काठमाडौं। निजी क्षेत्रका दुई ठूला र प्रमुख वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सबाट यात्रा नगर्ने र यिनका नाम नसुन्ने सायद कमै होलान्। अधिकांश हवाई यात्रुको रोजाइमा यिनै दुई वायुसेवा पर्ने गर्छन्। दुवै वायुसेवाको स्थापना पनि लगभग सँगसँगै भएको हो। दुवैको कथा-व्यथा उस्ताउस्तै छ। बुद्धले स्थापनाको २५ वर्ष पूरा गरेर २६ वर्ष टेकेको छ भने सहधर्मी यती २४ वर्ष पूरा गरी २५ वर्षमा लागेको छ।
सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमबाहेक नेपालमा निरन्तर लामो समयदेखि व्यावसायिक उडान गरिरहने वायुसेवा कम्पनीमध्ये सम्भवतः बुद्ध र यतीमात्रै हुन्। यी दुई वायुसेवा मुलुकको आन्तरिक उडानतर्फका सबैभन्दा ठूला कम्पनी हुन्। मुलुकको उड्डयन इतिहास हेर्ने हो भने धेरै वायुसेवा केही समय चल्ने अनि सदाका लागि बन्द हुने गरेका पाइन्छ। तर, बुद्ध र यती यसमा अपवाद बनेका छन्। साढे दुई दशकदेखि निरन्तर उड्डयन बजारमा टिक्दै यात्रु र देश सेवामात्र नभई अर्थतन्त्रमा पनि योगदान दिँदै दुवै कम्पनी उड्डयनमा नयाँ उचाइ छुन लम्किरहेका छन्।
दुवै वायुसेवा अहिलेको अवस्थासम्म आइपुग्नुका मुख्य कारण सञ्चालक र व्यवस्थापकको लगनशिलता, मिहिनेत र दृढसंकल्प नै हो। साढे दुई दशकदेखि अविचलित उडान गरिरहेको बुद्ध एयर स्थापनाको कथा निकै रोचक छ।
बुद्धका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेत हवाई यात्रा गरी विराटनगरबाट काठमाडौं आउन नेपाल वायुसेवा निगमको जहाजको टिकट लिन हप्तौं कुर्थे। त्यतिले मात्र नपुगेर निगम कर्मचारीका ‘चाकडी’ गर्नुपर्ने बाध्यता बाँकी नै थियो। सरकारी वायुसेवाबाट दिक्क भएका बस्नेतले आमनेपालीलाई सरल र सहज उडानबाट गन्तव्य पुर्याउन अनि निगमको एकाधिकार अन्त्य गर्न आफूसँग भएको सबै जायजेथा जमानी राखेर वायुसेवा कम्पनी सञ्चालन गर्ने निर्णयमा पुगे। उनले त्यसबेला ‘ठूलै जुवा’ खेलेका थिए।
त्यसबेला उनी आफूले मात्र नभई, हवाई यातायात पहुँच सर्वसाधारणसम्म पुर्याउन ठूलो जोखिम मोलेर लगानी गरेका थिए। हो, उनको त्यही जोखिम अहिले २५ वर्षे लक्का जवान भएको छ। पैसा तिरेर पनि हवाई टिकट पाउन नेपाल वायुसेवा निगम कर्मचारीका घरघर गएर गर्नुपर्ने चाकडी अन्त्यकै लागि सुरु भएको बुद्ध एयर अहिले नेपालमा निजी क्षेत्रकै सबैभन्दा ठूलो आन्तरिक वायुसेवामा दरिएको छ।
सन् १९९७ अक्टोबर ११ (असोज २५) मा १८ सिट क्षमायुक्त एकथान ‘बिचक्राफ्ट १९००’ जहाज र ३० कर्मचारीबाट सुरु भएको बुद्धसँग आजको दिनमा आइपुग्दा ७२ सिट क्षमताका ‘एटिआर७२-५००’ सिरिजका ११ थान, ४७ सिट क्षमतायुक्त ‘एटिआर४२-३२०’ सिरिजका तीनथान र १८ सिटयुक्त ‘बिचक्राफ्ट १९००डी’ सिरिजका दुईथान गरी १६ जहाज सञ्चालनमा छन्।
त्यतिमात्र नभई बुद्धले १ हजार ५ सय कर्मचारीको एउटा ठूलो परिवार बनाएको छ। बुद्धसँग जहाज उडाउन डेढ सयहाराहारी पाइलटमात्र छन्। कम्पनीले तत्कालै पाँचथान जहाज थप्ने योजना पनि बनाएको छ। साढे दुई दशकअघि ९ करोड रुपैयाँ ऋण लगानीमा सुरु भएको बुद्धको पुँजी अहिले ७ अर्बबराबर पुगिसकेको छ।
बुद्धका संस्थापक अध्यक्ष बस्नेतकै जस्तो कथा यती एयरलाइन्सका संस्थापकद्वय सोनाम शेर्पा र स्वर्गीय आङछिरिङ शेर्पा परिवारको पनि उस्तै छ। दशकौंदेखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशील शेर्पा दाजुभाइलाई सोलुखुम्बुको प्रख्यात पर्यटन गन्तव्य लुक्लामा विदेशी पर्यटक लैजान हवाई टिकट पाउनै हम्मे पर्थ्याे।
चाहेका बेला टिकट नपाइने, हप्तौंसम्म कुर्नुपर्ने, धायेको धायै गर्नुपर्ने र वायुसेवा निगम कर्मचारीका चाकडी नगरेसम्म उडानै नहुने स्थिति चिर्न शेर्पा दाजुभाइले २४ वर्षअघि आफैं वायुसेवा कम्पनी खोले– यती एयरलाइन्स। विदेशी एवं स्वदेशी पर्यटकसहित सोलुखुम्बुका स्थानीयलाई समेत सहज हवाई सेवा उपलब्ध गराउने उद्देश्यसाथ सन् १९९८ सेप्टेम्बर २१ मा पहिलो उडान गरेर यतीको यात्रा सुरु भएको थियो।
सामान्य परिवारबाट व्यवसाय सुरु गरेर स्थापित वायुसेवा कम्पनीका रूपमा क्रियाशील यतीले १९ सिट क्षमतायुक्त दुईथान ‘डिएचसी ६’ ट्विनटर जहाजमार्फत उडान सुरु गरेको थियो। आजका दिनमा आइपुग्दा यतीसँग ७२ सिट क्षमतायुक्त ‘एटिआर७२-५००’ सिरिजका ६ थान जहाज सञ्चालनमा छन् अझै केहीथान एटिआर जहाज थप्ने योजना यतीको छ।
यतीले भगिनी वायुसेवाका रूपमा तारा एयरको पनि सञ्चालन गरिरहेको छ। ताराले दुर्गम भेगका अधिकांश विमानस्थलमा उडान गरिरहेको छ। यतीले भने सुगम भेगमा मात्र उडान गर्दै आएको छ। यतीमा हाल ७ सयभन्दा बढी कर्मचारी काम गरिरहेका छन्।
आत्मीय प्रतिस्पर्धी
बुद्ध र यती दुवै सुगम भेगका विमानस्थल (ट्रंक रुट) मा उडान गर्ने वायुसेवा हुन्। व्यावसायिकरूपमा प्रतिस्पर्धा भए पनि व्यक्तिगतरूपमा भने बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत र यतीका अध्यक्ष ल्हाक्पासोनाम शेर्पाको सम्बन्ध सुमधुर छ। विगतमा यतीका प्रबन्ध निर्देशक स्वर्गीय आङछिरिङ शेर्पासँगको सम्बन्ध असाध्यै आत्मिय रहेको अनुभव सुनाउँछन् बस्नेत।
‘व्यावसायिकरूपमा प्रतिस्पर्धा भए पनि आङछिरिङ भाइसँगको आत्मियता कहिल्यै टाढा भएन,’ बुद्धका प्रबन्ध निर्देशक बस्नेत भन्छन्, ‘सोनाम दाइसँग पनि मेरो सम्बन्ध असाध्यै सुमधुर छ। अझ आङछिरिङ भाइलाई म आङ भाइ भनेर सम्बोधन गर्थें, उनले वीरेन्द्र दाइ नै भनेर बोलाउने गर्थे। हामी घनिष्ठ थियौं।’
समस्या परेका बेला एकले अर्कालाई सहयोग आदान-प्रदान गर्ने र केही समस्या पर्दा तत्कालै समाधान गर्ने गरेको बस्नेत सम्झिन्छन्।
‘आत्मिय सम्बन्धकै कारण हामीबीच कुनै पनि विषयमा नाइँ भन्ने शब्द निस्किन्थेन। व्यावसायिक प्रतिस्पर्धा आफ्नो ठाउँमा रहे पनि आङ भाइजस्तो ‘जेनुइन’ र क्षमतावान मान्छे मैले अहिलेसम्म देखेको र भेटेको छैन,’ बस्नेत भन्छन्, ‘तर, सोनाम दाइसँग भने आङ भाइसँग जस्तो सम्बन्ध छैन। चिनजान छ, म दाइ भन्छु तर त्यति भेटघाट हुँदैन। व्यावसायिक प्रतिस्पर्धा त भई नै हाल्थ्यो तर हामीबीच सम्बन्धमा व्यावसायिक प्रतिस्पर्धासँग जोडेर पहिला पनि हेरिएन र पछि पनि हेरिँदैन।’
स्वर्गीय आङछिरिङका जेठा छोरा तथा यती एयरलाइन्सका नायब प्रबन्ध निर्देशक नोर्बुछिरिङ पनि बुद्ध एयरसँग सधैं सौहार्द्रपूर्ण सम्बन्ध रहँदै आएको बताउँछन्। ‘एउटै प्रकृतिको व्यवसाय भएका कारण प्रतिस्पर्धा हुनु स्वाभाविक हो,’ उनी भन्छन्, ‘वीरेन्द्र बस्नेतलाई म अंकल भनेर सम्बोधन गर्छु, उहाँले पनि मलाई माया गर्नुहुन्छ। हामीबीच आत्मिय सम्बन्ध छ।’
‘इक्रा’ मा कसको रेटिङ कति?
बुद्ध
रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको तथ्यांकअनुसार बुद्धदले नौ महिना (सन् २०२२ जनवरीदेखि सेप्टेम्बर) सम्ममा ७ अर्ब ६९ करोड ३० लाख रुपैयाँबराबर कारोबार गरेको छ।
२०२२ मा बुद्धको मासिक आम्दानी ऐतिहासिक रूपमा उच्च रहेको छ। प्रतिमहिना बुद्धले ८५ करोड ५० लाख रुपैयाँबराबर कारोबार गरेको छ। २०१९ मा मासिक आम्दानी बढेर ५६ करोड ७० लाख रुपैयाँ पुगेको थियो।
आन्तरिक उड्डयन बजारमा बुद्धको हिस्सा ५६ प्रतिशत छ। त्यसबाहेक शिखर इन्स्योरेन्स कम्पनीमा बुद्धको ६ प्रतिशत स्वामित्व छ। कम्पनीले १ करोड ८० लाख अमेरिकी डलर ऋणको रेटिङ गराएको छ। बुद्धले मोरङमा नेपाल कृषि कम्पनीमार्फत हजारौं बिघा क्षेत्रफलमा धानखेती गर्दै आएको छ भने सहायक कम्पनी बुद्ध होलिडेजमार्फत भ्रमण प्याकेज बिक्री गरिरहेको छ।
बुद्धले विराटनगर, भद्रपुर, भरतपुर, पोखरा, भैरहवा, नेपालगन्ज, धनगढी, सिमरा, तुम्लिङटार, सुर्खेतसहित पर्वतीय उडान (माउन्टेन फ्लाइट) गर्दै आएको छ। अन्तरसहर उडानमा पनि बुद्धको पकड बलियो छ। उसले अन्तर्राष्ट्रियतर्फ भारत बनारस उडान पनि गर्दै आएको छ।
स्थापनाको २५ वर्षमा बुद्धले २ लाख ६४ हजार ९ सय १८ उडानबाट १ करोड ८० लाखभन्दा बढी यात्रुलाई गन्तव्य पुर्याइसकेको छ।
बुद्धसँग हाल ७२ सिट क्षमतायुक्त ‘एटिआर७२-५००’ सिरिजका ११ थान, ४७ सिट क्षमताका ‘एटिआर४२-३२०’ सिरिजका तीन थान र १८ सिटे दुईथान ‘बिचक्राफ्ट १९००डी’ सिरिजका जहाज सञ्चालनमा छन्।
यती
यती एयरलाइन्सले गत नौ महिनामा २ अर्ब ७४ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। सन् २०२१ मा यतीको सञ्चालन आम्दानी १ अर्ब ३९ करोड ६० लाख रुपैयाँमात्र थियो। २०२१ को दाँजोमा २०२२ को नौ महिनामा यतीको व्यापार साढे ९६ प्रतिशतले बढेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ।
२०२१ को दाँजोमा २०२२ को नौ महिनामा १ अर्ब ३४ करोड ७० लाख रुपैयाँले व्यापार बढेको छ। उक्त अवधिमा भएको आम्दानी सुधारले नाफा २३ प्रतिशतले बढेको छ। यतीको आन्तरिक बजार हिस्सा २५ प्रतिशत छ। यती नेपालको आन्तरिक वायुसेवा व्यवसायमा दोस्रो ठूलो कम्पनी हो। यतीले ३ करोड ८३ लाख ३० हजार डलर ऋणको रेटिङ गराएको छ।
यती थामसेर्कु ग्रुपको सहायक कम्पनी हो। ग्रुप लामो समयदेखि पर्यटन र वायुसेवा व्यवसायमा आबद्ध रहँदै आएको छ। ग्रुपको छातामुनि यती एयरलाइन्स र तारा एयर गरी दुई वायुसेवा कम्पनी सञ्चालनमा छन्। यस्तै ग्रुपले देशभरि दर्जनौं होटल तथा लज, ट्रेकिङ कम्पनी चलाइरहेको छ भने पछिल्लो समय जलविद्युतमा पनि लगानी विस्तार गरेको छ।
यतीले हाल भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज, धनगढीलगायत गन्तव्य र माउन्टेन फ्लाइट गर्दै आएको छ। यतीले अन्तर्राष्ट्रिय उडानमा चार्टर अनुमति भने लिइसकेको छ।
यतीले २०२१ मा १५ हजार ९ सय २५ उडानबाट १० लाख ५ हजार ६ सय ७७ यात्रुलाई गन्तव्य पुर्याएको थियो।
यतीसँग हाल ७२ सिट क्षमतायुक्त ‘एटिआर७२-५००’ सिरिजका ६ थान र उसको भगिनी वायुसेवा तारा एयरसँग १९ सिट क्षमताका ‘डिएचसी ६ ट्विनअटर’ तीनथान सञ्चालनमा छन्।
वायुसेवा कम्पनी चलाउन कति पैसा लाग्छ?
वायुसेवा कम्पनी चलाउन सुरुमा ५० करोड रुपैयाँ धरौटी चाहिन्छ। त्यति धरौटी बैंकमा राखेपछि मात्र सञ्चालन अनुमति पाइन्छ। दुई जहाज सञ्चालन गर्न २ देखि ३ अर्ब रुपैयाँ भए पुग्छ। यो जहाज सञ्चालनका लागि मात्र हो, तर पछि अपरेसन खर्च छुट्टै चाहिन्छ।