काठमाडौं । काठमाडौं-निजगढ दु्रतमार्ग आयोजना (फास्टट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) र डिजाइन परिवर्तन भएसँगै नयाँ कम्पनी र परामर्शदाता छनौटका लागि पुनः ठेक्का गरिने भएको छ ।
यसअघिको द्रुतमार्गको विस्तृत डिजाइन, सुरुङमार्ग र पुलको संख्या परिवर्तन भएर बनेको डीपीआर अनुसार द्रुतमार्ग अघि बढाउन ६ ओटा नयाँ कम्पनी र आयोजना निर्माणका लागि परामर्शदाता छनौट गर्न लागिएको आयोजना निर्माण तथा नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले क्यापिटल नेपाललाई जानकारी दिए ।
डीपीआर बन्नुभन्दा पहिलेको डिजाइन परिवर्तन गर्नुपर्ने भएकाले त्यसका लागि नयाँ निर्माण कम्पनी छनौट गर्नुपरेको पाण्डेले बताए । उनले आउँदो कात्तिक १५ गते यसअघि पुल निर्माणका लागि छनौट भएका ६ ओटा कम्पनीका लागि नै पुनः टेन्डर खोलिन लागेको बताए ।
अहिलेसम्म आयोजनाको परामर्शदाता नभएकाले त्यस्को पनि छनौट हुने उनको भनाइ छ । ‘डीपीआर बन्नुअघि बनाइएको डिजाइन तथा रेखाङकनअनुसार कम्पनीले काम गरिरहेका थिए’ उनले भने, ‘अहिले डिजाइन र पुलको संख्यामा परिवर्तन भएसँगै नयाँ कम्पनी र परामर्शदाता छनौट गर्दैछौं ।’
यसअघि कोरियाको सुसुङ इञ्जिनीयरिङ एन्ड कन्सल्टिङ कम्पनीले तयार गरेको डीपीआरलाई सरोकारवाला मन्त्रालयसँगको परामर्शमा संशोधनसहित मन्त्रीपरिषद्ले स्वीकृती गरेका थियो ।
खोकना क्षेत्रमा सिकाली मन्दिर र कोदेशमा पुरातात्विक महत्वको क्षेत्र जोगाउने गरी शुरुमा प्रस्तावित सडकको रेखाङकनमा केही संशोधन गरी नयाँ गरिएको छ ।
महत्वपूर्ण मानिएका विशेष प्रकृतिका पुल, सुरुङ र डिजाइनमा पनि केही शंसोधन गरी आगामी तीन बर्षभित्र आयोजन सम्पन्न गर्ने सेनाको योजना छ ।
यसअघि ७६.२ किलोमिटर लम्बाइको दु्रतमार्ग सुरुङमार्ग र पुलको डिजाइनसँगै दुरी कम भइ ७२. ५ किमी कायम भएको छ । महादेव डाँडा, धेद्रेडाँडा र लेनडाँडामा गरी तीन वटा सुरुङ बनाइने छ । ७४ मिटर अग्ला र लामा तथा १६ वटा विशेष प्रकृतिको पुल निर्माण गर्नुपर्ने छ । त्यस्ता पुल झण्डै आधा किलोमिटर लामासम्म हुनेछन् ।
तीन वटा सुरुङको लम्बाइ ६.४१ किमि छ भने ठूला अग्लासहित ८७ वटा पुल उक्त मार्गमा रहने छ । प्रारम्भिक चरणका काम एसियाली विकास बैंक (एडीबी) द्वारा तयार गरिएको सम्भावित अध्ययन र प्रारम्भिक डिजाइन तथा सेनाले बनाएको विस्तृत इञ्जिनीयरिङ सर्भे र अलाइमेन्ट डिजाइनका आधारमा काम हुँदै आएको थियो ।
चार लेनमा निर्माणाधीन सडकको चौडाइ पहाडी भू–भागमा २५ मिटर र समथरमा २७ मिटर हुनेछ । खोकना, बुदुने र निजगढमा गरी तीन वटा इन्टरचेन्ज र दुई विश्रामस्थल हुनेछ । हालसम्म जग्गा अधिग्रहणको कार्य ९६ प्रतिशत एवं रूख कटान ९७ प्रतिशत प्रगति भइसकेको छ ।