काठमाडौं। दुई वाणिज्य बैंकले नेपाल राष्ट्र बैंकको नियम उल्लंघन गरेका छन्। नबिल बैंक र ग्लोबल आइएमई बैंकले कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ९० माथि पुर्याएर राष्ट्र बैंकको नियम उल्लंघन गरेका हुन्।
अन्य २४ वाणिज्य बैंकको सिडी रेसियो सीमाअनुसार नै छ। चालू आर्थिक वर्ष असोज मसान्तसम्मा ग्लोबल आइएमई बैंकको सिडी रेसियो ९०.५८ पुगेको छ। त्यसैगरी नबिल बैंकको सिडी रेसियो ९०.४० पुगेको हो।
यस अवधिमा सबैभन्दा कम सिडी रेसियो नेपाल एसबिआई बैंकको ८३.२५ रहेको छ। चालु आर्थिक वर्ष साउन मसान्तमा तीन बैंकको सिडी रेसियो ९० माथि पुगेको थियो। साउन मसान्तमा सेन्चुरी कमर्सियल बैंकको सिडी रेसियो ९१.६३ प्रतिशत, नबिल बैंकको ९०.९२ प्रतिशत र नेपाल बैंकको ९०.७२ प्रतिशत पुगेको थियो।
साउनको तुलनामा असोजमा सेन्चुरी र नेपाल बैंकले सिडी रेसियो सीमामा ल्याउन सफल भएका छन्। त्यसैगरी नबिलको सिडी रेसियो भने ९० माथि नै छ।
चालू आथिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामा बैंक तथा वित्तीय संस्थाको सिडी ९० नाघेको अवस्थामा तरलता सम्पत्ति अनुपात पुर्याउने बैंकलाई ‘पेनाल्टी’ नगर्ने उल्लेख छ।
तरल सम्पत्ति अनुपात नपुर्याउने र सिडी रेसियो ९० माथि हुने बैंकलाई पेनाल्टी लगाउने नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए।
असोज मसान्तसम्ममा नबिल र ग्लोबल आइएमईले तरलता सम्पत्ति अनुपात पुर्याउन सकेका छैनन्। मौद्रिक नीतिमा चालू आर्थिक वर्ष पुस मसान्तसम्म मर्जमा गई एकीकृत कारोबार गर्ने बैंकलाई सीमा नाघे थप एक वर्ष छुट पाउने उल्लेख छ। तसर्थ, नेपाल बंगलादेश बैंकलाई एक्वायर गरेको नबिलले यो वर्ष सिडी रेसियो ९० माथि हुँदा छुट पाउने देखिन्छ।
त्यसैगरी ग्लोबल आइएमई र बैंक अफ काठमाडौंबीच मर्जको अन्तिम तयारी भइरहेको छ। यी दुई बैंक मर्ज भई पुसभित्र एकीकृत कारोबार सञ्चालन गरे राष्ट्र बैंकको कारबाही भोग्नुपर्ने छैन।