काठमाडौं। बाराही ग्रुपले पछिल्लो समय होटल विस्तारमा आक्रमक हिसाबमा लगानी बढाएको छ। राजधानी काठमाडौं, चितवन र पोखरामा होटल सञ्चालन गरिरहेको बाराहीले पोखरामा फेरि अर्को पाँचतारे होटल बनाउन सुरु गरेको छ।
बाराही सेदी लिमिटेडमार्फत निर्माण सुरु भएको होटलमा ३ अर्ब १० करोड रुपैयाँ लगानी हुनेछ। होटल पोखरा विमानस्थल नजिक छ। ६३ रोपनी क्षेत्रफलमा फैलिने होटल पोखराको सेदी हाइटमा बन्ने छ।
प्रस्तावित होटलमा १ सय ५० कोठा हुनेछन्। तीमध्ये १० एक्जिक्युटिभ सुइट, क्यासिनोका साथै ११ सर्भिस हाउस बन्ने बाराही सेदीले जनाएको छ।
त्यसैगरी होटलमा गेस्ट अकोमोडेसन भवन, मुख्य लबी, रिसेप्सन, दुइटा रेस्टुरेन्ट, एउटा एक्सक्लुसिभ बार, तीनवटा सम्मेलन हल, दुई बोर्ड कोठा, स्पा, साउना र हेल्थ सेन्टर बनाउने तयारी ग्रुपको छ।
बाराहीले क्यासिनो ब्लक, प्रशासनिक ब्लक र मेकानिकल रुम निर्माण गर्ने छ। होटलमा आठजनाको लगानी हुनेछ। त्यसमा सबैभन्दा बढी ८७ प्रतिशत स्वामित्व हरिप्रसाद पौडेल र उनका परिवारका सदस्यको छ।
७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटी लगानी भएको छ। इक्विटीका ३५ प्रतिशत रकम संस्थापकबाट लगानी हुन बाँकी छ। बाराही सेदीले २ अर्ब ३८ करोड रुपैयाँ ऋणको रेटिङ पनि गराएको छ। होटलको २५ प्रतिशत भौतिक र ४४ प्रतिशत वित्तीय प्रगति भइसकेको छ।
होटल निर्माण प्रारम्भिक चरणमा रहेको र कूल चार ब्लकमध्ये दुइटाको सिभिलको काम भइरहेको छ। बाराही सेदी स्थापना सन् २०१८ मा भएको हो। यो वर्ष होटल पब्लिक लिमिटेडमा परिणत भएको छ। ग्रुपले सन् १९७८ देखि पोखरामा चारतारे होटल बाराही सञ्चालन गर्दै आएको छ। हरिप्रसाद पौडेल चार दशकदेखि पर्यटन व्यवसायमा संलग्न छन्।
बाराहीले राजधानीमा आफ्नो उपस्थिति देखाउन ठमेलमा बिजनेस कम्प्लेक्ससहितको चारतारे होटल सञ्चालनमा ल्याउन लागेको छ।। जुन सपिङ मलसहित नौ तला अग्लो छ। बाराहीले पोखरा लेकसाइड र सराङकोट तथा चितवन सौराहामा होटल तथा रिसोर्ट सञ्चालन गरिरहेको छ।
ठमेलमा निर्माणाधीन होटल बाराही प्लाजाको नामबाट सञ्चालनमा हुनेछ। सपिङ मलसहितको होटल सञ्चालन गर्न कम्पनीले इक्रा नेपाल लिमिटेडबाट ९४ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।
बाराही प्लाजामा ८० प्रतिशत बैंक ऋण र बाँकी २० प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) स्वामित्व हुने गरी लगानी संरचना बनाइएको छ।
बाराही प्लाजामा ७० प्रतिशत बाराही होटलको लगानी छ। प्लाजाको तीन तलासम्म सपिङ मल र चारदेखि नौ तलासम्म होटल सञ्चालन हुने कम्पनीले जनाएको छ।होटलमा रहने ८० कोठामध्ये आठ सुइट र ७२ डिलक्स हुनेछन्।
हाल पोखरामा पाँच तारे होटलको रुपमा फुलबारी होटल, पोखरा ग्राण्ड रहेका छन। ती मध्ये फुलबारी होटल बन्द छ। यस्तै चार तारे एउटा र तीन तारे ३ ओटा होटल सञ्चालनमा छन। फूलबारी बन्द छ।
पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य भइरहेको बेला स्तरीय होटलहरु निर्माण हुने क्रमले तिब्रता पाएको हो।