काठमाडौं । उपत्यकाको बृहत्तर विकासका लागि दीर्घकालीन २० बर्ष गुरुयोजना बनाइने भएको छ । उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका भौतिक संरचना तथा विभिन्न पूर्वाधार निर्माण गर्न गुरुयोजना बनाउन लागिएको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ ।
उपत्यकाको आर्थिक, सामाजिक तथा भौतिक संरचनालाई व्यवस्थित बनाई आगामी २० वर्षमा आधुनिक र व्यवस्थित सहरको विकास गरी भौतिक विकास गुरुयोजना बनाएर उपत्यका विकास गर्ने उदेश्यअनुसार यस बर्ष ८ करोड रुपैयाँ खर्च गरिने प्रमुख भाइकाजी तिवारीले बताए ।
उनले गुरुयोजना छिट्टै बनिसक्ने र चालू बर्षदेखि नै गुरुयोजना कार्यान्वयनमा जाने बताए । ‘काठमाडौं उपत्यकाको बृहत्तर विकास गर्न २० बर्षे गुरुयोजना बनाउँदैछौं । चालू बर्षमा नै गुरुयोजना बनाएर लागू गर्छौं ।’ उनले भने ।
चालु आर्थिक वर्ष २०७६/०७७ मा उपत्यका भौतिक विकास गर्नको लागी ३ करोड बजेट विनियोजन भएको र थप बजेटका लागि अर्थ मन्त्रालयसँग माग गरिएको प्राधिकरणका प्रमुख तिवारीले जानकारी दिए ।
भौतिक विकास गुरुयोजना अध्ययन प्रक्रिया अगाडी बढाउन ८ करोड रकम आवश्यक पर्छ । अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेपछि मात्रै भौतिक विकास प्रक्रिया अघि बढ्ने जनाएको छ ।
प्राधिकरणले उपत्यकाभित्र विभिन्न चार ओटा नयाँ सहर बनाउने लक्ष्य लिएको छ । अहिले दुई ओटा सहरको (डीपीआर) गरी सरकारको स्वीकृत प्रक्रियामा अगाडी बढेको छ । तिहार पछिबाट निर्माण अघि बढाइने प्राधिकरणले जनाएको छ ।
अन्य २ ओटा सहरकोे आगामी तीन महिनामा भित्रमा(डीपीआर) तयार गरी उपत्यकाको १ लाख ३० हजार रोपनी जग्गामा चार ओटा नयाँ सहर निर्माण कार्य अगाडी बढाउने प्रत्रियामा अगाडी बढेको समेत प्रमुख तिवारीले बताए ।
प्राधिकरणले काठमाडौं उपत्यकाभित्रका सडक निर्माणका लागि जग्गाको मुआब्जा वितरण तथा निर्धारण गर्ने गरेको छ । सहरी विकास मन्त्रालय अन्र्तगत रहेको प्राधिकरणले काठमाडौं उपत्यका तीन जिल्लाको सहरी पूर्वाधार निर्माण र संरचना निर्माण गर्ने जिम्मा पाएको छ । तर, मुलुक संघीय संरचनामा गएपछि भने प्राधिकरण भूमिका खुम्चिएको छ ।
काठमाडौं उपत्यका भित्रका सडक, करिडोर, फोहोर व्यवस्थापन, सहरी संरचना, सहरी भवन निर्माण लगायतका भौतिक संरचना गर्ने जिम्मा प्राधिकरणले पाएपनि स्थानीय सरकारले नै यी काम गर्दै आएका छन् ।