यतिबेला नेपालमात्र नभएर संसारभरि समस्या छ। समय चुनौतीपूर्ण छ। अमेरिकाको कुरा गर्दा त्यहाँको रेट कति गुणा बढिरहेको छ। पोलिसी रेट ०.२५ बाट ४.२५ पुगेको स्थिति छ। मूल्यवृद्धिले पनि संसारभरि नै गाँजेको छ।
यस्तो अवस्थामा हामीले पनि केही सहनुपर्छ। यस्तो बेलामा पनि हाम्रो अर्थतन्त्रमा केही राम्रा पक्ष पनि छन्। तर, ती कुरा बाहिर आउँदैनन्। हाम्रो अर्थतन्त्रमा एकखालको समस्या छ। संरचनागत समस्या छ। हामीले मेन ड्राइभर रेमिट्यान्सलाई बनाइरहेका छौं। त्यसबाट सिफ्ट भएर उत्पादनमा जानुपर्ने छ। आन्तरिक उत्पादनमा जानुपर्ने हो। प्रयास पनि भइरहेको छ।
विभिन्न समस्याबीच यो वर्ष केही उपलब्धी पनि हासिल भएका छन्। त्यसमा नीतिगत योगदान पनि छ। बैंक तथा वित्तीय संस्था पनि धेरै ठाउँमा आइरहेका छन्। दुई वर्षअघि करिब ९० अर्ब दोहोरो गणना भएको निक्षेपमा गत वर्ष असर पुग्यो। त्यसलाई अहिले हटाएका छौं। त्यसैगरी गत वर्ष सिडि लगायतका केही कुरामा प्रेसर पर्यो। अहिले त्यो पनि ठाउँमा आएको छ। यतिबेला ५ अर्बमात्र एसएलएफ आउट स्ट्यान्डिङ छ। जुन विगतमा बैंकहरूले राष्ट्र बैंकबाट ३ खर्ब लिएका थिए।
हाल अन्तरबैंक रेट ७.०७ छ। यो वर्षको सुरुमा अन्तरबैंक रेट ८.५० पुगेको थियो। यसले बजारमा तरलता सुध्रिँदै गइरहेको देखाउँछ। यसरी बैंक रेट घट्नुले सुधार भइरहेको प्रष्ट हुन्छ। त्यसैगरी सुधारका कुरा भइरहेका छन्। तर, बाहिर देखिएका छैनन्। बाहिर ऋणीले थप ऋण नपाएको कुरा आइरहेको छ। हामी कहाँ ऋणमाथि ऋण दिने कल्चर बनाएका छौं। नयाँ ऋणी होइन। ऋणीको व्यवसाय विस्तार हुनुपर्दैन? ऋण चाहिँ थपिरहन्छ। हाम्रो सिस्टम यस्तो छ।
अहिले थप ऋण नपाएको कुरा बाहिर आएको हो। यो कुरा बैंकहरूले पनि बताइदिनुपर्छ, स्थिति यो हो भनेर। ऋणीले ऋण त लिनुपर्छ तर साइकल हुनुपर्यो नि होइन? बैंकहरूले पनि हिजो ऋण लिनेलाई थप्ने र ब्याज उठाएर आम्दानी गरिरहेका छन्। ती दिन हामीले हटाउँदै गइरहेका छौं। अप्ठेरो अवस्थामा चुनौती त हुन्छ। चुनौती व्यवस्थित गर्दै अगाडि बढ्छौं।
(नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारीले नेपाल बैंकर्स संघको ३६औं साधारणसभामा व्यक्त गरेका विचारको सम्पादित अंश।)