काठमाडौं । प्रस्तावित फुकोट–बेतान–दोधारा ४०० केभी डबल सर्किट भएको प्रसारण लाइन बनाउने जिम्मा भारतीय कम्पनीले पाएको छ । सारभूत रुपमा प्रभाग्राही सबैभन्दा कम दर मूल्यांकित भारतको कल्पतरु पावर ट्रान्समिसन लिमिटेडले सो प्रसारण लाइन बनाउने जिम्मेबारी पाउने भएको हो ।
आर्थिक एवं प्राविधिक रुपमा सबल देखिएपछि कल्पतरु बोलपत्रमा भाग लिन पाएको थियो । कल्पतरुले ७ अर्ब ९२ करोड रुपैयाँमा ४०० केभी डबल सर्किट भएको प्रसारण लाइन बनाउने जिम्मेबारी पाएको हो ।
जसअनुसार २ अर्ब २४ करोड २० लाख ४६ हजार रुपैयाँमा भुक्तानी हुने छ । यस्तै करिब ५ अर्ब ६९ करोड ९५ लाख रुपैयाँ (४ करोड ३६ लाख ८९ हजार डलर)मा भुक्तानी हुने विकासकर्ता राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले जनाएको छ ।
कल्पतरुले प्रस्तावित प्रसारण लाइनको डिजाइन, उपकरण आपूर्ति, जडान, परीक्षण र सञ्चालनको काम सम्पन्न गर्नुपर्ने सर्त छ । कल्पतरुले नेपालमा धेरै प्रसारण लाइनको काम गरिसकेको छ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले कल्पतरुसँग छिट्टै ठेक्का सम्झौता गर्नेछ । त्यसपछि प्रसारण लाइन पूर्वाधारको काम सुरु हुनेछ।
ग्रीड कम्पनीले बोलपत्र आह्रवान गर्दा फुकोट–बेतान–दोधारा प्रसारण लाइन बनाउन चीन र भारतका गरि तीन विदेशी कम्पनीले प्रस्ताव पेस गरेका थिए ।
चाइना इलेक्ट्रिक पावर इक्विपमेन्ट एन्ड टेक्नोलोजी कम्पनी लिमिटेड, कल्पतरु र ट्रान्सरेल लाइटिङ लिमिटेड भारतले प्रसारण लाइन बनाउन प्रस्ताव गरेको थिए । सबैभन्दा कम दर प्रस्ताव गरेपछि प्रसारण लाइन बनाउन भारतको कल्पतरु छानिएको हो । प्रस्तावित प्रसारण लाइनबाट २५०० देखि २६४७ मेगावाटसम्म बिजुली प्रवाह हुने छ । नेपालमा बन्न लागेको हालसम्मकै सबैभन्दा ठूलो प्रसारण लाइन हो ।
राष्ट्रिय प्रसारणले बेतनदेखि दोधारासम्म ३९ किलोमिटर लामो ४०० केभी डबल सर्किट लाइन बनाउन लागेको हो । जसअनुसार सुर्खेतको चौकुना गाउँपालिकामा प्रस्तावित बेतन सबस्टेसनदेखि कैलालीको बर्दगोरिया गाउँपालिकामा दोधारा सबस्टेसनसम्म सो लाइन बन्ने छ ।
कर्मचारी सञ्चय कोषले ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजना बनाउँदै छ । यो आयोजनाको बिजुली यही प्रसारण लाइनबाट प्रवाह हुनेछ ।
प्रसारण लाइनबाट २६४७ मेगावाट बिजुली प्रवाह हुनेछ । प्रसारण लाइनमा १२० वटा स्टिल टावर रहने प्रस्ताव गरिएको छ । प्रस्तावित प्रसारण लाइन २०८३ कात्तिकमा सक्ने लक्ष्य लिएको ग्रिड कम्पनीले जनाएको छ । यस्तै कम्पनीले कैलालीको बर्दगोरिया गाउँपालिकामा बन्ने सबस्टेसनदेखि कैलालीको भजनी नगरपालिकाको कर्मदेव गाउँ नेपाल–भारत सीमानासम्म ४०० केभी डबल सर्किट भएको प्रसारण लाइन बनाउने भएको छ ।
सो प्रसारण लाइनबाट २५०० मेगावाट बिजुली प्रवाह हुनेछ । लाइनको लम्बाइ २७ किलोमिटरको हुने कम्पनीले जनाएको छ । प्रसारण लाइनमा ९० वटा स्टिल टावर रहने छ । प्रसारण लाइन आयोजना २०८२ असोजभित्र सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।
यस्तै २५०० मेगावाट बिजुली प्रवाह हुने गरी फुकोटदेखि बेतनसम्म ४०० केभी डबल सर्किट भएको अर्को प्रसारण लाइन निर्माण हुने भएको छ । आयोजना कालिकोटको खाँडाचक्र गाउँपालिकामा प्रस्तावित फुकोट सबस्टेसनदेखि सुर्खेतको चौकुना गाउँपालिकामा बेतन सबस्टेसनसम्म ५५ किलोमिटर लामो लाइन हुने छ ।
१९४ वटा स्टिल टावर रहने लाइनको काम २०८३ मंसिरसम्म सक्ने लक्ष्य कम्पनीले लिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा बन्ने ठूला जलविद्युत आयोजनालाई लक्षित गरी कम्पनीले ४०० केभी प्रसारण लाइन बनाउन लागेको हो ।
प्रसारण लाइन भारतको सीमासम्म पुग्ने छ । भारतसँग जोड्न प्रसारण लाइन निर्माण हुन लागेको हो । यो लाइनबाट भारतमा बिजुली निर्यात गर्ने लक्ष्य छ । प्रसारण ग्रीड नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी हो ।