काठमाडौं । व्यवस्थापकीय कमजोरीका कारण दिनपरदिन सहकारी संस्थाहरु समस्यामा पर्दै गएका छन् । पछिल्लो समय राजधानीको कलंकीमा केन्द्रीय कार्यालय रहेको किरणोदय बहुउद्देश्य सहकारी संस्था लिमिटेड पनि समस्यामा परेको छ।
समस्यामा परेपछि संस्थाका सञ्चालक एकाएक गायब भएका छन्। सहकारीका सञ्चालक कार्यालय बन्द गरि गायब भएपछि बचतकर्ताले १ करोड रुपैयाँ फिर्ता गर्नुपर्ने माग गर्दै काठमाडौ महानगर सहकारी विभागमा उजुरी दर्ता गराएका छन् । बचतकर्ताले पैसा झिक्न जाँदा संस्थाका कर्मचारीले नै पैसा नभएको जानकारी दिएपछि उनीहरुले उजुरी दिएका हुन् ।
करिब ३०० जना बचतकर्ताले १ करोड रुपैयाँ बढीको माग दाबीसहित विभागमा उजुरी दिएको विभागका निर्देशक देवेन्द्र पोखरेलले क्यापिटल नेपाललाई बताए । लामो समयदेखि बचत रकम फिर्ता दिन बाहनाबाजी गरिरहेको सहकारीका कर्मचारीले नै अहिले पैसा नभएको भन्न थालेपछि बाध्य भएर उजुरी दिएको बचतकर्ताको गुनासो छ ।
बचत उठाइरहेको सहकारीले पैसा छैन भन्दा चकित पारेको बचतकर्ता रमेश थापा बताउँछन् । ‘श्रीमती र छोरीको नाममा बचत गरिरहेको थिए,’ उनले भने, ‘सानो काम परेर १० हजार रुपैयाँ मात्र झिक्न गएको थिए ।
कर्मचारीले पैसा छैन भने ।’ अन्य थुप्रै साथिहरु पनि पैसा नपाएर आउनु भएको रहेछ त्यसपछि सबै मिलेर उजुरी दर्ता गराएका हौं।' सहकारीका एक बचतकर्ता भन्छन्, ‘सुरुमा हाम्रो सहकारीमा पैसा राखिदिनुस् भनेर हात जोड्दै आउनुभएको थियो । अहिले मेरो पैसा फिर्ता दिनुस् भन्दै हात जोडिरहेको छु ।’
'उहाँहरुले हात जोड्दा सहकारीमा बचत गरे । तर, मैले हात जोडेर मेरो पैसा फिर्ता दिनुस् भन्दा उहाँहरुले पैसा फिर्ता दिनुहुँदैन,' उनले भने । पछिल्लो समय राष्ट्रियदेखि प्रदेश र स्थानीय तहमा रहेका सहकारी समस्यामा पर्न थालेका छन् । स्थानीय तहको तुलनामा सहर केन्द्रित सहकारी धेरै डुब्न थालेको छ ।
काठमाडौं महानगरभित्र करिब १२५ सहकारी संस्थाविरुद्ध उजुरी परेको छ । त्यसैगरी गोकर्णेश्वर नगरपालिका क्षेत्रमा एक दर्जन ललितपुर आधा दर्जन सहकारी विरुद्ध उजुरी परेको छ । सहर केन्द्रित व्यवसायीक रुपमा सञ्चालन भइरहेका सहकारी डुब्न थालेको जानकार बताउँछन् ।
सहकारी उपार्जनको साटो व्यवसायमा केन्द्रित हुँदा समस्यामा पर्न थालेको पोखरेलको भनाइ छ । उनका अनुसार सहर केन्द्रित सहकारी धेरै कमाउने उद्देश्यले घर, जग्गा, सेयरबजार लगायत क्षेत्रमा लगानी गर्दा समस्यामा देखिन थालेका हुन्। पहिलो समय तरलताको समस्याले सेयर बजार, घर जग्गामा मन्दी आउदा नाफा व्यवसायिक रुपमा मात्र सञ्चालन भइरहेका सहकारी समस्यामा देखिएका हुन् ।
सञ्चालकको टिम भएर सञ्चालन भइरहेका सहकारीमा भने धेरै समस्या नआएको छैन । सरकारले चालू आर्थिक वर्ष ०७९/०८० को बजेटमा सहकारीको कूल ५० प्रतिशत कर्जा उत्पादन क्षेत्रमा गर्नुपर्ने उल्लेख गरेको छ । अधिकांश सहकारीले त उत्पादनमूलक क्षेत्रमा लगानीसमेत गरेका छैनन् ।
सहर केन्द्रित सहकारी विशुद्ध बचतकर्ताबाट पैसा उठाउने र घर जग्गा, सेयर बजारलगायतका क्षेत्रमा लगानी गर्ने भएकाले यस्तो अवस्था आएको विभागमा कर्मचारी बताउँछन् । सहकारीका सञ्चालक सम्पर्कमा सहकारीका बचतकर्ताले काठमाडौं महानगरपालिका सहकारी विभाग उजुरी दिन थालेपछि सञ्चालक सम्पर्कमा आएका छन् ।
लामो समयदेखि सम्पर्कविहीन सञ्चालकविरुद्ध उजुरी परेपछि सम्पर्कमा आएको पोखरेलले बताए । उनले एक साता भित्र बचतकर्ताको पैसा फिर्ता गर्ने त्यसको लागि एक साता समय मागेको पोखरेलले बताए ।
‘सहकारीमा सञ्चालक सम्पर्कमा आएका छन्,’ उनले भने, ‘यसअघि समस्यामा देखिएका सहकारीहरु कुनैको पनि सञ्चालक सम्पर्कमा आएका छैनन् । तर, यस सहकारीका सञ्चालक सम्पर्कमा आएर बचतकर्ताको पैसा फिर्ता गर्ने भनेका छन् ।’ उनका अनुसार बचतकर्तालाई यो साताभित्र पैसा फिर्ता गर्ने बताएका छन् ।
पुस १ गतेसम्म बचतकर्ताको पैसा फिर्ता नगरे थप प्रक्रिया अगाडि बढाउने पोखरेलले बताए । यसअघि विभागले सहकारीका सञ्चालक सम्पर्कमा नआएको भन्दै सहकारीका सञ्चालकलाई समाउन भन्दै प्रहरीलाई पत्र पठाएको थियो ।