काठमाडौं। गठबन्धन दलकै सरकार बन्ने/नबन्ने टुंगो नलाग्दै अर्थ मन्त्रालयको बागडोर सम्हाल्न प्रतिस्पर्धा सुरू भएको छ। यसका लागि महाशक्ति राष्ट्र अमेरिका र दक्षिणी छिमेकी भारतले ‘लबिङ’ सुरू गरेका छन्।
नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका र समानुपातिक तर्फका सांसद प्रकाशशरण महतलाई अर्थमन्त्री बनाउन अमेरिकाले लबिङ गरिरहेको छ। उता, नवलपरासी पश्चिम-१ बाट प्रत्यक्ष निर्वाचित कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेपालका एकमात्र अमेरिकी डलर अर्बपति विनोद चौधरीलाई अर्थमन्त्री बनाउन भारतीय पक्षले बालुवाटारमा दबाब बढाएको छ।
कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन बनाएर निर्वाचनमा होमिँदा पनि पूर्णबहुमत आउन सकेन। सरकार बनाउन बहुमत पुर्याउन छैठौं दलको खोजी जारी छ। तर, गठबन्धन दलमै रहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको पहिलो नेतृत्व आफूले गर्ने दाबी गरिरहेका छन्।
यता, कांग्रेसभित्रै संसदीय दलमा महामन्त्री गगन थापाले प्रतिस्पर्धा गर्ने भएका छन्। यस्तो बेला सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो नहुँदा पनि अर्थ मन्त्रालयको जिम्मेवारी भने कांग्रेसले लिनुपर्ने र त्यसका लागि आ–आफ्ना पक्षका व्यक्ति अर्थमन्त्रीमा ल्याउनुपर्ने दबाब बालुवाटारमाथि भारत र अमेरिकाले दिइरहेका छन्।
अर्थ मन्त्रालयमा लैजान खोजिएका दुवैजना कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवानिकट हुन्। दुवैलाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा खेमाले रुचाउँदैनन्। देउवा नेतृत्वमा गत वर्ष मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट पास गराएपछि आफ्नो पक्षका अर्थमन्त्री भए एमसिसीलगायत अन्य कार्यक्रम सहजसाथ लागू गर्न सकिने विश्वासमा अमेरिका छ।
महतले अमेरिकाको इलिनोइस राज्यस्थित साउदर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। यसअघि उनले परराष्ट्र र ऊर्जामन्त्री भएर काम गरिसकेका छन्। चौधरीलाई फोर्ब्स पत्रिकाले नेपालका तर्फबाट एकमात्र डलर अर्बपतिका रूपमा केही वर्षदेखि सूचीकृत गर्दै आएको छ।
२०७० को संविधानसभा चुनावमा नेकपा (एमाले) बाट समानुपातिक सांसद बनेका चौधरी २०७४ मा कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए। चौधरीले २०७८ असारमा देउवा नेतृत्वमा सरकार बनेसँगै मन्त्रीको आकांक्षा राखेका थिए। तर, परिस्थिति र गठबन्धनबीच सामाञ्जस्य नहुँदा उनी मन्त्री बन्न सकेनन्।
प्रत्यक्ष निर्वाचित भएर आएसँगै मन्त्रीको आंकाक्षा राख्नु अनौठो नरहेको र देशलाई सेवा गर्ने अवसरका रूपमा प्रयोग गर्ने भन्दै चौधरीले आफ्ना अभिव्यक्ति दिँदै आएका छन्। पछिल्लो समय चौधरीले अर्थव्यवस्थाका विषयमा पनि जानकारी राख्दै आएका छन्। फोर्ब्सले डलर अर्बपतिमा सूचीकृत गरेसँगै चौधरीको अन्तर्राष्ट्रिय ख्याति बढ्दै गएको छ।
खासगरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग चौधरीको घनिष्ठ सम्बन्ध छ। नेपालका कतिपय नेता तथा उद्यमी–व्यवसायीलाई भारतीय प्रधानमन्त्री मोदीसँग भेट गराउन चौधरीले उल्लेखनीय भूमिका खेल्दै आएका छन्।
त्यसैगरी महतले परराष्ट्रमन्त्री हुँदा आफ्नो सम्बन्ध विस्तार गर्न भूमिका खेलेका थिए। अर्थशास्त्रकै विद्यार्थी भएको, वैदेशिक मामलामा जानकार रहेको र विश्व परिवेश तथा आन्तरिक अर्थतन्त्रबारे जानकार रहेकाले अर्थमन्त्रीको जिम्मेवारी सहजसाथ बहन गर्न सकिने भनेर अमेरिकाले लबिङ गरिरहेको छ।
संस्थापन पक्षकै दुईबीच अर्थमन्त्री बन्ने होड चलिरहँदा पूर्वअर्थमन्त्री तथा वर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणा, परराष्ट्रमन्त्री नारायण खड्कालगायत पनि शक्तिकेन्द्र धाइरहेका छन्।
प्रधानमन्त्री देउवाको आशिर्वाद चौधरी र महत दुवैलाई रहेको बालुवाटार स्रोतको भनाइ छ। ‘तर, अन्तिम समयमा कसले बाजी मार्छ भन्न सकिने अवस्था छैन,’ बालुवाटार स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘अझै सरकार कसको नेतृत्वमा बन्छ र सरकारको नेतृत्व गर्नेलाई कुन शक्ति केन्द्रको बढी दबाब पर्छ, उसलै अर्थ मन्त्रालयको बागडोर सम्हाल्ने निश्चित छ।’