काठमाडौं। नेपाल इकरात इन्जिनियरिङ कम्पनी (निक) ले तीन वर्षपछि भुटानमा विद्युतीय ट्रान्सफर्मर निर्यातको जिम्मेवारी पाएको छ। विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९) महामारीका कारण विगत तीन वर्षयता रोकिएको निर्यात पुनः सुरू भएको हो।
कोभिडकै कारण भुटानले विद्युतीकरणका क्षेत्रमा गर्नुपर्ने काममा समेत सुस्तता आएपछि त्यहाँ ट्रान्सफर्मरको खासै माग आएको थिएन। भुटानले दशकौंदेखि अधिकांश निकको उत्पादन नै खरिद गर्दै आएको कम्पनीका प्रबन्ध निर्देशक कुशकुमार जोशीले बताए।
निक र ‘भुटान पावर कर्पोरेशन (बिपिसी)’ बीच ट्रान्सफर्मर निर्यात गर्ने विषयमा गत मंसिर २ गते (नोभेम्बर १८) ठेक्का सम्झौता भएको कम्पनीले जानकारी दिएको छ। सम्झौताअनुसार १५ केभिएदेखि १२५० केभिए क्षमतासम्मका १२० ट्रान्सफर्मर निर्यात गर्न करिब साढे १४ करोड रुपैयाँ (११ लाख अमेरिकी डलर) मा ठेक्का सम्झौता भएको छ।
सम्झौतामा सन् २०२३ मार्च (१५ महिनाभित्र) निर्यात गर्नुपर्ने सर्त रहेकाले उक्त अवधिभित्र निर्धारित कोटाका ट्रान्सफर्मर निर्यात गर्न सकिने प्रबन्ध निर्देशक जोशीले बताए।
‘बिपिसीले गत वर्ष पनि ट्रान्सफर्मर खरिदका लागि ठेक्का आह्वान गरेको थियो, त्यसमा भारतलगायत विभिन्न देशका कम्पनीसँगै हामी पनि प्रतिस्पर्धामा थियौं तर त्यतिबेला आन्तरिक कारण देखाएर ठेक्का रद्द गरिएछ,’ उनले भने, ‘यो वर्ष पुनः त्यही प्रकारको ठेक्का आह्वान गरेकोमा हाम्रो प्रस्ताव स्वीकृत भएको छ।’
निकले यसअघि भुटानसहित बंगलादेशमा पनि यहाँ उत्पादित ट्रान्सफर्मर निर्यात गर्दै आएको थियो। केही अत्यावश्यक कच्चा पदार्थ विदेशबाट आयात गरी आफ्नो हेटौंडास्थित कारखानामा उत्पादन गरेर स्वदेश तथा विदेशमा व्यापार व्यवसाय गर्दै आएको निकले ट्रान्सफर्मरमा देशलाई आत्मनिर्भर बनाउन सकिने गरी काम गरिरहेको पनि जनाएको छ।
निकले स्वदेशभित्र पनि व्यापकरूपमा आफ्नो व्यवसाय विस्तार गरिरहेको छ । गत वर्षमात्र उसले प्राधिकरणलाई करिब ३००० हजार ट्रान्सफर्मर बिक्री गर्न ठेक्का पाएको छ।
जसमध्ये अधिकांश ढुवानी भइसकेको कम्पनीले जनाएको छ। वार्षिक १० हजार थान ट्रान्सफर्मर उत्पादन क्षमता रहेको निकले स्वदेशभित्र ग्रामीण विद्युतीकरण, जलविद्युत आयोजना निर्माण क्षेत्र, टेलिकम, सामुदायिक तथा सार्वजनिक संस्थाहरूसम्म ट्रान्सफर्मर व्यवसायको पहुँच पुर्याएको छ। निक ३ दशक पुरानो ट्रान्सफरमर उत्पादक हो।