काठमाडौँ । सामाजिक सुरक्षा कोषमा दर्ता हुने समय आज (असोज मसान्त) सकिँदैछ । कोषमा अहिलेसम्म ६ हजार ६ सय रोजगारदाता र ९० हजार कर्मचारी दर्ता भएका छन् । २०७५ मा केन्द्रिय तथ्यांक विभागले गरेको आर्थिक गणना अनुसार नेपालमा ९ लाख २३ हजार व्यवसायीक प्रतिष्ठानहरु छन् । तर, ४ लाख ६२ हजार व्यवसायीक प्रतिष्ठानमात्र सरकारी निकायमा दर्ता भएर सञ्चालन भइरहेको गणनाले देखाएको थियो ।
सामाजिक सुरक्षा कोषमा दर्ता हुने अवधि सकिनलाग्दा पनि नआउने व्यवसायीक प्रतिष्ठानलाई के गर्ने भन्ने बिषयमा कुनै निर्णय नभएको कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले बताए । ‘कोषमा आउने क्रम जारी छ, नआउनेलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय भएकै छैन’ उनले भने । तर, नेपालका ठूला व्यवसायीक घराना भनेर चिनिने प्रतिष्ठानहरु भने कोषमा दर्ता हुन आएको उनले बताए ।
सीजी ग्रुप, गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, गरूड, गोल्यान समूह, नोबेल मेडिकल, ट्रिनिटी, शंकर ग्रुप, वल्ड लिंक, ईसेवा, सूर्य नेपाल, मेडिकेयर, किस्ट मेडिकल, मनकामना केबुलकार, होटल ग्राण्डी, टाइगर, युनिलिभर तथा होटल अन्नपूर्णलगायतका प्रतिष्ठान कोषमा दर्ता भइसकेका छन् । कोषले यस वर्ष निजी सङ्गठित संस्था तथा त्यहाँ कार्यरत कर्मचारीबाट योगदान रकम ४० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । औद्योगिक प्रतिष्ठान सूचीकृत हुने क्रम बढेकोले कोषको आकार बढ्ने देखिएको कार्यकारी निर्देशक ज्ञवालीले बताए ।
गत वर्ष साउन १ गतेदेखि सामाजिक सुरक्षा योजना पूर्णरुपमा कार्यान्वयनमा आएको छ । कोषले संकलित योगदान रकम लगानी गर्न योजना बनाइरहेको छ । जलविद्युत् यातायातलगायत पूर्वाधार, पर्यटन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उनको भनाइ छ । ६ महिनाको सङ्कलित रकम ‘प्रोभिजिनिङ’मा राख्नुपर्ने व्यवस्था रहेकाले यस वर्षको अन्त्यदेखि लगानी शुरु गर्ने योजना कोषको छ ।