काठमाडौं। स्मार्टफोन निर्माता कम्पनी साओमीले दुई भेरियन्टमा नयाँ मोडेलको मोबाइल फोन सार्वजनिक गरेको छ। चिनियाँ कम्पनी साओमीले आफ्नो फ्ल्यागशिप सिरिजअन्तर्गत 'साओमी १३' र 'साओमी १३ प्रो' चिनियाँ बजारमा सार्वजनिक गरेको हो।
सार्वजनिक भएको साओमी १३ एन्ड्रोइड १३ र मीयूआई १४ मा आधारित फोन हो। यसमा ६.३६ इन्चको ओएलइडी डिस्प्ले छ। यस फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १० मेगापिक्सलेको टेलिफोटो क्यामेरा र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा छ।
कम्पनीकाअनुसार ४ हजार ५०० एमएएच क्षमताको ब्याट्री समावेश रहेको यस फोनलाई ५० वाटको वायरलेस चार्जरले ४८ मिनेटमा फुल चार्ज गर्छ। त्यस्तै यस फोनसँगै उपलब्ध ६७ वाट चार्जरले ३८ मिनेटमा फुल चार्ज गर्न सक्छ।
फोनमा १० वाट रिभर्स वायरलेस चार्जर छ। साओमी १३ को ८/१२८ जीबी भेरियन्टको मूल्य ३,९९९ युआन (करिब ७५ हजार ५०० रुपैयाँ) छ। त्यस्तै ८/२५६ जीबी भेरियन्टको मूल्य र १२/२५६ जीबी भेरियन्टको मूल्य क्रमशः ४,२९९ युआन (करिब ८१ हजार १६० रुपैयाँ) र ४,५९९ युआन (करिब ८६ हजार ८३० रुपैयाँ) छ।
त्यस्तै साओमी १३ प्रो एन्ड्रोइड १३ र मीयूआई १४ मा आधारित छ। साओमी १३ प्रोमा ५० मेगापिक्सेलका तीन वटा रियर क्यामेरा छन्। यस मोडेलको अर्को ५० मेगापिक्सेल सेन्सरमा ७५ एमएम टेलिफोटो लेन्स समावेश छ। ४ हजार ८२० एमएएच ब्याट्री क्षमता भएको फोनमा १० वाट रिभर्स वायरलेस चार्जिङ, ५० वाट वायरलेस चार्जिङ र १२० वाट क्षमताको चार्जर छ। उक्त चार्जरले १९ मिनेटमै फोन फुल चार्ज गर्ने कम्पनीले बताएको छ।
८ जीबी, १२ जीबी र्याम भेरियन्टमा उपलब्ध यस मोडेल १२८ जीबी, २५६ जीबी र ५१२ जीबी इन्टर्नल स्टोरेज भरियन्टमा उपलब्ध छ। सेल्फी पारखीका लागि यस फोनमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ। सोओमी १३ प्रो को ८/१२८ जीबी भर्सनको मूल्य ४,९९९ युआन (करिब ९४ हजार ३८० रुपैयाँ) र १२/५१२ जीबी भर्सनको मूल्य ६,२९९ युआन (करिब एक लाख १८ हजार ९२०) रहेको छ।