दाङ। लमही नगरपालिका–३ स्थित जखेरा ताल पर्यटकीयस्थलमा विकसित हुन थालेको छ। लुम्बिनी प्रदेशकै उत्कृष्ट तालका रुपमा रहेको ताल साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको छ।
यस तालमा डुंगा सयर, वनभोज र फोटो खिच्न दैनिक मानिस आउने गरेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका महासचिव लोकमणि बन्जाडेले जानकारी दिए। यो ताल प्रदेश सरकारको पहिलो प्राथमिकतामा समेत परेको छ।
जखेरा शिवालय विकासका लागि संघीय सरकारबाट बाटो र उद्यान निर्माणका लागि आठ करोड रूपैयाँ, प्रदेश सरकारबाट ९० लाख रूपैयाँ र स्थानीय सरकारले हालसम्म पौने दुई करोड रूपैयाँ बजेट विनियोजन गरेको प्रतिष्ठानका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए।
तालको संरक्षण र सम्वर्द्धन सँगसँगै यस क्षेत्रको व्यापार व्यवसायमा आर्थिक वृद्धि भएको स्थानीय होटल व्यवसायी बालकृष्ण चौधरीले बताए। तालमा डुंगा सयर, पार्कभित्र वनभोजस्थलको व्यवस्थापन हुँदा व्यवसाय बढेको छ,' उनले भने।
त्यस्तै गढवा गाउँपालिका–१ मा पर्ने कुलपानी हरित उद्यान पनि पर्यटकीय गन्तव्यको स्थल बन्दै गएको छ। दुईदेखि तीन सयसम्म पर्यटक दिनहुँजसो आउने गरेको गढवा गाउँपालिका–१ का वडाध्यक्ष बाबुराम अधिकारीले जानकारी दिए। कुलपानी हरित उद्यानको विकासका लागि गढवा गाउँपालिकाले यस वर्षमा रु आठ लाख बजेट विनियोजन गरेकोसमेत वडाध्यक्ष अधिकारीले बताए। अन्य सामाजिक संघसंस्थाले पनि बजेट सहयोग गर्दै आएको उनको भनाइ छ।
त्यसैगरी भारतसँग सिमाना जोडिएको गढवा गाउँपालिका–८ कोइलाबास नाकाले पनि पछिल्लो समय आन्तरिक पर्यटकलाई आकर्षित गरिरहेको छ। नजिकैको पहाड हेर्न, खोलामा रहेको झोलुंगे पुल हेर्न, त्यहाँ रहेको ‘भ्युटावर’ चढ्नका लागि दैनिक भारतीय पर्यटक आउने गरेको वडा नम्बर ८ का वडाध्यक्ष खालिक सिद्दिकीले जानकारी दिए। भारतीय पर्यटक नेपाल आउँदा नेपालको अर्थतन्त्रमा टेवा पुगेको उनको भनाइ छ।
दाङ सदरमुकाम घोराही बजारदेखि दक्षिणतर्फ नौ किलोमिटर दूरीमा अवस्थित धारापानी मन्दिर परिचित छ। अग्लो त्रिशूल राखिएका कारण यो मन्दिर परिचित भएको हो। घोराही उपमहानगरपालिका–५ मा पर्ने धारापानी मन्दिर विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गर्दै आएको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव तथा वडा नम्बर ५ का वडाध्यक्ष विष्णुराम आचार्यले जानकारी दिए।
यो धार्मिक वन क्षेत्र भएको कारणले गर्दा मन्दिर वरपर माछा मासु लिन पाइँदैन, होमस्टे, रेष्टुराँ सञ्चालन गर्न नदिएको उनले बताए। 'मन्दिरको बाहिरपट्टि पूजा सामग्री बिक्री गर्ने, सामान्य चिया पसल राख्ने ठाउँ छ र पूजापाठ गर्न आएका श्रद्धालुले चढाएको पूजा भेटी त्यसैबाट आउने रकम नै मन्दिरको आयस्रोत हन्,' उनले भने।
समितिले करिब चार बिघा क्षेत्रफलमा ड्याम निर्माण थालेको छ। यसका लागि हालसम्म प्रदेश सरकारले रु तीन करोड बढी बजेट बिनियोजन गरिसकेको व्यवस्थापन समितिले जनाएकोछ। ‘ड्याम’ निर्माण भएपश्चात् माछापालन र डुंगा सञ्चालन गर्ने उद्देश्य छ।
त्यस्तै संघीय सरकारबाट प्राप्त २५ लाख रूपैयाँ बजेटले गुरुकुल निर्माण भइरहेको समितिका सचिव आचार्यले जानकारी दिए। साथै समितिले मन्दिरमा ३१ किलोको घण्टा राख्नका लागि अभियान थालिने जनाएको छ।
त्यस्तै दाङमा मानव निर्मित पर्यटकीय क्षेत्र निर्माण भइरहेका छन्। बास बस्न र खानका लागि व्यवस्थासहित सुविधा सम्पन्न होटल, रेष्टुराँ र होमस्टे नहुँदा टाढाबाट आउने आगन्तुकलाई समस्या हुने गरेको छ।