काठमाडौं। नारायणघाट–बुटवल सडक खण्ड विस्तार कार्य हाल थपिएको म्यादमा पनि सम्पन्न नहुने भएको छ। पूर्व–पश्चिम राजमार्गमा पर्ने उक्त खण्ड विस्तारको जिम्मेवारी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले लिएको छ।
२०७५ माघमा भएको सम्झौताअनुसार उक्त कम्पनीले काम गर्ने म्याद २०७९ साउन २२ सम्म थियो। म्यादभित्र १८ प्रतिशतमात्रै काम भएको थियो। साउनमा म्याद सकिएपछि सडक विभागले पहिलोपटक चाइना स्टेटका लागि गत भदौमा ३ सय ८६ दिन म्याद थप गरेको थियो।
म्याद थप गर्दा पनि निर्माण व्यवसायीले काममा तीव्रता नदिएपछि असोजमा विभागले ‘सम्झौताअनुसार काम नगरे ठेक्का किन नतोड्ने?’ भन्दै सूचना जारी गरेको थियो। सूचना सार्वजनिक भए पनि निर्माणको काममा तीव्रता आएको विभागले जनाएको छ।
उक्त खण्डमा हालसम्म २०.३३ प्रतिशत भौतिक र १५ प्रतिशत वित्तीय प्रगति भएको नाराणढघाट–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी धीरज ढकाल बताउँछन्।
उनका अनुसार निर्माण कम्पनीले मासिक चार प्रतिशत प्रगति गर्ने गरी काम गर्न थालेको छ। भदौमा थपिएको ३ सय ८६ दिनअनुसार अब चाइना कर्पोरेसनसँग करिब ९ महिना बाँकी छ। तर, अहिलेकै गतिमा काम गर्दै जाने हो भने आगामी भदौसम्म काम सम्पन्न हुँदैन।
‘म्याद थपिएपछि काममा तीव्रता बढाएको छ। महिनाको चार प्रतिशत काम गर्न खोजेको देखिन्छ,’ ढकालले क्यापिटल नेपालसँग भने, ‘तर, थपिएको म्यादमा मात्रै सडक विस्तार सम्पन्न हुँदैन होला, आवश्यकता हेरेर म्याद थप गर्नुपर्ने हुन्छ।’
२०१८ सालमा तत्कालीन राजा महेन्द्रले पूर्व–पश्चिम जोड्ने गरी दुई लेनको सडक निर्माण शिलान्यास गरेका थिए। राजा महेन्द्रले निर्माण गरेका कारण राजमार्गलाई महेन्द्र राजमार्गको नामले चिन्ने गरिन्छ। बुटवल–नारायणघाट खण्डमा दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्न २०७५ माघमा सडक विभाग र चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनबीच सम्झौता भएको थियो।
सम्झौताअनुसार साढे तीन वर्ष अर्थात २०७९ साउन २२ सम्म म्याद थियो। तर, साढे तीन वर्षको म्याद सकिँदासम्म चिनियाँ कम्पनीले १८ प्रतिशतमात्रै काम गरेको थियो।
निर्माण कम्पनीले ३ सय ८६ दिनमा काम सम्पन्न गर्ने सर्त राखेपछि विभागले म्याद थप गरेको हो। म्याद थप भएपछि १८ प्रतिशतमा सीमित रहेको सडक विस्तारको काम हाल २०.३३ प्रतिशत पुर्याएको हो। ‘जसरी पनि उसलाई काम गर्नुपर्ने बाध्यता छ, नगरे हामीले अर्को विकल्प अपनाउँछौं। त्यसैले कर्मचारी र कामदार थपेर अहिले काममा बढी खटिएको छ,’ सूचना अधिकारी ढकालले भने।
उक्त कम्पनीसँग ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गर्दा प्रक्रिया लामो हुने र निर्माण कार्यमै ढिलाइ हुने भएपछि विभागले चाइना स्टेटलाई नै निरन्तरता दिएको हो।
यसअघि सडक विस्तार सुस्त हुनुमा निर्माण सामग्री अभाव, कोरोना महामारी, बिजुलीको पोल र खानेपानी पाइप सार्ने काममा समस्या रहेको आयोजनाको पूर्वी खण्डका प्रमुख रमेशकुमार दृष्टिको भनाइ छ। कम्पनीले काम गर्ने स्थानमा अब समस्या हट्दै गएकाले निर्माण कार्यले तीव्रता पाउने उनको भनाइ छ।
प्याकेज एकमा गैंडाकोटदेखि दाउन्नेसम्म ६४.५ किलोमिटर र प्याकेज दुईमा दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटरमा सडक विस्तारको काम भइरहेको छ। नारायणघाट–बुटवल सडक खण्डमा कूल १ सय १३ किलोमिटर सडकलाई चार लेनमा विस्तार गर्नुपर्ने छ।
उक्त सडक खण्ड विस्तार गर्ने १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। जसमध्ये ८५ प्रतिशत रकम एसियाली विकास बैंक (एडिबी) ले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ। एडिबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो।
पूर्व–पश्चिम राजमार्ग कूल आठ खण्डमा विस्तार भइरहेको छ। सवारी चाप बढ्दै गएपछि सरकारले दुई लेनको सडकलाई २०७३ सालबाट चार लेनमा विस्तार गर्ने योजना बनाएको हो। उक्त समयमा पाँच वर्षभित्र पूर्व–पश्चिम राजमार्ग पूर्णरूपले चार लेनमा विस्तार गर्ने गरी आठ खण्डमा काम सुरु गरेको थियो। तर, हालसम्म पनि सरकारको योजना पूरा हुन सकेको छैन।