काठमाडौं। राजधानीको इन्द्रचोकमा केन्द्रीय कार्यालय रहेको सुनौलो दियालो बचत तथा ऋण सहकारी समस्यामा परेपछि सञ्चालक सम्पर्कविहिन भएका छन्।
सहकारीका सञ्चालक कार्यालय बन्द गरेर सम्पर्कविहिन भएपछि बचतकर्ताले ४० करोड रुपैयाँ फिर्ताको माग गर्दै काठमाडौ महानगर सहकारी विभागमा उजुरी दिएका छन्।
सहकारीका ७० बढी बचतकर्ताले ४० करोड रुपैयाँको माग दाबीसहित उजुरी दिएको विभागका निर्देशक देवेन्द्र पोखरेलले क्यापिटल नेपाललाई बताए। संस्थाको केन्द्रीय कार्यालय इन्द्रचोक र सदस्य सेवा केन्द्र नयाँ बसपार्क र कोटेश्वरमा छ। तीन वटै शाखामा करिब ३ हजार बचतकर्ता छन्। जसमध्ये हालसम्म ७० जनाले मात्र विभागमा उजुरी दिएका छन्।
बाजुरा घर भई हाल कोटेश्वर बसोबास गर्दै आइरहेका रमेश थापाले ५० हजार रुपैयाँ मागदाबीसहित विभागमा उजुरी दिएका छन्।उनले श्रीमती र छोरीको नाममा सुनौलो दियालोमा दैनिक बचत गरिरहेको सुनाए। उनले आफ्नो छोरी दिव्यश्वरी विष्टको खातामा एक सय रुपैयाँ र श्रीमतीको खातामा दैनिक ५ सय रुपैयाँ बचत गर्दै आएको पीडित थापाले सुनाए।
‘श्रीमती र छोरीको नाममा सहकारीमा करिब ५० हजार जति पैसा जम्मा भएको छ,’ उनले भने, ‘पछिल्लो समय सहकारी समस्यामा भएको कुरा सुनेर पैसा झिक्न जाँदा कर्मचारी छैनन्।’ सहकारी भागेको खबर सुनेपछि आफू उजुरी दिन आएको थापा बताउँछन्।उनले छोरीको नाममा २०७९ बैसाख ९ गतेदेखि एक वर्षे अवधिको छोराछोरी बचत खातामा पैसा जम्मा गरिरहेका थिए। छोरीको नाममा दैनिक एक सय रुपैयाँ जम्मा गर्ने गरेको उनी सुनाउँछन्। उक्त बचतको वार्षिक ब्याज १० प्रतिशत छ।
व्यवस्थापकीय कमजोरी सुशासनको अभाव र बचतकर्ताको रकम दुरुपयोग हुँदा सहकारी संस्था समस्यामा पर्न थालेका छन्।काठमाडौं महानगरपालिका क्षेत्र अधिकारभित्र मात्र १ सय २५ बढी सहकारी समस्यामा देखिएका छन्। काठमाडौं महानगर मात्र नभएर चितवनलगायत सहरी क्षेत्रमा वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरु समस्यामा पर्न थालेका हुन्।
गाउँ घरतिर सहकारीको तुलनामा सहर केन्द्रित सहकारी सममस्यामा देखिन थालेको नेपाल बचत तथा ऋण सहकारी संघका अध्यक्ष परितोष पौड्यालले बताए। उनका अनुसार व्यवस्थापकीय रुपमा कमजोर सहकारी समस्यामा देखिन थालेका छन्। ‘धेरै कमाउने दाउमा सहकारी संस्थाले जथाभावी लगानी गर्न थाले,’ उनले भने, ‘कर्जाको कम्तीमा पनि ५० प्रतिशत उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्दछ।’
उनीहरु उत्पादन छोडेर नाफामुलक क्षेत्रमा लगानी गर्न थालेपछि अहिले समस्या देखिएको पौड्यालले बताए। सहकारी संस्थाहरुले छरिएर रहेको सानो सानो पुँजी एकत्रीत गरी उत्पादन बढावा गर्ने क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएका हुन्। सहकारीले खुद्रा पसल, दैनिक मजदुरी गर्ने, खाजा पसललगायतबाट दैनिक ५०/१०० रुपैयाँ उठाउने र सोही पैसा उनीहरुको व्यवसाय विस्तार गर्न कर्जा विस्तार गर्ने उद्देश्यले स्थापना भएका हुन्छन्।
तर, सहकारीलाई विशुद्ध व्यवसाय भई मनपरी कर्जा परिचालन गर्न थालेपछि समस्या देखिन थालेको पोखरेलले बताए। समस्याग्रस्त संस्थामा समस्या देखिन थालेका ले बचतकर्ताले सहकारीमा पैसा राख्दा धेरै कुरामा ख्याल गर्नुपर्ने पोखरेलको भनाइ छ। ‘सहकारीमा राम्रो ब्याज दिन्छ भन्दै आँखा बन्द गरी पैसा लगेर राख्नु हुँदैन,’ उनले भने, ‘व्यवस्थापन, सञ्चालक व्यवस्थापनमा भएका सञ्चालकहरुको पृष्ठभूममि नबुझेर मात्र पैसा बचत गर्ने गर्नुपर्छ।’
व्यवसायी तथा पूर्व सासंद इच्छाराज तामाङ अध्यक्ष भएको सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ सहकारी बचतकर्ता समस्यामा परेको छ। उसले बचतकर्ताको ७ अर्ब ३६ करोड रुपैयाँ फिर्ता गर्न बाँकी छ। सहकारीका सञ्चालक अहिले जेलमा छन्।