काठमाडौं। पाेखराका अटो व्यवसायीले अटोमोबाइल व्यवसाय गर्ने वातावराण सिर्जना गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन्।
नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालको गण्डकी प्रदेशअन्तर्गत रहेको संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसाेसिएसनकाे आयाेजनामा अटो व्यवसायीले पोखराको मानवअधिकार चोकमा विरोध प्रदर्शन गरेका हुन्।
नाडाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको नेतृत्वमा भएको उक्त धर्ना कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, वस्तुगत संघ, कास्की मोटरसाइकल अटो एशोसिएशन, नेपाली युवा उद्यमी मञ्च पोखरा लगायतका संस्थाहरुले समेत समर्थन र एक्येवद्धता जनाएका थिए।
कार्यक्रममा नाडाका उपाध्यक्ष मोहनबाबु खड्का, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, एन वाइइएफका अध्यक्ष सुयस मल्ल लगायतले आन्दोलनको औचित्य र आवश्यकताबारे धारणा राखेका थिए।
व्यवसायीले अटो कर्जामा बढाइएको जोखिम भार घटाउनु पर्ने, नगद मार्जिनको व्यवस्था हटाउनु पर्ने, चालू पुँजी कर्जा मार्गदर्शन २०७९ हाललाई स्थगन गर्नुपर्ने, अटो कर्जाको सीमा बढाउनु पर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नु पर्ने जस्ता मागहरु राखेका थिए।