काठमाडौं। आर्थिक वर्ष २०७९/०८० को चौथो महिनामा डलर सञ्चिति बढेको छ। गत असारको तुलनामा कात्तिक मसान्तमा डलर सञ्चिति १ प्रतिशतले बढेको हो।
२०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको डलर सञ्चिती २०७९ कात्तिक मसान्तमा १.० प्रतिशतले बढेर ९ अर्ब ६३ करोड कायम भएको छ।
त्यसैगरी कूल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले बढेर १२ खर्ब ४६ अर्ब २७ करोड पुगेको छ। २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड थियो।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा ३.३ प्रतिशतले वढेर १० खर्ब ९१ अर्ब २२ करोड पुगेको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा २.७ प्रतिशतले घटेर १ खर्ब ५५ अर्ब ५ करोड कायम भएको छ। २०७९ कात्तिक मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०७९/८० को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
२०७९ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २५.७ प्रतिशत, ७०.० प्रतिशत र २२.४ प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यीअनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेको थियो।