काठमाडौं। एयरलाइन्सहरूले विमानस्थलमा रहेका सामान जोख्ने मेसिन बिगारेर यात्रुबाट रकम असुलिरहेको पाइएको छ।एयरलाइन्सहरूले आन्तरिक तथा बाह्य उडानका लागि जाने यात्रुले लगेका सामानको बढी तौल देखाउने रकम असुल्ने गरेका हुन्।
यात्रुले बाहिरको मेसिनमा जोखेर लगेको तौलभन्दा एयरपोर्टका हरेक मेसिनमा खोज्दा २ केजी सामान बढी हुने गरेको छ। त्यसबापत एयरलाइन्सले बढी रकम लिने गरेको यात्रुहरुले गुनासो गरेका छन्।
‘एक जनाको मात्रै होइन्, हरेक व्यक्तिले एयरपोर्टभित्र एयरलाइन्सहरुले राखेको मेसिनमा सामान जोख्दा २ केजी बढी देखिन्छ’ अमेरिका हिडेका एक यात्रुले भने, ‘हामी तीन जना साथीहरु फरक–फरक एयरलाइन्सबाट अमेरिका गएका थियौं। बाहिर जोखेर लैजादा २० केजी थियो। एयरलाइन्सले राखेका मेसिनमा २२ केजी देखियो। एयरलाइन्सले प्रतिकेजी ३ हजार रुपैयाँ पैसा लिए।’
एयरलाइन्स अपरेटहरूले मिलेर मेसिनहरु बिगार्दा पनि गुणस्तर तथा नापतौल विभागले अहिलेसम्म अनुगमन गरेको छैन। ‘पहिले पहिले नियमित रूपमा अनुगमन गरिन्थ्यो। यसबीचमा विभिन्न घट्ना परिघटनाले गर्दा अनुगमन गर्न सकिएको छैन’ विभागका महानिर्देशक दिनानाथ मिश्रले भने, ‘एयरपोर्टमा रहेका मेसिनहरू बिगारेर राखेको गुनासो हामीसँग पनि आइपुगेको छ। हामी अनुगमन गर्छौ।’
एयरलाइन्सले आफ्ना निकटका व्यक्ति तथा शक्ति केन्द्रसँग नजिक भएकाहरु यात्रामा निस्किएका बेला टिकटमा तोकिएभन्दा बढी तौल भए पनि उनीहरुले छाडिदिने र निमुखा यात्रुसँग बढी तौल देखाएर बढी रकम लिने गरिरहेका छन्। एयरलाइन्सले मिलीमतो गरी तौल मेसिन २ किलो बढी देखाउने गरी बिगारेका छन्।
वैदेशिक रोजगारीमा जानेहरुले टिकटमा उल्लेख भएअनुसार तौल मिलाएर लैजाने गर्छन्। तर, एयरपोर्टको मेसिनमा बढी तौल देखाउँदा वैदेशिक रोजगारीमा गएकाहरुले सामान त्यही झिकेर प्याक्ने वा पैसा तिर्न बाध्य छन्। अहिले नेपालबाट दैनिक २ हजारको संख्यामा नेपालीहरु वैदेशिक रोजगारीका लागि जाने गर्छन्। उनीहरूले न्यूनतम पनि २ वर्ष बस्ने योजनाका साथ नेपाल छाड्छन्, र त्यही अनुसार आफ्नो सामानको पनि बन्दोबस्त गरेर हिडेका हुन्छन्। तर, एयरलाइन्सले यही मौकालाई कमाउने मेलो बनाइरहेका छन्।