काठमाडौं। कुमारी बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ। आइतबार सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप ज.व राणाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो। सभाले नेपाल क्रेडिट एन्ड कमर्स बैंक एक आपसमा गाभ्ने र गाभिने (मर्जर) गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जर सम्बन्धी बाँकी कार्य र आवश्यक प्रक्रिया पूरा गरी नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडसँग मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
साथै, सभाले मर्जर सम्बन्धी समझदारी पत्र (एओयु) संयुक्त मर्जर समिति गठन, दुवै संस्थाको सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न सञ्चालक समितिबाट गरिएको लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय अनुमोदन गरेको छ। दुवै बैंक एक आपसमा गाभिए पछि बन्ने संस्था कुमारी बैंक लिमिटेड रहने छ।
मर्ज पश्चात बैंकको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि हुने भएकोले सोही अनुसार पुँजी वृद्धि गरी वृद्धि भएको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजीअनुसार प्रवन्धपत्रको दफा ५(क), (ख) र (ग) संशोधन गर्ने तथा नियमावलीको नियम ८ मा सञ्चालक संख्या ७ जना हुने गरी र नियम २९ मा सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्था संशोधन गर्ने प्रस्तावसमेत पारीत गरिएको बैंकले जनाएको छ। मर्ज पश्चात बन्ने बैंकको चुक्ता पुँजी २६ अर्ब भन्दा बढी पग्नेछ।
त्यसैगरी शाखा संख्या ३५५, एटीएम संख्या २४४, एक्स्टेन्सन काउन्टर संख्या ५१, निक्षेप (ग्राहक) ३ खर्ब १ अर्ब भन्दा बढी, कर्जा २ खर्ब ७८ अर्ब भन्दा बढी हुनेछ।