हरेक मानिसको सोच फरक हुन्छ। जसलाई जसरी सन्तुष्टि मिल्छ, त्यसैगरी जीवन निर्वाह गर्ने गर्छन्। आफू जन्मे–हुर्केको माटोको माया जोकोहीलाई पनि हुन्छ। कतिले देखाउँछन्, कतिले चटक्कै माया पनि मार्छन्। विविध कारण मुलुक नै छाडेका र नागरिकता त्यागेर विदेशी भूमिमै स्थापित नेपाली धेरै छन्।
तर, उनीहरूको जन्मभूमिप्रतिको माया कम भएको देखिँदैन। प्रत्यक्ष वा अप्रत्यक्ष त्यस्ता गैरआवासीय नेपालीको लगाव, झुकाव नेपाली भूमिमा देखिएको हुन्छ। तिनैभित्रका एक हुन्– सोनाम लामा। मुस्ताङ मुक्तिनाथमा जन्मिएका लामा साढे दुई दशकदेखि अमेरिका बस्दै आएका छन्।
उनी नेपाली मूलका अमेरिकी हुन्। अमेरिका जाने, व्यवस्थित बस्ने र आरामदायी जीवन बिताउन चाहने धेरै छन्। लामा नेपालमा स्थापित भइसक्दा पनि यहाँको शैक्षिक र राजनैतिक व्यवहारबाट दिक्क भएर २७ वर्षअघि अमेरिका गएका थिए। उनी पैसा कमाउभन्दा आफ्ना छोराछोरीको राम्रो शिक्षा दिने उद्धेश्यसाथ अमेरिका गएका थिए।
अहिले उनका सबै परिवार अमेरिका बसोबास गर्दै आएका छन्। यसरीभन्दा उनको अहिले अमेरिकामा व्यवस्थित बसोबास भइसकेको छ। उनी त्यहाँका स्थापित व्यवसायीभित्र पर्छन्। धेरैलाई रोजगारी दिएका छन्। तर, अमेरिकामा जति व्यापार–व्यवसाय गरेर पैसा कमाए पनि उनी पूर्णसन्तुष्ट भने छैनन्। त्यही असन्तुष्टि मेटाउन नेपाल आइरहन्छन्। नेपाल आइरहने माध्यम भनेको उनको जन्मगाउँ मुक्तिनाथकै माया हो। त्यसैले उनले जति कमाएका छन्, त्यसबाट बचेको पैसा मुक्तिनाथ क्षेत्रको विकासकमा लगानी गरेका छन्।
समुदायमा लगानी
लामाले अहिले मुस्ताङमा चारतारे बुटिक होटल सञ्चालनमा ल्याएका छन् भने काठमाडौं ठमेलमा पनि उही प्रकारको होटल सञ्चालनको तयारी छ। आन्तरिक एवं वाह्य पर्यटक लक्ष्य गरी करिब ५० करोडको लागतमा होटल ‘लो मुस्ताङ’ सञ्चालनमा ल्याएका छन्। होटल सञ्चालनमा रहेको जग्गा उनको मात्र होइन, त्यस गाउँको सामूहिक जग्गा पनि हो।
स्थानीयले आठ/नौ वर्षअघि नै उक्त जग्गा बिक्री गर्न लागेको थाहा पाएपछि लामाले नै मनाएर रोकेका थिए। आकर्षक ठाउँमा रहेको जग्गा बेचेर तत्कालीन समस्या टारे पनि दीर्घकालीन रूपमा समस्या हुने भन्दै उनले गाउँका अन्य जग्गा पनि बिक्री गर्न दिएनन्। आफ्नो माटो अरूलाई बेच्नुभन्दा आफैं लगानी गर्नुपर्छ भनेर गाउँका सबैलाई सम्झाई बुझाइ गरेका थिए लामाले। अहिले होटलसँगै सयौंको संख्यामा स्याउका बिरुवा रोपेका छन्।
होटलसँगै स्याउ बगान बनाउने उद्देश्यअनुसार काम अगाडि बढाइरहेका छन्। होटलमा पहिलो चरणमा २५ करोड रुपैयाँ लगानी भइसकेको छ। दोस्रो र तेस्रो चरण गरी ५० करोडभन्दा बढी लगानी गर्ने उनको तयारी छ। होटल र स्याउ बगान लामाले नाफा कमाउनभन्दा पनि त्यहाँ रहेका ६४ घरलाई नै निश्चित वर्षपछि फिर्ता दिने योजना बुनेका छन्। उनले ३०/३५ वर्षपछि त्यही समुदायलाई दिने गरी सहमति गराएका छन्।
सोनाम केही वर्षअघि गाउँ पुग्दा स्थानीयले प्लटिङ गरेर जग्गा बिक्री गर्ने तयारी गरिरहेका बेला रोकेका थिए। आफ्नो गाउँ–ठाउँको जग्गा अरूलाई बेच्नुभन्दा आफैंले आम्दानी आउने स्रोत बनाउनुपर्छ भनेर रोकेको जग्गामा लगानी गरेका हुन्। अहिले लाखमा बेचेर त्यतिकै सक्नुभन्दा उत्पादनमा जोड दिएर अर्बौंको मूल्य बनाउने सोच उनले अघि सारेपछि स्थानीयलाई उक्त जग्गा बेच्न रोकेका थिए।
‘मैले यहाँबाट कुनै फाइदा लिने सोच बनाएको छैन,’ लामा भन्छन्, ‘आफू जन्मेको ठाउँको जग्गा बिक्री गर्नुभन्दा त्यहाँको विकासमा जोड दिनुपर्छ भन्ने उद्देश्य राखेर सयौं रोपनी जग्गा बिक्री हुनबाट रोकेको छु।’ हुन त मुक्तिनाथ आफैंमा पवित्र धार्मिक स्थल हो। विषेशगरी हिन्दु धर्मावलम्बी त्यहाँ पुग्ने गरेका छन्।
तर, मुक्तिनाथमा बौद्ध धर्मावलम्बीका बसोबास धेरै रहेकाले बौद्ध संस्कृति र धर्ममा आस्था राख्नेका लागि पनि आकर्षक गन्तव्य बनाउन लामा आफैंले ६ करोड रुपैयाँ खर्चेर ३५ फिट अग्लो बुद्ध मूर्ति निर्माण गराएका छन्। मूर्ति बनाउन उनले आफ्नो परिवारबाहेक कसैको सहयोग लिएका छैनन्।
मुक्तिनाथसँगै लामाले जोमसोम पनि स्याउ खेती सुरु गरेका छन्। जापानी नागरिक स्वर्गीय कोन्दोले तीन गाउँको जग्गा लिएर करिब ३ देखि ४ सय रोपनी क्षेत्रफलमा स्याउ खेती गरेर छाडेका थिए। अहिले उक्त स्याउ बगानको स्वामित्व पनि लामाले नै लिएका छन्।
जोमसोमका लागी लामाले ५ करोडभन्दा बढी लगानी गरिसकेका छन्। त्यहाँको स्याउ खेती पनि २५ देखि ३० वर्षपछि सोही गाउँलाई हस्तान्तरण गर्ने योजना बनाएका छन्। ‘मैले अहिले जति लगानी गरेको छु, यहाँबाट नाफा लिनेभन्दा पनि रोजगारी बढाएर सामाजिक सेवा अगाडि बढाउन हो,’ उनी भन्छन्।
एनआरएनएका उपाध्यक्षसमेत बने
व्यवसायसँगै सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् लामा। गैरआवासीय नेपाली संघ (एनआरएनए) मार्फत उनले धेरै ठाउँमा सामाजिक काम गर्दै आएका छन्। सन् २००९ देखि भने उनी एनआरएनए अभियानमा लागे। उनको परिवारले व्यवसाय सञ्चालन गर्न थालेपछि उनी उक्त अभियानमा लागेका थिए। एनआरएनएमै हुँदा भूकम्पपीडित धेरैलाई सहयोग गरे।
अहिले एनआरएनएभित्र केहि असन्तुष्टि उत्पन्न भएकाले सामूहिक काम गर्न समस्या भएको उनको भनाइ छ। तर, विगतमा एनआरएनएले नेपालमा धेरै सहयोग गरेको र एकजुट भएर लागेको सम्झिन्छन्। चरम गुटबन्दीका कारण लामा एनआरएनएबाट बाहिरिए।
२०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त गोरखा लाप्राक बस्ती निर्माणमा पनि लामाले अग्रसरता लिएका थिए। एनआरएनहरूले बनाइदिएको बस्तीमा उनी प्रत्यक्ष सहभागी थिए। एनआरएनएमा सक्रिय भएको १३ वर्ष भयो। अहिले भने उनी बिस्तारै एनआरएनएका गतिविधिबाट टाढा हुँदै गएका छन्। पछिल्लो समय एनआरएनएभित्र समस्या देखिएको भन्दै उनी असन्तुष्ट छन्।
एनआरएनएहरूले लगानीका नाममा विभिन्न व्यक्तिसँग संकलन गरेर ल्याउने र प्राथमिक सेयर (आइपिओ) निकालेर नाफा कमाउने प्रवृत्तिप्रति भने उनी खासै सन्तुष्ट देखिँदैनन्। उनको तर्कमा विदेशमा कमाएको केही प्रतिशत व्यक्तिगत लगानी नै नेपालमा ल्याउनुपर्छ।
‘जसरी अस्ट्रेलियामा व्यापार गरेर कमाएको पैसा ल्याएर शेष घलेले पाँचतारे होटल सेराटन निर्माण गरिरहेका छन्,’ लामा भन्छन्, ‘अहिले त विदेशी लगानीको नाममा आइपिओ जारी गरेर नाफा कमाउने नियत धेरैको देखिन्छ।’
आत्मसन्तुष्टिका लागि नेपालमा लगानी
अहिले नेपालमा लामाले जति लगानी विस्तार गरेका छन्, ती सबै नाफा कमाउनभन्दा पनि आत्मसन्तुष्टिका लागि भएको उनको भनाइ छ। ‘मेरा सबै परिवार अमेरिकामा व्यवस्थित बस्ने भइसकेका छन्। म पनि अमेरिकामै बस्ने हो। सायद, मेरो अन्तिम श्वास पनि उतै जान्छ होला,’ भावुक मुद्रामा लामा भन्छन्, ‘जन्मभूमिको माया मार्न नसकेर लगानी गरिरहेको छु।
कम्तीमा रोजगारी वृद्धिसँगै सरकारको नाममा राजस्व त बढ्छ।’
नेपाल आउने बहानाका लागि पनि लगानी गरेको उनी बताउँछन्। उनी वर्षमा एक÷दुईपटक नेपाल आइरहन्छन्। ‘जन्मथलोमा के–के गरियो त भन्ने विषयलाई लिएर लगानी विस्तार गरेको हुँ,’ उनी थप्छन्, ‘मैले जति लगानी विस्तार गरेको छु, त्यो सबै विशुद्ध मेरै कमाइ हो। कोही कसैबाट जम्मा गरेको पैसा होइन।’
१६ वर्ष पुग्नासाथ व्यापारमा लाग्नुपर्ने मुस्ताङको बाध्यता
विकासका हिसाबमा अन्त्यतै पछि परेको क्षेत्र हो मुस्ताङ। भौगोलिक दृष्टिकोणले सरकारले छाडेको ठाउँ हो। त्यो नेपालकै हो या होइन भन्ने पनि थाहा थिएन। तिब्बतको सिमाना भएकाले बढी उतैको चहलपहल हुन्थ्योे। २०१८ सालतिर राजा महेन्द्रले पहिलोपटक मुस्ताङमा स्कुल खोलेका थिए। त्यो स्कुलको पहिलो विद्यार्थी नै लामा थिए।
त्यहाँ कक्षा ४ सम्ममात्र पढाइ हुन्थ्यो। त्यतिमात्र होइन, स्थानीय नियमजस्तै बनेको थियो १५ वर्षसम्म पढ्ने र १६ वर्षको लागेपछि अनिवार्य कमाउन बाहिर जानुपर्ने। लामा पनि १६ वर्षकै उमेरमा भारत आसाममा सुइटर व्यापार गर्न गए। तीन–चार महिना त्यहाँ सुइटर बेचेर अलिकति कमाएको पैसा ल्याएर पोखराबाट बाबुआमाका लागि आवश्यक खाद्यान्न पठाउने गर्थे। ब
र्खायाममा घर बस्ने र हिउँद लाग्ने बित्तिकै बाहिर जाने गर्थे। यसरी हेर्दा जस्तो खालको भए पनि प्रत्येक घरका प्रत्येक व्यक्ति व्यवसायमा आबद्ध हुने गरेका थिए। त्यहाँका स्थानीयले शिक्षाभन्दा व्यापारलाई प्राथमिकता दिन्थे।
अहिले भने परिस्थिति बदलिएको छ। आफ्ना बालबच्चालाई राम्रो शिक्षादिक्षा दिनुपर्छ भन्ने बुझाइ सबैको छ। अहिले त त्यहाँका छोराछोरी राम्रा विद्यालयमा अध्ययन गरेर उच्च शिक्षा हासिल गरिरहेका छन्।
कार्पेट व्यापार ओरालो लागेपछि अमेरिकातिर
आसाममा सुइटर बेच्ने काम गर्दै गर्दा उनी सन् १९९६ तिर काठमाडौं आए र सांग्रिला कार्पेट उद्योग सञ्चालन गरे। त्यो बेला ४÷५ सयलाई प्रत्यक्ष रोजगारी दिए। तर विडम्बना, त्यहीबेला मुलुकमा बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भयो। लगत्तै नेकपा एमालेले सरकार बनाएपछि कार्पेट उद्योगमा संकट आइपरेको उनको अनुभव छ। त्यसबेला उनले जापान, चीन, कोरिया, युरोपेली देशमा समेत कार्पेट निर्यात गर्दै आएका थिए।
एमालेको सरकार बनेपछि कर्मचारीका विभिन्न संघसंगठन स्थापना भए। मजदुरले पनि विभिन्न नाममा आन्दोलन गर्ने, कामै नगरी पैसा माग्ने र अनावश्यक माग राख्न थालेपछि धेरै उद्योग बन्द भए। त्यसको प्रभाव कार्पेटमा पनि पर्यो। त्यसपछि घटेको कार्पेट बजार अहिलेसम्म उठ्न सकेको छैन। त्यो बेला धेरैले कार्पेट उद्योग बन्द गराएर भएका जग्गा बेचे र पलायन भए। त्यसबाट रोजगारीसमेत खुम्चिन पुग्यो भने मुलुकमा आउने राजस्वसमेत गुमेको उनी अनुभव सुनाउँछन्।
१९९७ मा अमेरिकामा कार्पेट बजार विस्तार गर्न जाँदा लामा उतै बसे। ‘अमेरिकामा बस्नुको एउटै कारण भनेको मेरो छोराछोरीलाई राम्रो अध्ययन गराउनकै लागि हो,’ लामाले भने।
२७ वर्षअघि अमेरिका गएका उनले त्यसबेला न्युयोर्क सहरमा सातवटा अर्गानिक मार्ट सञ्चालन गरे। एकसाथ १ सय १५ जनालाई रोजगारी दिएको भन्दै तत्कालीन मेयरबाट २००७ मा सम्मानित भए। यसरी सम्मानित हुने नेपाली सम्भवतः उनी पहिलो हुन्। त्यो बेला अमेरिकामा व्यवसाय गर्ने नेपाली कमै थिए। बिस्तारै टेक्सास हुँदै अन्य ठाउँमा नेपालीको बसोबास बढ्दै गएको हो।
अहिले उनले अमेरिकामा समेत आफ्नो व्यवसाय खुम्च्याएका छन्। सातमध्ये अहिले दुइटामात्र अर्गानिक सुपरमार्केट सञ्चालन गर्दै आएका छन्। लामा भने नेपाल ओहोरदोहोर गरिरहन्छन्। उनका छोरा इन्टरनेट सर्च इन्जिन गुगलमा इन्जिनियर छन् भने दुई छोरी डाक्टर छन्। उनीहरू पनि आफ्नै पेसामा आबद्ध छन्।
छोराछोरी आत्मनिर्भर भइसकेको र आफू पनि व्यवस्थित भएकै कारण अलिअलि कमाएको पैसा नेपालमा सामाजिक काममा लगानी गरिरहेको उनी बताउछन्। ‘मलाई अर्बौं, खर्बौं पैसा कमाउने कुनै मोह छैन, तर मन भने खर्बौंकै बनाउनुपर्छ भन्ने लागिरहन्छ,’ लामा भन्छन्, ‘त्यसैले अहिले अमेरिकामा बिजनेस कम गराएर सामाजिक सेवामा बढी क्रियाशील भएर लागेको छु।’
गाउँका अरू पनि अमेरिका
लामा आफूमात्र अमेरिका गएर व्यवस्थित बनेनन्, आफ्ना गाउँका अन्यलाई पनि सँगै लिएर गए। गाउँका अधिकांश अमेरिका गएका छन्। उनी पहिलोपटक अमेरिका गएपछि मुस्ताङबाट न्युयोर्कमा गएकालाई भेटघाटका लागि बोलाउँदा २७ जनामात्र थिए भने अहिले ४ हजारभन्दा बढी बसोबास गरिरहेको बताउँछन्। मुस्ताङमा १७ हजारहाराहारी छन्। तीमध्ये ४ हजारभन्दा बढी अमेरिकामा छन्।
मुस्ताङमा उत्पादन नहुने भएकाले पनि धेरैजना विदेशिनु परेको उनी बताउँछन्। ‘अहिले भने मुस्ताङको मुहारै फेरिएको छ। जग्गाको भाउ बढेको छ। स्याउले बजार पाउन थालेको छ। आन्तरिक र वाह्य पर्यटकको आकर्षण बढेको छ,’ लामा खुसी हुँदै भन्छन्, ‘अहिलेकै अवस्था थियो भने त्यति धेरै संख्यामा विदेश पलायन हुने अवस्था थिएन। हामी बाध्यताबीच विदेश गएका थियौं। जहाँ भए पनि आफू जन्मे, हुर्केको ठाउँको माया मार्न सकिँदैन रहेछ।’
मुस्ताङमा सडक सञ्जाल पुगेकै १२÷१३ वर्षमात्र भएको छ। विगतमा स्याउ फले पनि बेच्ने ठाउँ नभएर त्यत्तिकै फ्याँक्नुपर्ने बाध्यता थियो। अहिले वार्षिक ४०/५० करोडको स्याउ बिक्री हुँदै आएको छ।
ठमेलको होटलमा २ अर्ब लगानी
ठमेलमा सञ्चालन तयारीमा रहेको चारतारे बुटिक होटलमा लामाले जग्गासहित २ अर्बभन्दा बढी लगानी गरिसकेका छन्। दुई रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा १ सय कोठा छ। ‘लो मुस्ताङ’ नाममा सञ्चालन हुने होटल व्यवस्थापनको जिम्मा नेपालीलाई दिएका छन्। होटलमा नेपाली मौलिकता देखाउने उद्देश्यसाथ मुक्तिनाथ र ठमेलको होटल एकैप्रकारका बनाएका छन्। उनका दुई होटलमा मात्र २ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन्।
लामाका बुबाआमा दुवै जीवित छैनन्। उनका दुई दाजु नेपालमै बस्छन्। एकजना मुक्तिनाथमै छन् भने अर्का दाई काठमाडौंमा बस्दै आएका छन्। लगानी र नाफा कमाउने हिसाबबाट हेर्ने हो भने नेपालमा त्यसखालको वातावरण नै नभएको उनको बुझाइ छ।