काठमाडौं। आइडिया स्टुडियो नेपालले आफ्नो विभिन्न सिजनका आइडियटरहरुको तीन ‘प्रोडक्ट लन्च’ गरेको छ। स्टुडियोले आइतबार एक कार्यक्रमका बीच आफ्ना आइडियटरको तीन प्रोडक्ट लन्च गरेको हो।
कार्यक्रममा आइडिया स्टुडियो सिजन ५ का आइडिएटर डा. भीमप्रसाद काफ्लेको उत्पादन ‘न्यानो प्याड,' कलेज आइडिया हन्ट २०२२ का विजेता प्रशन्ना स्याउला र प्रज्वल जोशीको उत्पादन ‘वी फर नेचर’, कलेज आइडिया हन्ट २०२२ का विजेता अनिस गिरी, नारायण थापा मगर, देवीकुमारी गिरी र यामनाथ गिरीको उत्पादन ‘बायो ग्रिन्स’ को प्रोडक्टको लन्च गरेको हो।
डा. भीमप्रसाद काफ्लेको न्यानो प्याड जुनसुकै बेला र जहाँसुकै प्रयोग गर्न मिल्ने सामग्री हो। न्यानो प्याडलाई एकपटक उमालेको पानीले रिचार्ज गरिसकेपछि प्रयोगकर्ताले यसको सुविधा लिन सक्नेछन्। न्यानो प्याड सक्रिय भएपछि ३० मिनेटक लागि न्यानो रहन्छ। यो जाडोको समयमा घरपरिवारका लागि साथै बिरामीका लागि तत्काल तातो उपचार उपलब्ध गराउँनका लागि धेरै महत्वपूण भएको जनाइएको छ।
अनिस गिरी, नारायण थापा मगर, देवीकुमारी गिरी र यामनाथ गिरीको बायो ग्रिन्सको उत्पादन (माइक्रो ग्रीन) एक आकर्षक उत्पादन हाे। सामान्यतया तरकारी र जडीबुटी बढ्न हप्तौं वा महिनौं लाग्छ तर बायो ग्रिन्सको उत्पादन (माइक्रो ग्रीन) एक हप्तादेखि १० दिनभित्र काट्न र खान सकिन्छ।
माइक्रोग्रीनमा सामान्य तरीकाले उत्पादन भएका तरकारी र जडीबुटीको तुलनामा ४० देखि ४५ गुणा बढी एन्टिअक्सिडेन्ट, पोलिफेनोल र आठ गुणा बढी सूक्ष्म पोषक तत्व हुन्छ। माइक्रो ग्रिन्स उपभोग गरिएको आधारमा धेरै फाइदाजनक छ। केही क्यान्सरको जोखिम कम गर्न, कोलेस्ट्रोल कम गर्न, हृदय रोगविरूद्ध लड्न, एन्टिएजिङ आदिमा यसले मद्दत गर्छ।
प्रशन्ना स्याउला र प्रज्वल जोशीको ‘वी फर नेचरले’ हाम्रो दैनिक जीवनमा प्रयोग गरिएका र फोहाेरको रूपमा गनिएका कपडालाई दैनिक उपयोगिताका उत्पादन जस्तै चप्पल, टोट ब्याग, ह्यान्ड क्यारी, कुसन कभर, बेड सिट आदिमा अपसाइकल गरेर नयाँ सामग्री बनाउने काम गर्छ। वी फर नेचरको मुख्य उद्देश्य पर्यावरण मैत्री दिगो उत्पादन प्रवर्द्धन गर्नु हो।
आइडिया स्टुडियो नेपालले आफ्नो विभिन्न कार्यक्रममार्फत देशको ७ प्रदेशमा विभिन्न व्यवसायिक सोच भएका व्यक्तिको व्यापक सहभागिता जुटाउँदै आएको छ। आइडिया स्टुडियो नेपालले नेपाली उत्पादन प्रवर्द्धन गर्ने, सामाजिक रूपान्तरणमा योगदान पुर्याउने, प्रविधि सम्वद्ध तथा हरियाली र पर्यावरण प्रवर्द्धन गर्ने जस्ता सबै क्षेत्रका व्यवसायिक आइडियाले विशेष प्राथमिकता दिने गर्छ।
हाल आइडिया स्टुडियोका सिजन ६ सकिएर आइडिया सातको लागि आवेदन खुला गरिएकाे छ। आइडिया स्टुडियो नेपालमा प्राप्त भएको आइडियामध्ये सिजन ७ मा ४० व्यवसायलाई इन्क्युबेसनको लागि छनौट गर्ने जनाइएको छ। छनौट भएका व्यवसायलाई विशेष प्राथमिकता दिँदै उत्कृष्ट बनाउन सर–सल्लाह, तालिम, व्यवसायिक सञ्जाल, इन्क्युबेसन कार्यक्रम, मेन्टरशिपका साथै वित्तीय पहुँचका लागी सहजिकरण बनाउने कार्य गर्छ।