काठमाडौं। सिमेन्टको माग घटेपछि देशको ठूलो उद्योगमध्ये एक अर्घाखाँची सिमेन्ट लिमिटेडको व्यापारमा गिरावट आएको छ।उद्योगले सन् २०२२ मा ७ अर्ब ७० करोड १० लाख रूपैयाँ सञ्चालन आम्दानी गरेको छ। २०२१ मा उद्योगले ८ अर्ब ७० करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।
एक वर्षको अवधिमा अर्घाखाँचीको सञ्चालन आम्दानी १ अर्ब रुपैयाँ घटेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ। २०२० मा अर्घाखाँचीले ७ अर्ब ३७ करोड ९० लाख, २०१९ मा ९ अर्ब ८१ करोड ७० लाख र २०१८ मा ५ अर्ब ८९ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। उद्योगको अपरेटिङ प्रोफिट मार्जिन घटेर २०२० मा ८ प्रतिशतमा झरेको छ। गत वर्ष २३ प्रतिशत थियो।
सिमेन्टको मागमा विस्तारै आएको गिरावटले उद्योगको सञ्चालन आम्दानीमा असर गरेको छ। विश्वव्यापी रुपमा कोइला र इन्धनको मूल्य वृद्धिले उद्योगहरुको उत्पादन महँगिएकाे छ। यसको असर अर्घाखाँचीमा पनि परेको छ। उद्योगले ५ अर्ब २२ करोड ६० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ।
उद्योगको वार्षिक १० लाख टन क्लिङकर उत्पादन क्षमता रहेको छ। यस्तै उद्योगले आफ्नो ग्रान्डिङ युनिटबाट वार्षिक ८ लाख टन सिमेन्ट उत्पादन गर्दै आएको छ। उद्योगले अर्घाखाँची ब्राण्डमा ओपीसी र पीपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।
१९९८ मा डाइनेष्टि इन्डष्ट्रिज नेपाल प्राइभेट लिमिटेडको रुपमा स्थापना भएको थियो। सन् २०११ मा उद्योगको नाम परिवर्तन भएर अर्घाखाँची सिमेन्ट बनेको हो। २०२१ मा उद्योग पब्लिक लिमिटेडमा परिणत भएको छ। उद्योगले सर्वसाधारणलाई प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्न लागेको छ।
उद्योगमा सिद्धार्थ ग्रुप, मुरारका ग्रुप र केडिया अर्गनाइजेसन मुख्य संस्थापक हुन्। उद्योगको संस्थापक ग्रुपहरू उत्पादन, बैंक, बिमा र व्यापारमा लामो अनुभव रहेको छ।
यस्तै भारतको उमा सिमेन्ट इन्टरनेसनलको पनि अर्घाखाँचीमा लगानी रहेको छ। उद्योगमा सिद्धार्थको ३५, मुरारकाको ३०, केडियाको १७.५ र उमाको पनि १७.५ प्रतिशत हिस्सा रहेको छ। उद्योग रुपन्देहीकाे मैनाहियामा छ।
नेपालमा धेरै सिमेन्ट उद्योग भएकाले कडा प्रतिस्पर्धा रहेको छ। ५५ वटा सिमेन्ट र २० वटा क्लिङकर उद्योग सञ्चालनमा छन। केही ठूला उद्योग पाइपालाइनमा रहेका छन्।