काठमाडौं। करारमा नियुक्त दुईजना ‘क्याबिन क्रु’ को रोजगारी नियमित गराउने सहमति भएसँगै निगममा जारी आन्दोलन मिलेको छ।
निगम व्यवस्थापनले क्याबिन क्रु आरती महर्जन र स्मिता गुमाजुको नियुक्तिलाई निरन्तरता दिने र नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार सबैलाई काममा लगाउने दुई पक्षीय सहमतिपछि आन्दोलन रोकिएको हो।
निगमका एक अधिकारीका अनुसार बिहीबार दिउँसो निगम कार्यालयमा भएको वार्तामा व्यवस्थापनका तर्फबाट गल्ती स्वीकार गर्दै हटाइएका ती दुईको नियुक्ति निरन्तरता गर्ने सहमतिपछि आन्दोलन मिलेको हो।
‘अहिले सबै सहमति भएपछि हामी विमानस्थलमा नियमित कामका लागि जाँदै छौं,’ एक क्याबिन क्रुले क्यापिटल नेपालसँग भनिन्, ‘व्यवस्थापनको सहज भूमिकाले सहमति जुटेको हो।’
अहिलेको अवस्था सिर्जना हुनुमा व्यवस्थापनको भन्दा पनि अप्रेसन विभागको लापरबाहीको कारण रहेको उनको भनाइ छ। आगामी दिनमा त्यस किसिमको कुनै गल्ती नगर्ने सहमतिसमेत भएको उनले बताइन्।
‘अब हामी नियमित उड्न विमानस्थलतर्फ लागिसकेका छौं र सबै उडान नियमित हुनेछ,’ उनले भनिन्।
निगम व्यवस्थापनले दिनरात उड्न लगाएको र आराम गर्ने समयसमेत नदिएपछि केही क्याबिन क्रु बिरामी परेकाले उडान प्रक्रिायमा सहभागी नहुने भन्दै नेपाल वायुसेवा क्याबिन क्रु संघले विज्ञप्ति जारी गरेको थियो।
क्याबिन क्रुको आन्दोलनका कारण विभिन्न गन्तव्यमा जाने उडान ढिला भएका थिए। अब सबै कुरा मिलेकाले नियमित उडान हुने निगमका एक अधिकारीले जानकारी दिए।