काठमाडौं। यातायात व्यवस्था विभागले ट्रायल पास गरेको एक साताभित्रै स्मार्ट लाइसेन्स वितरण गर्ने तयारी गरेको छ। विभागले २०८० जेठबाट ट्रायल पास गरेकाे साताभित्रै स्मार्ट लाइसेन्स दिने व्यवस्था गर्न लागेकाे हाे।
विभागले अहिले एउटा मात्रै मेसिनबाट लाइसेन्स प्रिन्ट गरिरहेको छ। जसको क्षमता दैनिक ४ हजारदेखि ४५ सय स्मार्ट लाइसेन्स प्रिन्ट गर्न सक्ने विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरू बताउँछन्।
कम प्रिन्ट भएका कारण स्मार्ट लाइसेन्स वितरणमा ढिलाई हुँदा जनगुनासा आएको विभागको भनाइ छ। लामो समय लाइसेन्स नपाएको सर्वसाधारणले गुनासो गर्दै आएका छन्। अहिले ट्रायल पास गरेको महिनौंसम्म पनि सवारी चालकले लाइसेन्स पाउन सकेका छैनन्।
विभागमा ट्रायल पास भएर प्रिन्ट गर्न बाँकी लाइसेन्स ७ लाख रहेको छ। लाइसेन्स वितरण सुस्त भएपछि विभागले नयाँ मेसिन खरिद गर्न लागेको हो। नयाँ मेसिन गरिद गरेपछि दैनिक ८ हजारभन्दा बढी लाइसेन्स प्रिन्ट गर्न सकिने सूचना अधिकारी पनेरूको भनाइ छ।
'अहिले लाइसेन्सको दैनिक माग ७ हजार छ। हाल दैनिक ४ हजारदेखि ४५ सय मात्रै स्मार्ट लाइसेन्स प्रिन्ट हुन्छ,' यातायात व्यवस्था विभागका सूचना अधिकारी पनेरूले क्यापिटल नेपालसँग भने, 'अर्को मेसिन ल्याएपछि दैनिक थप ८ हजार भन्दा बढी प्रिन्ट हुनेछ र ट्रायल पास गरेको एक सातामै विभागले लाइसेन्स दिनसक्छ।'
विभागसँग भएको एउटा मेसिनले लाइसेन्सको माग धान्न नसकेपछि नयाँ मेसिन खरिद गर्न लागिएको हो। विभागमा भएको मेसिन बिग्रिएको वा अन्य कुनै पनि समस्या आएको छैन। हाल विभागमा भएको जस्तै लाइसेन्स प्रिन्ट गर्ने मेसिन खरिद गर्न लागिएको हो। ‘माग धेरै भयो हामीले त्यहीअनुसार काम गर्न र सेवालाई सहज बनाउन अर्को मेसिन खरिद गर्ने ठेक्का आह्वान गरेका छौं’ उनले भने।
३० दिनसम्म सूचनाको म्याद रहेको र अन्य आवश्यक कानुनी प्रक्रिया पूरा गर्दा करिब ५ महिना लाग्ने पनेरुको भनाइ छ। सामान्य अवस्था रहेमा करिब ५ महिना अर्थात् आगामी जेठबाट दुइटा मेसिनले लाइसेन्स प्रिन्टको काम गर्ने छन्। कुनै प्राविधिक समस्या वा अन्य कारण रह्यो भने मेसिन खरिदमा ढिलाई हुनेछ।
विभागले स्मार्ट कार्ड मास प्रिन्टरको आपूर्ति, डेलिभरी, स्थापना, एकीकरणका लागि ठेक्का आह्वान गरेको छ। विभागले शुक्रबार सूचना जारी गर्दौ एक महिनासम्म आवेदन दिनसक्ने गरी राष्ट्रिय स्तरको इलेक्ट्रोनिक ठेक्का आह्वान गरेको हो।
आवेदन दिने कम्पनीले दुइटा कागजपत्र पेस गर्नुपर्ने बताइएको छ। जसअन्तर्गत प्राविधिक अनुभवको पत्र र मूल्यको पत्र समावेश गर्नुपर्ने हुन्छ।
इच्छुक कम्पनले इजिपी प्रणाली सञ्चालन मार्ग निर्देशन, २०७४ अनुसार इलेक्ट्रोनिक रूपमा आफ्नो बोलपत्र पेस गर्नुपर्ने विभागले जनाएको छ। ठेक्काको अन्तिम म्याद माघ दुई गते दिउँसो १२ बजेसम्म रहेको छ।