नेपालमा चल्ने सबै वायुसेवामा रहेका जहाज पुराना हुन्। पुराना जहाज बढी मर्मत गर्नुपर्छ। त्यसका लागि ठूलो खर्च हुन्छ। संसारका अधिकांश देशमा ठुल्ठूला दुइटा वायुसेवामात्र सबल रहन्छ र अरू खिइँदै–खिइँदै जान्छन्। २०/२५ वर्षदेखिको अवस्था हेर्दा त्यही किसिमको छ।
बुद्ध एयर स्थापना गर्दा त्यसबेलाको ठूलो वायुसेवा नेकोन एयरको ठाउँमा हामी केही पनि थिएनौं। तर, भाग्यका कारण भनौं वा व्यवस्थापनसँगै प्रविधिका कारण हामी टिक्न सफल भयौं, उनीहरू डुबे। नेकोनसँगै २० वटा वायुसेवा कम्पनी डुबिसकेका छन्।
त्यसकारण हामी अरूले के गर्छन् र कसरी चलाएका छन् भन्दा पनि आफू कसरी चल्ने भन्नेमा बढी ध्यान दिन्छौं। कोरोना महामारीका बेला आठ महिनासम्म जहाज ठप्प भयो। तर, पनि सावाँ–ब्याज र कर्मचारीलाई तलब दिन सफल भयौं। अहिले हामीसँग तिनुपर्ने कुनै पैसा बाँकी छैन।
अब संस्थालाई अझै संस्थागत बनाउन बोर्ड गठन गरेका छौं। बोर्डमा सबै विभागका निर्देशक सदस्य छन्। बुद्धका हरेक संरचना बोर्डको निर्णयअनुसार सञ्चालन भइरहेको छ। जसका कारण अहिलेसम्म हामीले सफलता हात पारेका हौं। अबको ‘मिसन’ भनेको ५० वर्ष कसरी पार गर्ने र त्यसपछिको भविष्य पनि निर्धारण गर्नेमा ध्यान केन्द्रित छ। अब हाम्रा सबै काम ‘सफ्टवेयर’ मार्फत अगाडि बढाउने हो।
साढे दुई दशकअघि ३० जना कर्मचारी र एकथान जहाजबाट सुरु गरेर अहिले १६ जहाज र १ हजार ५ सय कर्मचारीको ठूलो परिवार बनेको छ। यो चाहिँ सपनामा पनि चिताएका थिएनौं। मात्र, यी जहाज टिकाउन सकिन्छ कि सकिँदैन भन्ने मनमा लागिरहन्थ्यो। हामीले पहिलो जहाज १८ सिट क्षमतायुक्त बिचक्राफ्ट ४५ लाख अमेरिकी डलरमा किनेर ल्याएका थियौं।
जबकि, हाम्रो प्रतिस्पर्धी नेकोन एयरको जहाजको मूल्य ५ लाख डलरमात्र थियो, तर सिट क्षमता चाहिँ ४५ थियो। यसरी हेर्दा प्रतिस्पर्धामा रहेर हामी टिकाउन सक्छौं वा सक्दैनौं भन्ने सोचसाथ अगाडि बढ्दै हामी अहिलेको अवस्थासम्म आइपुगेका छौं।
वायुसेवा सुरु गर्दा ‘बस्नेतहरू बौलाए, अब सबै सम्पत्ति डुबाउने भए’ भन्नेहरू पनि थिए। दुई–तीन वर्ष त त्यस्तै हुने हो कि भन्ने पनि लागेको थियो। ३२ वर्षको उमेर हुँदा सुरु गरेकाले युवा जोश पनि थियो। धेरै बुद्धि पनि थिएन, ठोकिहालिन्छ नि भन्ने भएकाले पनि अगाडि बढ्दै गइयो।
अधिकांश विभागीय निर्देशक पनि युवा उमेरकै भएकाले पनि मेरो सोच र आँटलाई साथ दिँदै गएकाले सफल हुन सकेका हौं। यो सफलता मेरो मात्र होइन, समग्र ‘टिम’ को हो। समग्रमा म र मेरो टिम सन्तुष्ट छौं।
(बस्नेत बुद्ध एयरका प्रबन्ध निर्देशक हुन्।)