काठमाडौं। सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सञ्चालन आम्दानी घटेको छ। क्षमता विस्तारका क्रममा केही समय कारखाना बन्द हुँदा उद्योगको उत्पादन ठप्प हुन गई सञ्चालन आम्दानीमा गिरावट आएको हो।
सन् २०२२ मा सोनापुर मिनरल्सले २ अर्ब ३७ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। २०२१ मा उद्योगले २ अर्ब ९२ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो। २०२० मा उद्योगले २ अर्ब ६६ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो।
२०२० को तुलनामा सन् २०२१ मा उद्योगको सञ्चालन आम्दानी ९.४७ प्रतिशतले बढेकोमा २०२२ मा आएर घटेको छ। २०१९ मा सोनापुर मिनरल्सले ३ अर्ब २२ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।
उद्योगको कूल आम्दानीमा क्लिंकरको हिस्सा ४० प्रतिशत छ। सोनापुरले अहिले क्लिंकरका साथै सिमेन्ट उत्पादन गरिरहेको छ। २०२२ मा क्लिंकर प्लान्टको उपयोग ५८ र सिमेन्टको ५३ प्रतिशत रहेको छ। उद्योगको २ अर्ब ५१ करोड रुपैयाँ ऋण छ।
उद्योगले क्लिंकर उत्पादन दैनिक १२५० टन र सिमेन्ट २३०० टन थप गरेको छ। कम्पनीसँग हाल एउटै स्थानमा रहेका दुवटा चुनढुंगा खानी उत्खनन अनुमतिपत्र छ। उद्योगले प्रिमियम दरमा प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्न लागेको छ।
सोना सिमेन्ट ब्रान्डमा ओपीसी र सोना सिमेन्ट पीपीसी तथा सोनाश्री सिमेन्टको नाममा पीपीसी उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। ग्रान्डिङ युनिट जडान गएको फेब्रुअरीमा सकिएको छ।
सोनापुर मिनरल्स सन् २००८ मा स्थापना भएको हो। उद्योग तयाल परिवारले स्थापना गरेको हो। उद्योगको अध्यक्षमा रतनलाल तयाल र प्रबन्ध सञ्चालकमा निपेश तयाल रहेका छन्। तयालको रोजिन एन्ड टर्पन्टाइन, कागज, कस्मेटिक र फाइबर केबल व्यवसाय पनि छ।