काठमाडाैं। ‘शब्द शक्ति उत्सवको एक दशक’ नारासहित १०औं संस्करणको नेपाल लिटरेचर फेस्टिभल पोखराको लेकसाइडस्थित बाराहीघाटमा हुने भएको छ। लिटरेचर फेस्टिभल पुस ६ देखी ११ गते सम्म हुने बुकवर्म फाउन्डेसनले शनिबार पाेखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे हाे।
यस वर्ष फेस्टिभलमा सन् २०२२ का बुक र पुरस्कार विजेता श्रीलंकालीलेखक सेहान करूणातिलका, लेखक एवम् पत्रकार अक्षय मुकुल, सह–प्राध्यापक एवम् लेक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तिकाे सहभागिता रहने महोत्सवका संयोजक सुजाता खत्रीले जानकारी दिइन्।
खत्रीका अनुसार महोत्सवमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी डा. भगवान कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवम् लेखक विजय कुमार पाण्डे, सम्राट उपाध्याय, लेखक बुद्धिसागर, सुबिन भट्टराई, संगीतकर्मी रन्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्का , पत्रकार रमा सिंह, गायिका झुमा लिम्बूलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ।
यस्तै यस वर्ष फरक क्षमता भई अब्बल रहेका व्यक्तित्वहरु र दार्चुला, गोरखा मनाङका स्थानीय जनप्रतिनीधिहरूको पनि उपस्थिती रहनेछ।महोत्सवमा हरेक दिन सांगितिक प्रस्तुती रहने र पूर्वसन्ध्यामा कवि नवराज पराजुली र उज्जल सागरको प्रस्तुती रहने आयोजकले जनाएको छ।
गायक तथा संगीतकार गोपाल योन्जनको स्वगारोहणको २५ वर्ष पुगेकाे अवसरमा उनीप्रतिको सम्मान गोपालय सांगीतिक प्रस्तुती पनि राखिएको छ।
यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा एक सय वर्ष, अनिल शाही र उनको समूहको विशेष सांगीतिक प्रस्तुती र रैथानेको प्रस्तुती रहेको फेस्टीभलको अन्तिम दिन प्रदिप रोदनको महफिल रहने खत्रीले जानकारी दिइन्।
यस्तै फेस्टिभलमा शिक्षा ३ सत्रहरुमा कक्षा ९ देखि १२ का विद्यार्थीहरूको वक्तृत्वकला प्रतियोगिता कार्यक्रम पनि रहेको छ। शब्द शक्ति उत्सवको एक दशक नारा रहेको दशौं संस्करणको फेस्टिभलको उद्घाटन सत्रमा अर्थशास्त्री एवं काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेले नेपाल २०९० शीर्षकमा प्रवचन दिने कार्यक्रम छ।
पत्रकार सम्मेलनमा आयोजक तर्फका सदस्य भरत कोइरालाले पोखरा र नेपाल लिटरेचर फेस्टिभल पर्याय बनेको बताए। उनले यस फेस्टिभललाई पोखरावासीहरूले उत्साहपूर्वक प्रतिक्षा गरिरहेको बताउँदै अब त्यो दिनको पर्खाइ छोट्टिदै गएको बताए।
आयोजक संस्था अर्का सदस्य केशवशरण लामिछानेले पनि नेपाल लिटरेचर फेस्टिभलले पोखरालाई सभ्य एवम् सुसंस्कृत सहर बनाउँदै लगेको र पोखरालाई साहित्यको पनि सहर बनाउन फेस्टिभलको महत्वपूर्ण भूमिका रहेको बताए।
नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरू भएको जानकारी दिदै १० औं संस्करणमा आइपुग्दा बाराहीघाटमा भव्यताका साथ आयोजना हुने तयारी रहेको बताए। उनले फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यत्ति एवम् सरोकारवालाई जवाफदेही बनाउन सघाउन पुर्याउने विश्वास व्यक्त गरे। फेष्टिभल दक्षिण एसियाकै समावेशी मञ्च बन्दै गएको र यसलाई सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए।