इलाम। पछिल्लो समय इलाममा समेत व्यवसायिक एवोकाडो (घीउ फल)को खेती गर्न थालिएको छ। बर्सेनि उत्पादन वृद्धिसँगै उत्ति नै खपत हुने गर्छ। मागअनुसार पुर्याउन नसकेकाे व्यवसायी बताउँछन्।
निकै महँगो फलको सूचीमा पर्ने एवाेकाडाे इलामका प्रायः गाउँमा उत्पादन हुन्छ। व्यावसायिक उत्पादन सुरू भने इलामको रोङ गाउँपालिकादेखि भएको हो। जिल्लामा नै पहिलो पटक उक्त गाउँपालिकाको सलकपुरमा बिरूवा रोप्न थालिएको छ। विसं २०४५ मा पहिलो पटक एवोकाडोको बिरुवा रोप्न थालिएको जानकार बताउँछन्।
सुरू-सुरुमा स्वादसमेत धेरैलाई मन पर्दैनथ्यो र तर पछिल्लो समय स्वास्थ्यका लागि राम्रो मानिएकाले फल उपभोग गर्नेको संख्या बढ्दै गएकाे छ। हाल बोटमा नै आएर व्यापारीले मोलमोलाई गरेर खरिद गर्न थालेपछि गाउँमा फुटकर रूपमा बिक्रीसमेत हुँदैन। यसको माग व्यापक वृद्धि हुँदै गएकाले छिटो सकिने गरेको सलकपुरका किसान इश्वरी अधिकारीले बताए। उनका अनुसार गतवर्ष दुई बोटमा जेनेतेन ८० किलो उत्पादन भएको थियो। यसवर्ष सोही बोटमा करिब २ सय ५० किलो उत्पादन भएको छ।
बोटबाट नै प्रतिकिलो २ सयमा खरिद बिक्री हुने यो फल नेपालीले मात्र होइन नजिकै रहेको छिमेकी देश भारतबाट आउने पाहुनाले समेत खरिद गरेर लैजाने गरेको किसानको भनाइ छ। विभिन्न देशकै पनि धेरै स्थानबाट माग बढ्दै गएको अधिकारी एग्रो बबना कटेजका सञ्चालक याम अधिकारीले बताए।
उनले गएको वर्षभन्दा यस वर्ष उत्पादन वृद्धि भएको बताए। साना बिरुवा रोप्ने क्रम बढिरहेकाले पनि बर्सेनि यसको उत्पादनमा वृद्धि हुँदै गएको छ। पहिला स्थानीय समाजसेवी स्वरोमस अधिकारीको बगानमा २ सय वटा मात्र बिरुवा थिए। तिनै बोटबाट गाउँमा सामान्य चाख्न पुग्थ्यो। हाल उत्पादन र मागसमेत बढेको छ। अहिले गाउँभर प्रायः सबैको बगानमा यसको उत्पादन भइरहेको छ, तर पनि खास बजार पुर्याउन नै नपरेको किसान कल्पना भण्डारीले बताइन्। उनले समेत यसको व्यवसायिक उत्पादन गर्दै आएका छन्। रोङ गाउँपालिका झापासँग नजिक रहेका कारण पनि यहाँबाट धेरै फलको कारोबार हुने गर्छ।
अत्यधिक पौष्टिक र प्रोटिनयुक्त यो फल सुरूमा चाना काटेर रोटीमा दलेर खाने गरिएको भए पनि अहिले यसको अतिरिक्त जुस बनाएर समेत खाने गरिएको छ। करिब दुई वर्ष अघि रोङ गाउपालिकाले किसानको मागअनुसार अनुदानमा बिरुवासमेत वितरण गरेको स्थानीय पत्रकार गोविन्द पौडेलले बताए।
उनले गाउँमा यसको व्यावसायिक उत्पादन गर्ने किसानको संख्यासमेत वृद्धि हुँदै गएको बताए। दर्जनौँ परिकार बनाउन सकिने एवोकाडो एउटै बोटमा चार/पाँच सय किलोसम्म फल्ने गर्छ। रोङ गाउँपालिकासहित इलाम नगरपालिकालगायत जिल्लाभरी नै यसको उत्पादन सुरू भएको छ। व्यावसायिक उत्पादन गर्ने किसानको संख्या भने थोरै छ।
जिल्ला वन कार्यालय इलामले समेत गएको वर्ष र यस वर्ष किसानलाई बिरुवा वितरण गरेको छ। यो फल पनि विभिन्न जातको हुने गरेको छ। जोखेर नै कारोबार हुने गरेको भए पनि सानो फलको कम मूल्य र ठूलो फलको उच्च मूल्य हुने गरेको छ।
यसको प्रतिकिलो एक पचासदेखि दुई सयसम्म कारोबार भइरहेको छ। खास स्वादमा नौनी घीउ जस्तो हुने गरेको छ। लाम्चो, डल्लो तथा विभिन्न साइजमा फल्ने यो फल धेरैलाई नयाँसमेत लाग्ने गरेको छ। यस मौसममा खानयोग्य हुने यो फल भण्डारण गर्ने हो भने पछि यसको मूल्य अझ उच्च हुने किसानको भनाइ छ। रासस