काठमाडौं। नेपाल बिमा प्राधिकरणले बिमक लगानी निर्देशिका २०७५ लाई परिमार्जन गर्ने भएको छ। प्राधिकरणले पूर्वाधार क्षेत्रमा लगानी दायरा बढाउने गरी निर्देशिका परिमार्जन गर्न लागेको हो।
चालू आर्थिक वर्ष ०७९/०८० बजेटमा सरकारले बिमा कम्पनीले आफ्नो लगानीको निश्चित प्रतिशत पूर्वाधार परियोजनामा लगानी गर्नुपर्ने व्यवस्था गरेपछि प्राधिकरणले निर्देशिका परिमार्जन गर्न लागेको हो।
पूर्वाधार क्षेत्रमा बिमा कम्पनीले गरेको लगानी सीमा नपुगेको हुनाले यसमा लगानीको क्षेत्र विस्तार हुने गरी निर्देशिका परिमार्जन गर्न लागिएको बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।
‘पूर्वाधार क्षेत्रमा बिमा कम्पनीको लगानी बढाउने गरी निर्देशिका परिमार्जन गर्न लागेका छौं,’ उनले क्यापिटल नेपालसँग भने, ‘हस्पिटल, विद्यालयलगायत अन्य केही पूर्वाधारका क्षेत्रमा लगानी गर्न दिइने गरी निर्देशिका परिमार्जन गर्न लागेका छौं।’
पूर्वाधारमा बिमा कम्पनीको लगानीे दायरा फराकिलो बनाइ पुसको पहिलो साताभित्र निर्देशिका परिमार्जन गरिसक्ने पौडेलले बताए।
निर्देशिका– २०७५ मा बिमा कम्पनीहरूले विभिन्न आठ क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था छ।
निर्देशिकामा सरकारको बचतपत्र र ऋणपत्रमा कम्पनीको कूल टेक्निकल रिजर्भको ५ प्रतिशत, पूर्वाधार बैंकको मुद्दतीमा ४० प्रतिशत, घरजग्गा व्यवसायमा ५ प्रतिशत र सूचीकृत कम्पनीको साधारण सेयरमा १० प्रतिशतसम्म लगानी गर्न सक्ने प्रावधान छ।
यसैगरी बिमा कम्पनीहरूले अग्राधिकार सेयरमा २० प्रतिशत, सूचीकृत कम्पनीका ऋणपत्रमा २० प्रतिशत, कृषि, पर्यटन र ऊर्जालगायतका पूर्वाधारमा २० प्रतिशत, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ५ प्रतिशत, विकास बैंकको मुद्दती निक्षेपमा २० प्रतिशत र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा कुल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ।
तर, बिमा कम्पनीले बैंक तथा वित्तीय संस्थाको अधिकांश पैसा मुद्दती निक्षेपमा लगानी भएको प्राधिकरणले जनाएको छ। बिमा कम्पनीको मुख्य आम्दानी बैंकहरुमा राखेको मुद्दतीबाट प्राप्त ब्याजबाट हुने गरेको छ।
बिमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ३ खर्ब ८५ अर्ब रुपैयाँ लगानी गरेका छन्। यो रकम कम्पनीहरूले लगानी गरेको कुल रकमको ७७ प्रतिशत हो । सो अवधिमा जीवन बिमा कम्पनीहरूले ४ खर्ब ९७ अर्ब रुपैयाँ लगानी गरेका छन।
जीवन बिमा कम्पनीले वाणिज्य बैंकको मुद्दती निक्षेपमा मात्र करिब ८५ अर्ब रुपैयाँ लगानी गरेका छन्।
बिमा कम्पनीले पूर्वाधार क्षेत्रमा भने लगानी न्यून छ। वाणिज्य बैंक र नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत लगानी गर्न सकिने व्यवस्था गरेको छ। तर, जीवन बिमा कम्पनीले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ६७ प्रतिशत लगानी गरेका छन्।
यस्तै पूर्वाधार बैंकमा १ प्रतिशत पनि लगानी गरेका छैन। विकास बैंकको मुद्दती निक्षेपमा ४३ अर्ब १२ करोड र वित्तीय संस्थाको मुद्दती निक्षेपमा ५ अर्ब ४७ करोड रुपैयाँ लगानी गरेको प्राधिकरणले जनाएको छ ।
जीवन बिमा कम्पनीले पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा २५ करोड लगानी गरेका छन्। नेपाल पूर्वाधार विकास बैंकमा भने पाँचवटा बिमा कम्पनीहरूले मात्रै लगानी गरेका छन्।
त्यस्तै, कम्पनीहरूले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ९ अर्ब ४५ करोड रुपैयाँ लगानी गरेका छन्। बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयरमा ३१ अर्ब ७४ करोड, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेन्चरमा २२ अर्ब ९७ करोड, कृषि, पर्यटन र जलस्रोतलगायतका पूर्वाधारमा ७ अर्ब १९ करोड रुपैयाँ लगानी भएको छ ।
म्युचुअल फन्ड र नागरिक लगानी कोषमा कम्पनीहरुले १ अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन्। बैंक तथा वित्तीय क्षेत्रमा तरलता समस्या बढेसँगै निक्षेप र कर्जाको ब्याज बढेको छ।
निक्षेपको ब्याज बढेपछि बिमा कम्पनीको लगानी बैंक तथा वित्तीय संस्थामा भएको देखिन्छ। ब्याजदर बढेकाले बिमा कम्पनीको आम्दानीमा थप सुधार आउने देखिएको छ। यसले गर्दा सेयरधनीले पाउने लाभांश पनि बढ्ने छ।
अन्य क्षेत्र जोखिम हुने भन्दै लगानी गर्न नचाहाने कम्पनीको लागि मुद्दती खाता उपयुक्त भएको छ। पूर्वाधार क्षेत्रमा भएको लगानीको प्रतिफल तत्काल नआउने हुँदा कम्पनीहरु लगानी गर्न नचाहाने जानकार बताउँछन्। बिमा कम्पनी व्यवस्थाअनुसार लगानी विविधीकरण नगरेको पौडेल बताउँछन्।
अधिकांश लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप, ऋणपत्र र सेयर बजारमा मात्र केन्द्रीत रहेको पाइन्छ। पूर्वाधार क्षेत्रमा कम्पनीहरूको लगानी एकदमै न्यून छ। पूर्वाधारका क्षेत्रमा पनि दायरा फराकिलो बनाएपछि कम्पनीले लगानी गर्नेमा विश्वस्त छौं, उनले भने।
सबै बिमा कम्पनीहरुले सीमाअनुसार विभिन्न क्षेत्रमा लगानी गर्ने गरेको मेट लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निर्मलकाजी श्रेष्ठले बताए। उनका अनुसार पूर्वाधारमा बिमा कम्पनीले धेरै लगानी नगरेका भए पनि नियामक निकायले तोकेको सीमा पूरा गरेका छन्।
‘सबैभन्दा कम नाफा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपबाट आउँछ,’ उनले भने, ‘नाफा तिर लाग्दा अन्य क्षेत्रमा लगानी बढ्नुपर्ने हो। बिमा कम्पनीले कम जोखिम लिन मुद्दतीमा लगानी गर्छन।’
बिमा कम्पनीले जोखिम कम हुने पूर्वाधारका क्षेत्रमा लगानी गरेको श्रेष्ठको भनाइ छ। बिमा उद्योगलाई सुरक्षित राख्नुपर्ने कम्पनीका अधिकारीको भनाइ छ।
‘एक्कासि दैविक प्रकोप आयो, कम्पनीको लगानी हाइड्रोपावरमा छ भने त्यसको सेयर बिक्री गरेर पैसा फिर्ता दिन्छु भन्यो भने त्यसको अर्थ नै रहेन,’ ती अधिकारीले भने, ‘चाँडो भुक्तानी गर्नुपर्छ त्यसैले कम जोखिम र सुरक्षित ठाँउमा लगानी गरिन्छ।’
त्यसैले बिमा कम्पनीको लगानी पूर्वाधार, कृषिमा कम देखिएको हो, उनले भने। ‘कम्पनीहरुले आफ्नो रणनीति बनाएर लगानी गर्छन,’ उनले भने, ‘कम्पनीले प्राथमिकताअनुसार सबैभन्दा सुरक्षित क्षेत्रमा लगानी गर्छन।’
इन्स्योरेन्स कम्पनीहरु सुरक्षित क्षेत्रमा लगानी गरी कम जोखिम लिन खोज्ने भएकाले यस्ता क्षेत्रमा लगानी कम देखिएको ती अधिकारीको भनाइ छ।