चौबिस वर्षदेखि हवाई सेवा सञ्चालन गर्नु कम्ति चुनौतीको विषय होइन। हाम्रो दक्षिणी छिमेकी भारतमै हेर्ने हो भने सरकारी वायुसेवा ‘एयर इन्डिया’ लगायत धेरै वायुसेवा कम्पनी बन्द भएका छन्। यो व्यापार भनेको विश्वकै सबैभन्दा बढी चुनौती र जोखिममूलक हो।
यति हुदाहुँदै नेपालका दुर्गम भेगमा विदेशी र अन्य वायुसेवा जाँदैनन्। उनीहरूलाई जबर्जस्ती जा भन्न पनि मिल्दैन। त्यसैले दुर्गम भेगका जनताको सेवाबाट माया मार्न नसकेरै हामीले उडानलाई निरन्तरता दिँदै आएका हौं।
उड्डयन सबैभन्दा जोखिमयुक्त क्षेत्र हो। प्रविधिसँग र प्राविधिक सावधानी अपनाएर गरिने व्यापार भएकाले धेरै नै उच्च जोखिम छ। होटल र अन्य क्षेत्र जोखिम कम भएका क्षेत्र हुन्। वायुसेवाकै कुरा गर्दा नेपालमा ३० देखि ४० वायुसेवा कम्पनी आए र ती सबै पलायन पनि भए। अहिले फेरि नयाँ–नयाँ वायुसेवा कम्पनी आइरहेका छन्। यो निरन्तर रहोस् भन्ने कामना हो।
उड्डयन व्यापार ‘ग्लामरस’ जस्तो देखिएकाले पनि धेरै मानिस यतातिर आकर्षित भएका देखिन्छन्। यस्तै अर्काथरी भनेका अरूको देखेर आउनेहरू हुन्। तर, यहाँ अनुभव भएका व्यक्ति कमै आउने गरेका छन्। हामीलाई पनि पहिले–पहिले उड्डयन क्षेत्रमा लगानी गरेर गल्ती गरियो कि भन्ने भान हुन्थ्यो, र अहिले पनि हुन्छ। पर्यटन विकासका लागि उड्डयन अतिआवश्यक क्षेत्र हो। सोही कारण पनि अहिलेसम्म निरन्तरता दिँदै आएका हौं।
हिमाली भेगका जनताले सडक यातायात पहुँच नहुँदा पाएको दुःखलाई हवाई यातायातमार्फत जोड्ने उद्देश्यले वायुसेवा कम्पनी सञ्चालनलाई निरन्तरता दिइरहेका छौं। त्यसबाहेक हामी आफैं हिमाल भेगका बासिन्दा भएका कारण आफ्नो क्षेत्रमात्र नभई समग्र दुर्गम भेगका जनतालाई पनि यातायात सुविधा दिनकै लागि हामीले हाम्रा उडान निरन्तरता दिँदै आएका छौं। यहाँ हामीले जति कमाएका छौं, सबै यहीँ लगानी गरेका छौं।
नयाँ व्यवसायीलाई उड्डयन व्ययवसायमा लगानी गरेपछि डुबिन्छ भन्ने ज्ञान नै छैन। यो क्षेत्रमा लगानी गर्नुभन्दा अरू नै क्षेत्रमा लगानी गर्नू भनेर हामीले लामो समयदेखि भन्दै आएको छौं। मैले मेरै समुदायका केही व्यक्तिलाई पनि भनेको छु। उड्डयन (एभिएसन) क्षेत्र भनेको ‘निल्नु न ओकल्नु’ जस्तो हो। तर, उनीहरूले हामीले भनेको मानेनन्। उल्टै, ‘आफूले मात्रै एकछत्र राज गर्न खोजेको’ भन्ने आरोप लगाए। पछि व्यवसाय डुबेपछि ‘तपाईंले भन्नुभएको कुरा ठिक रहेछ’ भने।
यो पनि पढ्नुस् :पर्यटन पूर्वाधारमा सरकारको लगानी छैन, डलर खोजेर मात्रै हुन्छ ?
सन्तुष्टिको त कुरै छाडौं पर्यटन क्षेत्रमा प्रवेश गरेर ठूलो गल्ती गरिएछ भन्ने लाग्छ। पर्यटन क्षेत्रको विकाससँगै दुर्गम क्षेत्रसँग हवाई यातायातलाई जोड्यौं। जोखिम मोलेर हालसम्म निरन्तर दुर्गम क्षेत्रमा उडान गरिरहेका छौं। १८ वर्षदेखि तारा एयरले घाटा खाएरै भए पनि निरन्तर कर्णाली प्रदेशमा उडान भर्दै आएको छ। यी कुरा कर्णालीवासीले बुझ्दैनन्। र, सरकारले पनि बुझ्ने प्रयास गरेको छैन। यसमा हामीलाई दुःख लागेको छ।
(शेर्पा यती एयरलाइन्स र तारा एयरका कार्यकारी अध्यक्ष हुन्।)