काठमाडौं। अब मुलुकभरि सञ्चालन हुने ट्याक्सीको नम्बर प्लेट पहेँलो रङको हुनेछ। हाल सेतो प्लेटमा कालो अक्षरमा नम्बर उल्लेख गरिए पनि यातायात व्यवस्था विभागले ल्याएको नयाँ नियमअनुसार पहेँलो प्लेटमा कालो अक्षरको नम्बर रहने छ।
हाल नयाँ खरिद वा नामसारी गरिएका ट्याक्सीमा पहेँलो नम्बर प्लेट जडान भइसकेका छन्। जति पनि नयाँ खरिद वा नामसारी भएका छन् ती सबै ट्याक्सीमा पहेँलो नम्बर प्लेट राखिएको ट्याक्सी व्यवसायीको भनाइ छ।
विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुले तत्काल नयाँ खरिद र नामसारी गरेका सवारीसाधनलाई ‘इम्बोस्ड’ नम्बर अनिवार्य गरिएको र बिस्तारै सबै सवारीमा इम्बोस्ड नम्बर जडान गर्नुपर्ने बताए।
‘अहिले जति बिक्री भएका ट्याक्सी छन्, तिनमा अनिवार्य इम्बोस्ड नम्बर राखिएका छन् र ती सबै पहेँलो प्लेटमा छन्,’ पनेरुले क्यापिटल नेपालसँग भने।
विभागले तत्काल सरकारी कार्यालयलाई अनिवार्य र निजी तथा सार्वजनिक सवारीलाई भने नयाँ खरिद वा नामसारीका बेला अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने प्रावधान ल्याएको छ। यही प्रावधानअनुसार अहिले नामसारी अर्थात खरिद–बिक्री भएका ट्याक्सीमा भने नयाँ नम्बर प्लेट पहेँलो राख्न थालिएको छ।
विभागले नयाँ खरिद वा नामसारी गर्दा अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने नियम ल्याएसँगै ट्याक्सीमा पहेँलो नम्बर प्लेट हुने भएको हो। विभागले २०७९ जेठदेखि अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने नियम ल्याए पनि चौतर्फी विरोधपछि हटेको थियो।
नयाँ नम्बर प्लेट यातायात व्यवस्था कार्यालय, साना÷ठूला सवारी ललितपुरबाट दिँदै आएको छ। कार्यालय प्रमुख मदन पोखरेलले नम्बर प्लेट जडानका लागि आउने सबै ट्याक्सीलाई पहेँलो प्लेट दिँदै आएको बताए।
कस्तो हुन्छ इम्बोस्ड नम्बर प्लेट
विभागले जारी गरेको नियमअनुसार राष्ट्रपतिको सवारीमा नेपालको झण्डा, झण्डामुनि माथिबाट हल्का निलो रङ हुँदै तल गाढा निलो रङ, एनइपी अक्षर, एनइपी अक्षरमुनि लालिगुराँससहितको नेपालको निशान छाप हुनेछ।
सार्वजनिक सवारीमा पहेँलो प्लेटमा कालो, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर, सरकारीमा सेतो प्लेटमा रातो अक्षर, कुटनीतिकमा सेतो प्लेटमा निलो अक्षर रहने कानुनी व्यवस्था छ। त्यस्तै सबैप्रकारका सवारीसाधनका नम्बर प्लेट अगाडि लामो र पछाडि चर्तुभुज आकारको हुनेछ।
कति लाग्छ शुल्क?
इम्बोस्ड नम्बर प्लेट लागू गरेसँगै जडानका लागि निश्चित शुल्कसमेत तोकिएको छ। विभागका अनुसार तीनपांग्रे सवारीलाई २ हजार ९ सय, चारपांग्रेलाई ३ हजार २ सय र हेभी सवारीलाई नम्बर जडान गर्न ३ हजार ६ सय रुपैयाँ तथा मोटरसाइकललाई २ हजार ५ सय तिर्नुपर्ने छ। सवारीधनीले फारम भर्नुभन्दा पहिला राष्ट्रिय वाणिज्य बैंकमा रहेको विभागको खातामा रकम दाखिला गर्नुपर्छ।