काठमाडौं। बुटबल पावर कम्पनी लिमिटेड (बिपिसी) ले चिनियाँ साझेदारीमा बनाउन लागेको १३५ मेगावाटको मनाङ–मर्स्याङ्दी जलविद्युतको आयोजना विकास सम्झौता (पिडिए) भएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र आयोजनाको प्रवर्द्धक आयोजना मनाङ–मर्स्याङ्दी हाइड्रोपावर प्रालिले निर्माण गर्नेछ।आइतबार पीडीएमा हस्ताक्षर भएको हो। आयोजना २०२३ देखि निर्माण सुरू भई ४ वर्षमा सक्ने लक्ष्य छ। आयोजना बनाउन ३३ अर्ब ३७ करोड रुपैयाँ (३२ करोड डलर) लागत अनुमान गरिएको छ।
इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (इपिसी) आउँदो ९ महिनाभित्र आयोजना बनाउन लगानी जुटाउने भएको छ। प्रस्तावित आयोजनाबाट ७६ करोड ६५ लाख ९३ हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। आयोजनामा चिनियाँ कम्पनीको ८० र बाँकी २० प्रतिशत बिपिसीको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ।
जलविद्युतमा लगानी गर्न बीपीसी र ३ वटा चिनियाँ कम्पनीले एससीआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेड स्थापना गरेका छन्। एससीआइजीमा बिपिसीका अतिरित्त एससीआइजी इन्टरनेसनल लिमिटेड, जीचेङ इन्टरनेसनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, क्युआइइसी इन्टरनेसनल कम्पनी लिमिटेड हङकङको लगानी रहनेछ।
नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच विद्युत खरिदबिक्र सम्झौता (पिडिए) भएको छ। जसअनुसार सुख्खायामको ६ महिनामा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षादको ६ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा पीपीए भएको छ। वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यवृद्धि पाउने प्रस्ताव पनि सिफारिस गरिएको छ। आयोजनाको हेड ४३० मिटर र सुरङको लम्बाइ ६ किलोमिटर छ।
चिनियाँ कम्पनीहरुको साझेदारीमा बिपिसीले मर्स्याङ्दी बेसिनमै ३२७ मेगावाटको माथिल्लो मर्स्याङ्दी–२ र १३९ मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी आयोजना निर्माण गर्ने तयारी गरेको छ। ३ वटा आयोजनाको क्षमता ६०१ मेगावाट छ । ३ वटै आयोजना श्रृङखला (क्यासकेड) खाकामा निर्माण हुने भएका छन्।
मनाङको नासो र चामे गाउँपालिकामा निर्माण हुने भएको छ। चिनियाँ बैंकले ऋण लगानी गर्ने सैद्धान्तिक सहमति भएको जनाइएको छ। आयोजनाबाट उत्पादित बिजुली मनाङको धारापानीस्थित प्राधिकरणको २२० केभी धारापानी स्वीचिङ स्टेसनमा जोड्ने गरी प्रसारण सम्झौता (कनेक्सन एग्रिमेन्ट) भएको छ।
बिपिसीले नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न चीनबाट २ खर्ब रुपैयाँ बढी वैदेशिक लगानी ल्याउन चिनियाँसँग सम्झौता गरेको छ। होल्डिङ कम्पनीमार्फत आउँदो केही वर्षमा थप १ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ। बिपिसीले ३० मेगावाटको न्यादी आयोजनाको निर्माण गरिसकेको छ।