काठमाडौं । नेपाल र भारतबीच इनर्जी बैंकिङका बारेमा समेत सहमति भएको छ । भारतले अन्तरदेशीय विद्युत् व्यापार तथा आदानप्रदानका लागि स्पष्ट नीतिगत तथा कानूनी प्रबन्ध गर्ने विश्वास दिलाएको छ ।
“इनर्जी बैंकिङको सन्दर्भमा हामीले राखेको प्रस्तावलाई भारतीय पक्षले सकारात्मक रूपमा लिँदै सबै नीतिगत एवं व्याववहारिक विषयमा स्पष्ट गर्ने प्रतिवद्धता जनाएको छ”, सचिव दिनेशकुमार घिमिरेले भने।
नेपाल विद्युत् प्राधिकरणले गत साउनको अन्तिम सातादेखि एकसाता २५० मेगावाट विद्युत् भारत निर्यात गरेर इनर्जी बैंकिङको अभ्यास गरेको थियो । यस्तै, रक्सौल–गोरखपुर प्रसारण लाइनमार्फत प्राधिकरणले ४५ मेगावाट विद्युत् विहारमा निर्यात गरिरहेको छ । भारतले इनर्जी बैंकिङका विषयमा नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता यसअघि नै जनाइसकेको छ ।
चालू आवको अन्तिमसम्ममा माथिल्लो तामाकोसी ४५६ मेगावाट, रसुवागढीलगायत सरकारी लगानीका र निजी क्षेत्रले निर्माण गरेका विभिन्न आयोजनाबाट १ हजार ३०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएकाले आन्तरिक खपतसँगै भारत निर्यात गर्नुपर्ने बाध्यता रहेको छ ।
बैठकमा सो विषयलाई नेपालले प्राथमिकताका साथ उठाएको र सहमतिसमेत भएको छ । प्राधिकरणले वर्षायाममा बढी भएको विद्युत् भारत पठाउने र हिँउदको समयमा आयात गर्ने लक्ष्य राखेको छ ।
गत माघमा सम्पन्न भएको पोखरा बैठकले दुई देशबीच इनर्जी बैंकिङमा सैद्धान्तिक सहमति जनाएको थियो । बैठकले प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले तयार पारेको इनर्जी बैंकिङसम्बन्धी प्रस्तावलाई स्वीकार गरेको थियो । भारतीय पक्षले सो व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानूनी प्रबन्ध गर्ने विश्वास दिलाएको थियो ।
दुई प्रसारण लाइनको क्षमता वृद्धि हुने
बैठकमा नेपालले राखेको रक्सौल–परवानीपुर र कुशाहा–कटैया अन्तरदेशीय १३२ केभी प्रसारण लाइनको क्षमता वृद्धिका विषयमा समेत सहमति भएको छ । ती प्रसारणलाइनको ‘सिङ्गल सर्किट’ यसअघि नै सञ्चालनमा आइसकेको छ । त्यसमा अर्को सर्किट थपेर डबल सर्किट बनाउने नेपालको तयारी छ ।
रक्सौल–परवानीपुर प्रसारण लाइनको नेपालतर्फको काम प्राधिकरणले गर्नेछ भने भारततर्फको लाइन अभिवृद्धिका लागि भारतले सहयोग उपलब्ध गराउने सहमति भएको छ । “भारतीय पक्ष आफ्नो भूमितर्फ प्रसारण लाइनको क्षमता वृद्धिका लागि अनुदान उपलब्ध गराउन सैद्धान्तिकरूपमा सहमत भएको छ”, सचिव घिमिरेले भने ।
यस्तै कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइनको क्षमता विस्तारका विषयमा समेत सहमति भएको छ । हाल ती प्रसारणलाइनबाट नेपालले आवश्यकताका आधारमा विद्युत् आयात गरिरहेको छ ।
यस्तै नेपालगञ्ज र भैरहवा जोडिएका प्रसारण लाइनको क्षमता वृद्धि तथा विस्तारका विषयमा समेत सहमति भएको छ । सचिवस्तरीय बैठकमा विगतदेखि नै नेपालले उठाउँदै आएका सहमति भएको भन्दै सचिव घिमिरेले भने, “बैठक महत्वपूर्ण रह्यो र रणनीतिक महत्वका विषयमा सहमति भएका छन् ।”