काठमाडौं। मन्त्रालयबीच समन्वय नहुँदा पूर्व–पश्चिम राजमार्गअन्र्तगत बुटवल–गोरुसिंगे–चनौटा खण्ड दुई लेनमात्रै बन्ने भएको छ।
अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच समन्वय हुन नसक्दा पूर्व–पश्चिम राजमार्ग कतै चार र कतै दुई लेन सडक बन्ने भएको हो। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले निर्माण गर्ने ७७ किलोमिटर लामो सडक दुई लेनको बन्न लागेको हो।
२०१८ सालमा दुई लेनमा निर्माण भएको राजमार्गलाई भौतिक मन्त्रालयअन्तर्गतको सडक विभागले २०७३ सालदेखि चार लेनमा विस्तार गर्ने योजना अगाडि सारेको छ। तर, २०७२ सालमा अर्थमन्त्री रामशरण महतको कार्यकालमा अर्थ मन्त्रालय र एमसिसीबीच ७७ किमी सडकलाई दुई लेनमै स्तरोन्नति गर्ने सम्झौता भएको थियो।
अहिले सोही सम्झौताअनुसार एमसिसीको नेपालस्थित मिलेनियम च्यालेन्ज एकाउन्ट विकास समिति (एमसिए नेपाल) ले सडक स्तरोन्नतिको ठेक्का आह्वान गर्न लागेको छ।
एमसीए नेपालका सूचना अधिकारी राजीव दाहालका अनुसार आगामी फागुनमा ७७ किमी सडकको स्तरोन्नति गर्न ठेक्का आह्वान हुँदैछ।
सडक विभाग र एमसिए नेपालको भनाइअनुसार कूल १ हजार २८ किलोमिटर लम्बाइको पूर्व–पश्चिम राजमार्गमा ७७ किमी भने दुई लेन र बाँकी ९ सय ५१ किलोमिटर चार लेनको बन्ने छ। अझ सहरी क्षेत्रमा आवश्यकताअनुसार ६ लेनमा सडक विस्तार हुनेछ।
दाहालका अनुसार दुई लेनको सडक व्यवस्थित र गुणस्तरीय बनाउने सम्झौता भएकाले एमसिए नेपालले चार लेनमा सडक विस्तार गर्दैन। ‘हामीले दुई लेनलाई व्यवस्थित गर्ने सम्झौता गरेका छौं, चार लेनमा विस्तार गर्ने योजना छैन,’ दाहालले क्यापिटल नेपालसँग भने।
७७ किलोमिटर सडक बनाउन ५ करोड २२ लाख ८५ हजार अमेरिकी डलर एमसिए नेपाल तथा नेपाल सरकारले २१ लाख डलर खर्च गर्नेछन्। करिब सवा ७ अर्ब रुपैयाँमा पूर्व–पश्चिम राजमार्गअन्तर्गतको दाङ क्षेत्रको ७७ किलोमिटर सडक बन्ने छ। तर, सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता भीमार्जुन अधिकारी भने सम्झौतामै त्रुटि भएको बताउँछन्।
‘सम्झौता गर्ने समयमा ख्याल गर्नुपथ्र्यो, अब सवारी चाप बढेर सरकारले आवश्यक ठान्यो भने एमसिएले बनाएको सडक दायाँबायाँ फेरि विस्तार गर्नुपर्छ। नभए दुई लेन सडकले नै काम चलाउनुपर्छ,’ उनले भने।
विभागले पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तार गर्न थालेको सात वर्ष भयो। दुई लेनको राजमार्गमा सवारी चाप बढेसँगै चार लेनमा विस्तार गर्न लागिएको सडक विभागले जनाएको छ।
राजमार्ग विस्तार गर्न विभागले आठ खण्ड बनाएर काम गर्दै आएको छ। तर, २०७३ सालमा पाँच वर्षभित्र विस्तारको काम सम्पन्न गर्ने लक्ष्य लिएको विभागले हालसम्म कुनै पनि खण्डमा लक्ष्य पूरा गर्न सकेको छैन।
भौतिक मन्त्रालयले सामान्य अवस्थामा चार लेन र सहरी क्षेत्रमा आवश्यकताअनुसार ६ लेनसम्म विस्तार गर्ने योजना लिएको छ। तर, सोही राजमार्गमा अर्थ मन्त्रालयले एमसिए नेपाललाई दुई लेनमै काम गर्न दिने गरी सम्झौता गरेको छ।
एसियन हाइवेका रूपमा विकास गर्न लागिएको उक्त राजमार्गको बुटवल–गोरुसिंगे–चनौटा खण्डको दाङमा पर्ने शिवखोलादेखि धानखोलासम्मको ७७ किलोमिटर दुई लेनलाई नै निरन्तरता दिन लागिएको हो।
एमसिए नेपालले सडक निर्माण गर्न ‘फूल डेफ्थ रिकभरी (एफडिआर)’ प्रविधि प्रयोग गर्ने जनाएको छ। उक्त प्रविधि नेपालमा प्रयोग गर्न लागिएको पहिलोपटक हो। एफडिआर प्रविधि भनेको पहिले प्रयोग गरिएका सबै सामान निकालेर कंक्रिट मिसाइ जलाएपछि लिक्विड बनाएर सडकमा प्रयोग गरिने प्रविधि हो। जसको प्रयोगले सडकको गुणस्तर राम्रो र लामो समयसम्म टिकाउ हुनेछ।
चार लेनको सडकमा दुई लेनको पुल!
एमसिए नेपालले बनाउने सडकमात्रै होइन, सडक विभाग आफैंले बनाउन लागेको मोटरेबल पुल पनि दुई लेनको छ। पूर्व–पश्चिम राजमार्गमा पर्ने चितवन नारायणी नदीमा दुई लेनको पुल बनाउन ठेक्का आह्वान भएको तीन महिना भइसक्यो।
नारायणीमा नेपालमै पहिलोपटक ‘सिग्नेचर ब्रिज’ निर्माण गर्न लागिएको छ। हाल सञ्चालनमा रहेको पुलले सवारी चाप धान्न नसकेपछि विभागले चार लेनको सडकमा दुई लेनको नयाँ पुल बनाउन लागेको हो।
उक्त पुलको डिजाइन र लागत अनुमान तयार भएको छैन। तै पनि गत कात्तिक २ मा विभागले पुल निर्माण आह्वान गरेको थियो। तर, नेपालमा पहिलोपटक बन्न लागेको सिग्नेचर ब्रिज निर्माणमा कुनै पनि निर्माण कम्पनीले आवेदन दिएका छैनन्। सोही कारण विभागले मंसिर २० मा फेरि ठेक्का आह्वान गरेको छ।
‘अहिले सञ्चालनमा रहेको पुललाई एकतर्फी बनाएपछि नयाँ पुल दुई लेनको भए पनि सवारी चाप धान्न सक्छ भनेर दुई लेनको पुल बनाउन लागिएको हो,’ उपमहानिर्देशक अधिकारी भन्छन्।