पुस्तैनी व्यापारमा नयाँ पुस्ता ‘इन्ट्री’ गराउनु सामान्य हो। अपवादबाहेक अधिकांश पारिवारिक व्यापारमा छोराछोरी अर्थात दोस्रो र तेस्रो पुस्तामा जिम्मेवारी हस्तान्तरण हुने गरेको पाइन्छ।
विदेशमा उच्च शिक्षा अध्ययन सकेर नेपाल फर्किई त्यहाँ गरेको अध्ययनलाई व्यावहारिकरूमा कार्यान्वयन गर्ने युवापुस्ता धेरै छन्। तिनैमध्ये एक हुन– सूर्यान्श बैद्य। अमेरिका बोस्टनस्थित बेन्टली युनिभर्सिटीबाट बिजनेस म्यानेजमेन्ट पढाइ सकेर फर्किएपछि बाबुआमाले सम्हाल्दै आएको व्यापारलाई सूर्यान्श नयाँरूप दिँदैछन्।
बढ्दो प्रविधि प्रयोग गर्दै बजारीकरणमा नयाँरूप दिने उद्देश्यसाथ एक वर्षदेखि उनी अर्गनाइजेनसको अटोमोबाइल सेल्स कम्पनी युनाइटेड ट्रे«डिङ सिन्डिकेट (युटिएस) को व्यवसाय सम्हालिरहेका छन। उनी अहिले युटिएसमा ‘बिजनेस रिसर्च एनालिस्ट’ का रूपमा आबद्ध छन्।
अमेरिका रहँदा पनि उनले त्यहाँका ठुल्ठूला व्यापारिक कम्पनीका व्यापार रणनीति र बजारीकरण शैली नजिकबाट नियालेका थिए। अहिले त्यहाँको अध्ययन र अनुभव सँगाल्दै युटिएसलाई नयाँरूपमा स्थापित गर्न लागिरहेका छन्।
अमेरिकी शिक्षा र अनुभवलाई स्वदेशमा व्यवहारमा उतार्न उनी स्थलगत सिकाइमै व्यस्त छन्। उमेरले भर्खर २४ टेकेका सूर्यान्श पुस्तैनी व्यापारलाई नयाँ धारमा कसरी लैजाने र बुबा, हजुरबुबाले स्थापित गरेको वर्चश्व कायम गर्दै प्रतिस्पर्धी बजारमा पहिलो नम्बर बन्ने योजना बुनिरहेका छन्।
हुन त युटिएस नेपालको एक प्रतिष्ठत व्यावसायिक घराना हो। जापानी गाडी निर्माता ‘टोयाटा’ को नेपालस्थित आधिकारिक विक्रेता युटिएसले अटो क्षेत्रमा ‘एक छत्र राज’ गर्दै आएको छ।
हजुरबुबा (विजयगजानन्द बैद्य), बुबा (सुरज बैद्य) र आमा (रितुसिंह बैद्य) लाई प्रेरणा स्रोत मान्ने सूर्यान्शले बेन्टलीमा अध्ययन गर्दा अमेरिका बस्दा विभिन्न व्यवसाय र नवीन सोचको ‘एक्सपोजर’ पाएको बताए।
हजुरबुबा र बुबा–आमाबाहेक उनले आइडलका रूपमा सूचना प्रविधि (आइटी) उद्यमी रुद्रराज पाण्डेलाई लिने गरेका छन्। नेपालमै बसेर पनि लगानीका लागि अथक सम्भावना देख्ने पाण्डेको सोचलाई आत्मसात गर्दै उनले पनि पुस्तैनी व्यापारमा नयाँ ‘प्रडक्ट’ थप्ने योजना बनाएका छन्।
अहिले उनका बुबा सुरजले चिनियाँ लगानीकर्तासँगको सहकार्यमा ह्वासिन सिमेन्टको लिड गर्दै आएका छन्। बिस्तारै सूर्यान्शले पनि टोयाटासँगै सिमेन्ट उद्योगको पनि बजारीकरण सम्हाल्ने योजना बनाएका छन्। बुबाले गरेको काममा प्रत्यक्ष सहयोग गर्ने उद्देश्यसाथ उनले केही समयदेखि त्यस क्षेत्रमा पनि आफ्नो समय खर्चिंदै आएका छन्।
कृषि र नवीकरणीय ऊर्जामा देखेको सम्भावना
अटोमोबाइल, होटल तथा रिसोर्ट क्षेत्रमा लगानी विस्तार गर्दै आएका बेला सूर्यान्श भने कृषि र नवीकरणीय ऊर्जा क्षेत्रमा भविष्य देखिरहेका छन्। अर्थात, उनले कृषिमा लगानी गर्ने योजना बनाइरहेका छन्। कृषिमा नयाँ प्रविधि भित्र्याएर मुलुकलाई आत्मनिर्भर बनाउने योजना उनको छ।
मुलुक हरेक कुरामा विदेशमा निर्भर भए पनि खाद्यवस्तुजस्तो अत्यावश्क चिजका लागि आत्मनिर्भर हुनुपर्ने उनी मान्छन। यसैकारण आफूलाई देशमा कृषि र खाद्य सुरक्षा क्षेत्रमा समेत रुची बढ्न थालेको उनी बताउँछन्।
खाद्य सुरक्षा र कृषि क्षेत्रको दिगो विकास कसरी गर्न सकिन्छ भन्नेमा उनको रुची छ। अब नीति निर्माणकर्तासँग बसेर साना किसानलाई सहयोग गर्ने, प्रशिक्षण, प्रविधि हस्तान्तरणसँगै बजारीकरण गर्ने योजना रहेको बताउँछन्।
‘बेन्टलीमा बिजनेस म्यानेजमेन्ट पढे पनि त्यहाँको पाठ्यक्रमले व्यापार, इतिहास, वातावरण, मनोविज्ञान हरेक कुरा समेटेको हुन्थ्यो,’ सूर्यान्श भन्छन्, ‘अमेरिकामा रहँदै नवीकरणीय ऊर्जामा चासो राख्दै आएको थिएँ।’ तेललाई ‘ब्ल्याक गोल्ड’ भने जस्तै नेपालको जलस्रोतलाई ‘ब्लु गोल्ड’ मान्नुपर्ने उनको तर्क छ।
उनले नवीकरणीय ऊर्जा सम्भाव्यताको पनि अध्ययन गरिरहेका छन्। कम्पनी नै खडा गरी लगानी विस्तार गरिहाल्ने योजना तत्कालै बनाइहालेका भने छैनन्। ‘भविष्यमा लगानी विस्तार गर्ने क्रममा पहिलो प्राथमिकता नवीकरणीय ऊर्जामै रहने छ,’ उनी भन्छन्।