काठमाडौं। दुई वर्ष कोरोनाको महामारीले ग्रस्त बनाएको पर्यटकको आकर्षणको केन्द्र ठमेलमा अहिले पनि व्यापारले गति नलिएको व्यवसायीहरूको गुनासो छ। नोभेम्बरमा सुरु हुनुपर्ने अफसिजन १५ दिन अगाडि नै सुरु भएपछि थप गाह्रो भएको उनीहरूको भनाइ छ।
कोरोनाको समयमा मृतप्रायः रहेको ठमेलमा सेप्टेम्बर र नोभेम्बरमा व्यापारले गति लिएको र अहिले भने अफसिजन सुरु भएको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले बताए। व्यापार नभएकै कारण दुई वर्षदेखि रोकिएको ठमेलको पर्यटन व्यवसाय र त्यसमा आवद्ध व्यक्तिहरूको आर्थिक क्रियाकलाप असाध्यै अप्ठ्यारो अवस्थामा गुज्रिएको उनको भनाइ छ ।
कोरोना महामारीअघि एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिने गरेकामा कोरोनापछि भने पाँच लाख पर्यटक आएको सरकारी तथ्यांक उनले सुनाए। 'पहिलेको तुलनामा अहिले ५० प्रतिशतमात्रै पर्यटक भित्रिएका छन्,' उनले भने। राज्यबाट ठमेल पर्यटनको विकासका लागि केही सहयोग नभएको भन्दै उनले गुनासो गरे।
उपाध्यक्ष धमलाले भने, 'राज्यले नैतिक र आर्थिक सहयोग नगरे पनि पर्यटन व्यवसायमा आशाको त्यान्द्रा पलाएको छ।' धमलाले परिषद्ले अबको दुई वर्षभित्र सुन्दर ठमेल बनाउने लक्ष्य राखेर अहिले होर्डिङ बोर्डको व्यवस्थापनलाई निरन्तरता दिइरहेको बताए। पर्यटकीय क्षेत्रमा हुनुपर्ने न्यूनतम आधारभूत कुरा गरेर थप आधुनिकीकरण गर्ने परिषद्को लक्ष्य रहेको उनले सुनाए।
बाह्र वर्षदेखि ठमेलमा पस्मिनाको व्यवसाय गर्दै आएका टीकाराम नेपालले चुनावअघि व्यापार राम्रो भएको सुनाए। 'चुनावअघि घर फर्कनेले किनमेल गर्दा व्यापार राम्रो भएको थियो,' नेपालले भने, 'तर अहिले आशालाग्दो व्यापार छैन। भाडा तिर्न पनि गाह्रो भएको छ।' पर्यटकले सम्पूर्ण आवश्यक खर्च गरिसकेपछि बाँकी रहेको रकमले नेपाली सामान सम्झनाका लागि लैजाने गरेको उनको भनाइ छ। विदेशीले नेपालमा उत्पादन भएका सबै चिज मन पराउने उनले बताए।
नौ वर्षदेखि ठमेलमा हस्तकलाको व्यापार गर्दै आएकी देवकी न्यौपानेले कोरोना महामारीअघि दैनिक १० वटा माला बेचेको र अहिले दुइटा माला पनि बेच्न गाह्रो भएको बताइन्। अहिले व्यापार कम हुनुको कारण विश्वव्यापीरूपमा रहेको आर्थिक संकट भएको उनको भनाइ छ। न्यौपानेले पर्यटकको संख्या कम भएसँगै व्यापार पनि घटेको बताए।
चुनावअघि व्यापार राम्रो भए पनि अहिले खर्च धान्नै गाह्रो भएको फोटो व्यापारी देवकी भण्डारीले बताइन्। यस वर्ष नोभेम्बरको अन्तिममा सुरु हुनुपर्ने अफसिजन चाँडै सुरु भएको २२ वर्षदेखि ठमेलमा व्यापार गर्दै आएकी भण्डारीको गुनासो छ। पहिलाको तुलनामा यस वर्ष व्यापार ह्वात्तै घटेको भन्दै उनले भनिन्, 'पहिला दिनको आठदेखि दशसम्म फोटो बिक्री गरिन्थ्यो, अहिले दुई–तीनवटा पनि बेच्न मुस्किल छ, घर चलाउनै गाह्रो भएको छ।'
कोभिड–१९ को महामारीपछि व्यापारले विस्तारै गति लिन थालेको ट्रेडिङ सपका सञ्चालक सुशील पाण्डेले बताए। नेपालमा यो वर्ष गत वर्षको तुलनामा केही मात्रामा पर्यटक भित्रिएको भन्दै उनले अब फेब्रुअरीबाट व्यापार बढ्ने बताए। पाँच वर्षदेखि व्यापार गर्दै आएका पाण्डेले दैनिक रु १५ देखि ३० हजारसम्म व्यापार हुने सुनाए। अहिले उत्कृष्ट व्यापार नभए पनि दैनिकी चलाउन पुगिरहेको सुनाए।
पर्यटन व्यवसायी शिव लामिछानेले पर्यटन क्षेत्र राष्ट्रिय र अन्तर्राष्ट्रियसँग जोडिएको बताए। महामारीपछि ठमेलले पुनःजीवन पाउनेमा आफूहरू आशावादी रहेको भन्दै नेपालको पर्यटनको समग्र विकासका लागि चीन–नेपालको सीमा खुलाउनुपर्नेमा उनले जोड दिए । कोरोना महामारी अगाडिको तुलनामा ३० प्रतिशत पर्यटक मात्र देशमा भित्रिएको मण्डला ह्याण्डीक्राफ्टका सञ्चालक ध्रुव पाण्डेले सुनाए।
एयरलाइन्सको टिकट महँगो भएकाले विदेशी नेपाल नआएको पनि उनको टिप्पणी छ । पर्यटक नआउँदा स्वतः व्यापारमा कमी आउने उन भनाइ छ। कोरोना महामारी अगाडि वार्षिकरूपमा नेपालमा १२–१३ लाख पर्यटक आउने गरेको पनि उनले उल्लेख गरे। व्यापारीहरूले सामानको मूल्य आफूखुसी तोक्ने गरेको भन्दै उनले त्यसबारे सरकारले नियमन गर्नुपर्नेमा जोड दिए। रासस