काठमाडौं। बैंक अफ काठमाण्डु (बिओके) लाई मर्ज गर्न लागेको ग्लोबल आइएमई बैंकले कर्मचारी व्यवस्थापन गर्न तेस्रो भोलेन्टियरी रिटायर्डमेन्ट सर्भिस (भिआरएस) सुविधा ल्याएको छ। यसअघि बैंकले दोस्रो पटक भिआरएसमार्फत कर्मचारी व्यवस्थापन गरेको थियो।
बिओकेलाई मर्ज गर्ने भएपछि संख्या घटाउन ग्लोबलले आफ्ना कर्मचारीलाई भिआरएसमार्फत आकर्षक स्किम ल्याएको हो। यसअघि पहिलो पटक कमर्ज एन्ड ट्रष्ट बैंक र जनता बैंकलाई ग्लोबल आइएमईले मर्ज गराउँदा भिआरएस स्किम ल्याएको थियो।
ग्लोबलले न्यूनतम १० देखि बढीमा २५ महिनाको तलब सुविधा दिने गरी स्किम सार्वजनिक गरेको हो। यसअघिको भन्दा यो पटकको भिआरएस स्किम आकर्षक देखिएको छ।
विगतमा ग्लोबलले ल्याएको भिआरएस स्किमअन्तर्गत न्यूनतम १२ देखि १६ महिनाको तलब सुविधा दिइएको थियो। यस पटक ग्लोबलले १० महिनादेखि २५ महिनासम्मको सुविधा एकैपटक दिएर कर्मचारीलाई बिदाइ गर्न खोजेको हो।
उक्त भिआरएस एसिष्टेन्ट म्याजेनरदेखि व्यवस्थाकीय जिम्मेवारीमा बसेकाहरुसम्मले लिन सक्छन्। उक्त सुविधाका लागि ग्लोबल आइएमईमा ५ वर्ष सेवा अवधि पूरा गरेको हुनुपर्ने छ।
त्यसैगरी आकर्षक प्याकेजअन्तर्गत कर्मचारी सुविधाअन्तर्गत लिएको होमलोन र अटो लोनका लागि पनि विशेष प्याकेज ल्याएको छ। त्यसका साथै करको दायित्व पनि बैंक आफैले व्यहोर्ने भएको हो। पाँच वर्ष सेवा गरेका एसिष्टेन्ट म्यानेजर र वरिष्ठ व्यस्थापकलाई १० महिनाको तलब सुविधा दिने भएको छ।
ग्लोबलमा ५ देखि १० वर्ष सेवा गरेका सिनियर म्यानेजरसहितलाई १५ महिनाको तलबसुविधा, एसिष्टेन्ट म्यानेजर र म्यानेजरलाई १६ महिनाको, १० देखि १५ वर्ष बैंकमा काम गरेका सिनियर म्यानेजर र त्यस माथिकालाई २० महिनाको तलब सुविधा दिने भएको हो। त्यसैगरी एसिष्टेन्ट म्यानेजर र म्यानेजरलाई २१ महिनाको सुविधा दिने भएको छ।
१५ देखि २० वर्ष बैंकमा काम गरेका सिनियर म्यानेजर र त्यसमाथिका लागि २२ महिनाको र एसिष्टेन्ट म्यानेजर र म्यानेजरलाई २३ महिनाकको सुविधा दिने भएको हो। २० वर्षदेखि माथि काम गरेका सिनियर म्यानेजर र त्यसमाथिका लागि २४ महिनाको र एसिष्टेन्ट म्यानेजर र म्यानेजरलाई २५ महिनाको तलब सुविधा दिने भिआरएस लागू गरेको हो।