काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाउने भएको छ। ‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञानः उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मुल नरासहित अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाउन लागिएको मन्त्रालयले जनाएको छ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २००० डिसेम्बर ४ मा प्रस्ताव नम्बर ५५ र ९३ लाई पारित गर्दै संसारभर ठूलो संख्यामा रहेका आप्रवासीको सरोकारको दस्तावेज पारित भएको १८ डिसेम्बरलाई मन्त्रालयले प्रत्येक वर्ष दिवसको रुपमा मनाउने गरेको छ।
मन्त्रालयका अनुसार देशभरी सप्ताहव्यापी रुपमा विभिन्न संघ, संस्था र प्रदेश तथा स्थानीयतहले डिसेम्बर १६ देखि २२ सम्म दिवस मनाउने छन्। यद्यपि मन्त्रालयले भने डिसेम्बर १८ अर्थात् पुस ३ गते विशेष कार्यक्रम गर्ने तयारी गरेको हो।
नेपालको अर्थतन्त्रलाई गतिशिल बनाउन वैदेशिक रोजगारीले महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि सीप र अनुभवलाई अधिकतम रुपमा परिचालन गर्ने नीति सरकारले लिएको छ।
आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीका श्रम सम्झौताको पुनरावलोकन गर्दै लगिने र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुलाई लक्ष्य गरी सीप अनुसारको व्यवसाय सञ्चालन र रोजगार सिर्जना गरी सामाजिक तथा आर्थिक पुनस्थापना कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।
कूल ग्राहस्थ उत्पादनमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान औसत करिव २५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। मौखिक रुपमा करिब ५० लाख नेपाली रोजगारीको लागि विदेशिएको भनिए पनि श्रम स्वीकृति लिएर २५ लाख श्रमिक विदेश गरएको मन्त्रालका सचिव एकनारायण अर्याले बताए।
साथै संसारभरी करिब २८ करोड मानिस वैदेशिक रोजगारीमा आवद्ध रहेका आइओएमद्वारा प्रकाशित विश्वा आप्रवासन प्रतिवेदन २०२२ मा उल्लेख छ। संयुक्त राष्ट्र संघले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तिनका परिवारको सदस्यहरुको अधिकार संरक्षण सम्बन्धी महासन्धि, १९९० पारित गर्यो जुन सन्धि सन् २००३ जुलाई १ देखि लागू भएको थियो।