काठमाडौं । गोल्यान र एमएस ग्रुपले सञ्चालन गरेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले धागो निर्यात गरेर करोडौं रुपैयाँ नगद अनुदान पाएको छ । उद्योगले २१ करोड ४० लाख रुपैयाँ निर्यात अनुदान पाएको हो ।
२०२१ मा १६ करोड ८० लाख रुपैयाँ नगद अनुदान पाएको थियो । एक वर्षमा रिलायन्सको नगद अनुदान रकम ५ करोड रुपैयाँ बढेको छ । सरकारले निर्यातलाई प्रोत्साहन गर्न नगद अनुदान बढाएर ८ प्रतिशत पुगेपछि आम्दानी अझ बढ्ने रिलायन्सले जनाएको छ ।
यसअघि सरकारले निर्यातलाई प्रवद्र्धन गर्न रिलायन्सलाई ४ प्रतिशतसम्म नगद अनुदान दिएको थियो । ८ प्रतिशत नगद अनुदानपछि बढेर ५० करोड रुपैयाँ पुग्ने अनुमान उद्योगले गरेको छ । चालू आर्थिक वर्षको बजेटमा सरकाले निर्यात बढाउन नगद अनुदान सीमा बढाएर ८ प्रतिशतसम्म पुर्याएको छ ।
धागोको मूल्य २२ प्रतिशतसम्म बढेर प्रतिकिलो ३२३ रुपैयाँ पुगेको छ । २०२१ मा उद्योगले २६५ रुपैयाँमा धागो बिक्री गरेको थियो । नगद अनुदान र धागोको मूल्यमा भएको वृद्धिले आम्दानी बढाउन उद्योगलाई सहयोग गरेको छ ।
सन २०२२ मा रिलायन्सको सञ्चालन आम्दानी २९.६५ प्रतिशतले बढेर १० अर्ब १० करोड ४० लाख रुपैयाँ पुगेको छ । २०२१ मा रिलायन्सले ७ अर्ब ७९ करोड २० लाख र २०२० मा ६ अर्ब २६ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
३ वर्षको वित्तीय विवरण हेर्दा रिलायन्सको सञ्चालन आम्दानी बढ्दै गएको देखिन्छ । रिलायन्सको मार्जिन बढेर १७.३६ प्रतिशत पुगेको छ । २०२१ मा १६.८७ प्रतिशत मार्जिन थियो । उद्योगले पोलिस्टर, भिस्कोस र एर्लिक र्यानको उत्पादन तथा निर्यात गर्दै आएको छ ।
उद्योगले उत्पादनमा विविधिकरण गर्न कटन स्पन यार्न उत्पादन उत्पादन थाल्ने भएको छ । २०२३ को जनवरीदेखि कटन कटन स्पन यार्नको उत्पादन थाल्ने रिलायन्सले जनाएको छ । कटन यार्न उत्पादनपछि उद्योगले बजारबाट तुलनात्मक लाभ प्राप्त गर्ने अनुमान गरिएको छ ।
यस्तै बजारमा बलियो हिस्सा ओगटने अनुमान गरिएको छ । रिलायन्सले एक वर्षअघि नै १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेर वार्षिक ४ हजार ६८० टन सेन्थेटिक स्पन यार्न उत्पादन गर्न प्लान्ट थपेको छ ।
यस्तै २ अर्ब ६० करोड लगानीमा ८ हजार २८० टन कटन सिन्थेटिक मिक्सड यार्न उत्पादन तयारी थालेको छ । यो प्लान्टका लागि उद्योगले लगानी व्यवस्थापन गर्दै छ । रिलायन्सले ८ अर्ब ९५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।
उद्योगको नेपाल, भारत र टर्कीमा डिलर सञ्जालहरु रहेको छन । उद्योगको ७४ प्रतिशत व्यापार टर्की र भारतमा रहेको छ । कुल व्यापारमा भारतको हिस्सा १८ प्रतिशत रहेको छ ।
रिलायन्स १९९४ मा स्थापना भएको हो । उद्योगको सुनसरीको खनार र दुहबीमा गरी दुई धागो युनिटहरु सञ्चालनमा छन । उद्योगको वार्षिक उत्पादन क्षमता ४० हजार ६८० टन रहेको छ ।
उद्योगले ३ हजार भन्दा बढीलाई रोजगारी दिइरहेको छ । रिलायन्सको अध्यक्ष पवनकुमार गोल्यान, उपाध्यक्ष शशिकान्त अग्रवाल र प्रबन्ध निर्देशक अक्षय गोल्यान हुन । रिलायन्सले प्रिमियम मूल्यमा १९ लाख २६ हजार कित्ता प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्न लागेको छ ।