काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः श्रमिकसँग श्रममन्त्री कार्यक्रम सुरू गरेको छ। हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावका कारण स्थगित गरिएको कार्यक्रम आइतबारदेखि पुनः सुरू गरिएको हो।
आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा सञ्चालन भएको 'श्रमिकसँग श्रममन्त्री' कार्यक्रममा श्रममन्त्री शेरबहादुर कुँवरलाई देश विदेशबाट श्रमिकहरूले फोनमार्फत प्रत्यक्ष आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन्।
कार्यक्रममा मन्त्री कुँवरसँग प्रत्यक्ष फोनमार्फत कुरा गर्दै देश विदेशबाट १० जना श्रमिकले आफ्ना गुनासा, समस्या र सुझाव राखेका थिए। मन्त्रीसँग श्रमिकहरूले वैदेशिक रोजगारीमा ठगिएका सबैभन्दा बढी गुनासा र समस्या राखेका छन्।
मन्त्री कुँवरसँग श्रमिकले सम्झौताअनुसार विदेशमा आफूले तलब सुविधा नपाइएका, विदेश पठाउँछु भनेर ७ लाख ५० हजारसम्म पैसा लिएको गुनासा सुनाएका थिए।
फोनमार्फत मन्त्री कुँवरलाई दुवई, मलेसिया, साउदीलगायतका देशमा रोजगारीका लागि जाँदा ठगिएको गुनासा बढी आएका छन्। एकजनाले श्रमिकले सुर्खेतबाट फोन गर्दै आफूलाई क्यानडा पठाइदिने भन्दै करिब ६ लाख ठगेको गुनासो मन्त्री कुँवरलाई सुनाएका थिए।
दश जना श्रमिकका गुनासा र समस्या सुनेपछि जवाफमा मन्त्री कुँवरले वैदेशिक रोजगारीका लागि विदेश जानुपुर्व जान लागेको देश, आफूले गर्ने काम, पाउने सेवा सुविधा, पठाउने म्यानपावर वा व्यक्तिबारे राम्ररी बुझ्ने, जानकारी लिने अनि कसैलाई पैसा तिरेको भए त्यसको प्रमाण राख्नेलगायतका कुरामा ध्यानु दिनुपर्नेमा जोड दिए।
साथै मन्त्री कुँवरले श्रमिकका तत्काल समाधान हुने गुनासा र समस्याबारे सम्बन्धित निकायबाट समाधान खोजिने आश्वासन दिएका छन्।कार्यक्रममा मन्त्री कुँवरले श्रमिकका समस्या र सवालबारे तत्कालै बुझेर समाधानका लागि वैदेशिक रोजगार विभाग र बोर्डका सम्बन्धित व्यक्तिलाई अनुरोध गरेका छन्।