काठमाडौं। पछिल्लो समय नेपालमा विद्युतीय (इलेक्ट्रिक) सवारीसाधनप्रति आकर्षण बढेको छ। इन्धन मूल्यवृद्धिसँगै विकल्पका रूपमा इलेक्ट्रिक कार प्रयोग गर्नेको संख्यासँगै आयातसमेत बढेको हो।
यातायात व्यवस्था कार्यालय, साना/ठूला सवारी ललितपुरले दिएको जानकारी अनुसार चालू आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा १ हजार २ सय ७४ थान इलेक्ट्रिक कार भित्रिएको छ। गत आर्थिक वर्षभरिमा भने १ हजार ७ सय ८३ कार भित्रिएको थियो।
बागमती प्रदेश ललितपुर कार्यालयमा दर्ता भएको संख्या आधार मान्ने हो भने विद्युतीय सवारी आयातको क्रम गत वर्षभन्दा यो वर्ष ह्वात्तै बढेको देखिन्छ। मासिक संख्या हेर्दा गत वर्षभन्दा यो वर्ष दोब्बरभन्दा बढी देखिन्छ।
२०७९ साउनमा ३ सय ३, भदौ ३ सय २७, असोज ३ सय ८ र कात्तिकमा ३ सय ३६ थान इलेक्ट्रिक कार दर्ता भएका छन्। यही अवधिमा २०७८ साउनमा १ सय २२, भदौ ५०, असोज १ सय ८८ र कात्तिकमा २ सय ४८ भित्रिएको थियो। यसैगरी मंसिरमा २ सय ५६, पुस १ सय १४, माघ १ सय ८१, फागुन १ सय ४७, चैत १ सय ३, वैशाख ५७, जेठ १ सय २९ र असारमा ३७ वटा दर्ता भएका थिए।
यो संख्या काठमाडौं भित्रिएका सवारीको मात्र हो।अहिले भौतिक तथा पूर्वाधार मन्त्रालय बागमती प्रदेशले हेटौंडामा पनि दर्ता गर्दै आएको छ।इलेक्ट्रिक गाडीका लागि आवश्यक चार्जिङ स्टेसन निर्माणमा सरकारले समेत तदारुकता दिएसँगै निजी तथा सार्वजनिक यातायातमा चासो बढेको व्यवसायीको भनाइ छ।
अहिले नेपाल विद्युत प्राधिकरणले ५१ वटा सार्वजनिक चार्जिङ स्टेसन बनाइरहेको छ। निजी तथा सार्वजनिक यातायात सहज हुने गरी निर्माण भइरहेका चार्जिङ स्टेसन केही महिनाभित्रै सञ्चालनमा ल्याउने प्राधिकरणको भनाइ छ।
बैंकमा तरलता अभावका कारण गाडी खरिदमा समस्या भएकाले पनि नयाँ गाडी किन्नेको संख्या अझै कम भएको दिगो क्लिन इनर्जीका अध्यक्ष राजन रायमाझी बताउँछन्। यदि बैंकले पर्याप्त मात्रामा लगानी गरिदिने हो भने विद्युतीय सवारीसाधन प्रयोग ह्वात्तै बढ्न सक्ने उनको भनाइ छ।अहिले केही बैंकहरूले निजी इलेक्ट्रिक गाडी खरिदका लागि ऋण व्यवस्था गर्दै आएका छन्। तर, सार्वजनिक यातायातमा भने अझै बैंकहरूले लगानी गर्न चासो नदेखाएको उनले बताए।
काठमाडौं उपत्यकाभित्र निजीभन्दा सार्वजनिक यातायातलाई विद्युतीयमा रूपान्तरण गर्न आवश्यक रहेको र बैंकहरूले त्यसप्रति गम्भीर भएर सोच्नुपर्ने बेला आएको रायमाझीको भनाइ छ। बैंकहरूले पनि सार्वजनिक यातायातमा लगानी गर्ने प्रतिबद्धता जनाउँदै आए पनि कार्यान्वयन भने गरेका छैनन्।
विद्युतीय सवारीसाधनमा सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन आए आयात संख्या अझै बढ्ने नाडा अटोमोबाइल्स एसोसिएसन नेपालका अध्यक्ष धु्रव थापाको भनाइ छ। विद्युतीय सवारीसाधनमा आमउपभोक्ताको आकर्षण बढे पनि सरकारी नीति अन्यौलमा रहेकाले पनि व्यवसायी अझै अलमल परेको उनले बताए।