचरको बारेमा जानकारीमूलक छलफल गर्नुका साथै निःशुल्क प्राविधिक विश्लेषणसमेत गराउँदै आएको छ ।